अपाङ्ग सशक्तीकरणको साधारणसभा

सुर्खेत, ९ माघ । (साबिस)
अपाङ्ग सशक्तीकरण केन्द्र सुर्खेतको ११ औं वार्षिक साधारणसभा तथा अपाङ्गता भएका व्यक्तिहरूको स्वरोजगारका लागि सरोकारवाला निकायको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका सचिव किमसरा खत्रीले तयार पारेको प्रगति प्रतिवेदन टेकनारायण चालिसेले प्रस्तुत गरेका थिए । संस्थाको यो वर्षमा ३१ लाख ३२ हजार सात सय १५ रूपैयाँको कारोबार भएको छ ।
कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका प्रमुख महिला अधिकृत जमुना पौडेलले अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि राज्यले नै वकालत गर्नुपर्नेमा जोड दिइन् । अपाङ्गता भएका व्यक्तिहरूले पनि आफ्नो हक र अधिकारका लागि आफै अग्रसर भएर लाग्न जरुरी रहेको उनको भनाइ थियो । अपाङ्गता भएका व्यक्तिलाई आफ्नोतर्फबाट र कार्यालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धा पनि व्यक्त गरिन् । उनले अपाङ्गताका लागि बनेका नीति नियमको कार्यान्वयन हुनुपर्ने बताइन् । 
संस्थाका सल्लाहकार लोमन बुढाले अपाङ्गता भएका व्यक्तिहरूको हकहित र अधिकारका लागि स्थानीय राजनीतिक दलसँग बहस गर्न जरुरी रहेको बताए । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष सम्मरबहादुर मल्लले आफ्नो अधिकारका लागि सबै एकजुट भएर लाग्नु पर्ने बताए ।
प्रकाशित मितिः   १० माघ २०७२, आईतवार ११:३६