नेपाल लगातार दोस्रो पटक च्याम्पियन
काठमाडौं: मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । फाइनल खेलमा सिंगापुरलाई दुई विकेटले हराउँदै नेपालले यो प्रतियोगिताको उपाधि आफ्नो हात पारेको हो ।
सिंगापुरले दिएको एक सय १४ रनको लक्ष्य नेपालले २९ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि जोय थापाले सर्वाधिक २४ रन बनाए । शिवांश बजगाईंले २०, शुभम खनालले १८, प्रशिद्ध जैशीले १७, परिमार्जन यादवले १३ र अभय यादवले १० रन जोडे ।
सिंगापुरमा कपिश भेंकटरमणले चार विकेट लिँदा यवान पाण्डेले दुई र वेदांश गुप्ताले एक विकेट लिए । त्यसअघि टस जित्दै पहिले ब्याटिङ रोजेको सिंगापुर ४० दशमलव ५ ओभरमा अलआउट हुँदै एक सय १३ रनमा समेटिएको थियो । सिंगापुरका लागि ओपनर रोहन अस्टीन अरुणले सर्वाधिक २३ रन बनाए । ८४ बल खेलेका उनले दुई चौका प्रहार गरे । यस्तै कप्तान रिहान नाइकले १५ रन बनाउँदा वेदान्श गुप्ताले १२ र आकाश तेजाले १० रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सिंगापुरलाई सस्तैमा समेट्नका लागि नेपालका अभय यादव र शुशिलबहादुर रावलले ३/३ विकेट लिए । शुभम खनालले दुई र कप्तान विपिनप्रसाद शर्माले एक विकेट लिए । बिहीबार सेमिफाइनलमा मलेसियालाई नौ विकेटले हराउँदै नेपालले फाइनल यात्रा तय गरेको थियो भने हङहङलाई हराउँदै सिंगापुरले नेपालसँग उपाधि भीडन्त पक्का गरेको थियो ।
नेपालले यसअघि सन् २०२३ मा भएको इस्ट जोन कपको पनि उपाधि जितेको थियो । त्यसअघि एसीसीले यू–१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना गर्दै आएको थियो र नेपालले २०१७ र २०१९ मा पनि लगातार उपाधि जितेको थियो ।
प्रकाशित मितिः २१ असार २०८२, शनिबार १८:०६
साझा बिसौनी ।