…अनि सिमकोट सडकले जोडियो
सुर्खेत: खार्पुनाथ–५ स्थित चुवाखोला कर्णाली नदीमा बेलिब्रिज निर्माण भएपछि हुम्ला सदरमुकाम सिमकोट औपचारिकरूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । उक्त पुलको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार उद्घाटन गरेका छन् ।
सडकले जोडिएपनि पुल निर्माण नहुँदा कर्णाली करिडोरले पूर्णता पाउन सकेको थिएन । अबदेखि पाँच सय १० किलोमिटर लामो यो राजमार्गले पूर्णता पाएको छ । बेलिब्रिज निर्माण भएसँगै यो सडकले हुम्ला सदरमुकामलाई मात्रै जोडेको छैन, कर्णाली प्रदेशलाई भारत र चीनसँग पनि जोडेको छ । सडक भारतसँग जोडिने बाँकेको जमुनाह नाकादेखि चीन जोड्ने हुम्लाको हिल्सा नाकासम्म पुग्छ ।
त्यसो त सिमकोटले राजमार्गसँग जोडिन निकै लामो समय कुर्नुप¥यो । कर्णाली करिडोर निर्माण थालनी भएको २६ वर्षको प्रतिक्षापछि मात्रै सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण उक्त पुल निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको थियो । पुल निर्माणका लागि २०७८ सालमा स्वच्छन्द मन्टपुमोरी जेबी निर्माण कम्पनीलाई जिम्मा दिइएको थियो । तर सम्झौता भएको लामो समय बित्दा पनि खार्पुमा पुल निर्माणको काम अघि बढेन । कहिले निर्माण सामग्री ढुवानीमा समस्या भएको त कहिले पुल निर्माणस्थलमा तातो पानी निस्केको भन्दै निर्माण कम्पनीले काममा ढिलाइ ग¥यो । दश करोड लागतमा भएकोे सम्झौताको म्याद पटक–पटक थप्दा पनि पुल निर्माणले गति लिन नसकेपछि बेलिब्रिज निर्माणको योजना अघि सारिएको हो । बेलिब्रिज निर्माणको जिम्मा भने नेपाली सेनालाई दिइयो । सेनाले ४० दिनभित्रैमा निर्माण सम्पन्न गरेको हो । पुल निर्माणमा झण्डै चार करोड रूपैयाँ खर्च भएको छ ।
खार्पुमा पुल बनेसँगै भारतीय सहर रूपैडिहाबाट चीनको सीमास्थित हिल्सासम्म एउटै गाडीमा यात्रा गर्न सकिने भएको छ । कर्णाली करिडोर दक्षिण खण्डका आयोजना प्रमुख इन्जिनियर तुलाराम शर्माले भने, ‘अब भारतको रूपैडियाबाट कर्णाली करिडोर हुँदै चीनको सिमाना हिल्सासम्म एउटै गाडीमा सहज यात्रा गर्न सकिने भएको छ । जसबाट कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रुका साथै अन्य यात्रुलाई समेत राहत हुने भएको छ ।’
त्रिदेशीय सडक सञ्जाल विस्तारले कर्णालीको आर्थिक विकासमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । ‘यो राजमार्ग बाँकेस्थित सीमावर्ती क्षेत्र जमुनिया नाकाबाट प्रारम्भ हुन्छ र हुम्लास्थित चीनको सीमावर्ती क्षेत्र हिल्सामा टुंगिन्छ’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस सडकले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्छ र हाम्रो वैदेशिक व्यापारलाई सहयोग पुग्छ । अनि यसले सडक सञ्जालमा जोडिन बाँकी एक मात्र जिल्ला हुम्लालाई राष्ट्रिय राजमार्गमा पनि जोड्ने छ ।’
कर्णाली करिडोरले पूर्णता पाउन पनि निकै समय लाग्यो । २०५४ सालमा हुम्लामा खाद्यान्न अभावको स्थायी समाधानका लागि तत्कालीन जिल्ला विकास समितिले चीनसँग सडक जोड्ने योजना बनाएको थियो । २०५७ सालमा जिविसको आन्तरिक स्रोतको प्रयोग गरी सिमकोट–हिल्सा सडक खन्न सुरु गरियो । त्यसपछि कालीकोटदेखि बाजुरा–हुम्ला खण्डमा विभिन्न समयमा करोडौं बजेट खर्च गरियो । ठेकेदारमार्फत निर्माण थालिएको उक्त सडकमा करौडौं बजेट खर्च भयो । तर, सडक निर्माणको गति भने सुस्त भयो । निर्माण व्यवसायीको ढिलासुस्तीकै कारण २०७१ चैत ५ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले कर्णाली करिडोरको निर्माणको जिम्मा नेपाली सेनालाई दियो । २०७१ साल चैत ९ गतेबाट नेपाली सेनाले निर्माणको काम सुरु गरेपछि २०७४ सालमै कालीकोटबाट बाजुरासम्म सडकको ट्याक खोलेर गाडी गुडे । त्यसपछि क्रमशः बाजुरा र हुम्लासम्म गाडी पुग्यो । हुम्लाको ६ किलोमिटर चट्टानी भाग छारे भीरमा सडक निर्माण गर्न बढी समय लाग्यो ।
पुल निर्माण सँगसँगै सडक स्तरोन्नतिको काम पनि भइरहेको छ । कर्णाली करिडोर सडक आयोजनाका अनुसार कर्णाली करिडोरमा २०८१ सालबाट उत्तर र दक्षिण गरेर दुई वटा आयोजना कार्यालय छन् । जसको उत्तर आयोजनामा एक सय ४८ किलोमिटर सडक छ । दक्षिणतर्फ एक सय २३ किलोमिटर सडक पर्छ । दक्षिणतर्फको खण्डमा १४ अर्ब बजेट छ । जसको १० प्रतिशत खर्च भएको छ । जहाँ बेलिब्रिज ६ वटा, ७ वटा पक्की पुलका साथै ५० किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ । कर्णाली करिडोरको उत्तर खण्डमा जम्मा २१ अर्ब बजेट छ । जसको १० प्रतिशत खर्च भएको छ । जहाँ बेलिब्रिज एउटा, पक्की पुल दुई वटाका साथै अरू सडक स्तरोन्नतिको काम भइरहेको छ ।
प्रकाशित मितिः २३ असार २०८२, सोमबार ०५:०५
साझा बिसौनी ।