‘विवाह गर्ने उमेर घटाउनु हुँदैन’

सुर्खेत: विवाह गर्ने उमेर घटाउन नहुनेमा सरोकारवालाहरूले जोड दिएका छन् । शुक्रवार वीरेन्द्रनगरमा भएको बालविवाह तथा बाल संरक्षणको सवालमा प्रादेशिक छलफलमा सहभागीहरूले विवाह गर्ने उमेर २० वर्ष नै कायम गर्नुपर्नेमा जोड दिएका हुन् ।

विवाहको उमेर कानुनी व्यवस्थाअनुसार दुवैको २० वर्ष हुनुपर्ने भएपनि अहिलेसम्मको प्रगति सन्तोषजनक नरहेको प्लान इन्टरनेश्नलका दुर्गा क्षेत्रीले बताइन् । उनले भनिन्, ‘४० प्रतिशत विवाह २० वर्षमुनि नै भएको तथ्यांकले देखाउँछ । यसको सुधारका लागि कानुनमा भएको व्यवस्थाको कार्यान्वयन गर्नु नै महŒवपूर्ण हुन्छ ।’ विवाहबारे शारीरिक बनावट, शिक्षा, स्वास्थ्य, रोजगारीमा पर्ने असर समग्र भविष्यमा पर्नसक्ने उनको भनाइ छ ।

अपाङ्ग महासंघ कर्णाली प्रदेशकी पार्वती आलेले विवाह गर्ने उमेर २० वर्ष नै कायम गर्नुपर्ने बताइन् । उनले विवाहको उमेर घटाउने भन्दा पनि भइरहेको कानुनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने, अभिभावक शिक्षा सञ्चालन गर्नुपर्ने तथा विद्यालयमा यस बारेमा अध्यापन गराउनु पर्ने जनाइन् । ‘बालबालिकालाई कम उमेरमा विवाह गर्दा हुने जोखिमको बारेमा चेतना दिनुपर्ने, विवाह गर्ने उमेर घटाएर समस्याको समाधान हुँदैन,’ उनले भनिन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य रामप्रसाद गौतमले विवाहको उमेरबारे राज्यले १८–२० वर्षको बारेमा चलाएको छलफलप्रति असन्तुष्टि जनाए । यसअघि सरकारले बनाएको कानुनको पूर्ण कार्यान्वयन गरेर हेर्नुपर्ने उनको भनाइ थियो । ‘कानुनको परीक्षण नभइ किशोरीहरूको भविष्यमाथि खेलवाड गर्नेगरी उमेर घटाउन हुँदैन,’ उनले भने ।

बालअधिकारका लागि साझा अभियान कर्णाली प्रदेशका अध्यक्ष पवित्रा शाहीले कम उमेरमा विवाह गर्दा शारीरिक, मानसिक, आर्थिक रूपमा समेत समस्या आउने बताइन् । उनले भनिन्, ‘अहिले नागरिकता पाउने उमेर, भोटिङ अधिकार पाउने उमेर र विवाह गर्ने उमेरमा आधारित भएर १८ वर्षमा नै विवाह गर्नुपर्ने तर्क हुने गरेको छ । तर यी तीनै विषय फरक खालका छन् । नागरिकता पाउँदैमा सबै कुरा गर्न पाइन्छ भन्ने होइन । कम उमेरमा विवाह गर्दा सिर्जना भएका समस्या धेरै छन् । यसलाई पनि मध्यनजर गर्न पर्छ ।’

सरकारले विवाहको लागि तोकेको २० वर्षको उमेरलाई नै कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालहरूले जोड दिएका हुन् । सरकारले २० वर्ष नपुगिकन कानुनी रूपमा विवाह गर्न नपाइने व्यवस्था गरेको छ । कानुनमा रहेको उक्त व्यवस्थालाई कार्यान्वयन गर्न नसक्दा अहिले पनि ४० प्रतिशत विवाह २० वर्षमुनि नै भएको राष्ट्रिय तथ्यांकले देखाउँछ । अझै २० वर्षबाट घटाइ १८ वर्षमा विवाह गर्न मिल्ने गरी कानुन बनाउने विषयमा बहसहरू हुने गरेका छन् । तर सरोकारवाला निकायहरू भने किशोरकिशोरीको विवाह २० वर्ष पुगेपछि मात्रै गर्न सकिने कानुनी व्यवस्था नै सही रहेको जिकिर गर्छन् । २० वर्ष उमेर पुगेपछि विवाह गर्ने कुराले किशोरकिशोरीको शिक्षा, स्वास्थ्य, रोजगारी र भविष्यको समग्र अवस्थालाई समेट्न सक्ने उनीहरू बताउँछन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख माधवप्रसाद श्रेष्ठले कर्णालीमा घरेलु हिंसाका घटनामा वृद्धि भइरहेको बताए । त्यसको प्रमुख कारण बालविवाह, गरिबी, अशिक्षा र बेरोजगारी प्रमुख भएको उनको भनाइ छ ।

सरकार अहिले विवाहको उमेर घटाउने कसरतमा लागेको छ । कानुनी हिसाबले विवाह गर्न पाउने २० वर्षे उमेर हदलाई १८ बनाइने तयारी अन्तिम चरणमा रहेको कुरा केही दिन अघि गृहमन्त्रीले जानकारी दिएका थिए । प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले विवाह गर्ने उमेरसम्बन्धी कानुन संशोधनका लागि विधेयक तयार भएको बताएका हुन् । मन्त्रिपरिषद्मा बालबालिका सम्बन्धी ऐनलाई संशोधन गर्न विधेयक तयार भएको कुरा गृहमन्त्रीले बताइरहँदा विवाहको उमेर २० राख्ने वा घटाएर १८ वर्ष बनाउने कुरामा विभिन्न तर्क वितर्कहरू भइरहेका देखिन्छन् । यो बहस कर्णाली प्रदेशका ठाउँ–ठाउँमा भइरहेको छ भने यसबारे आ–आफ्नै धारणा पनि आइरहेका छन् ।

प्रकाशित मितिः   २९ असार २०८२, आईतवार १९:००