मानव अधिकार हनन्मा आएन कमी

सुर्खेत: अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२६ मा समावेश गर्नुपर्ने घटनाहरूको पूर्व समीक्षा कार्यक्रम गरेको छ । पुस्तकमा समावेश गर्न संकलन गरिएका सुर्खेतका मानव अधिकार हनन्का घटनाबारे सोमवार वीरेन्द्रनगरमा समीक्षा तथा सुझाव संकलन गरिएको हो ।

समीक्षा कार्यक्रममा सरोकारवाहरूसँग सुझावसमेत लिइएको छ । समीक्षाका क्रममा मानव अधिकारका घटना बढ्दै गएको र त्यसमाथि पनि महिला तथा बालबालिका बढी हिंसामा पर्ने गरेको बताइएको छ । मानव अधिकार हननका घटना बढेकोप्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले मानव अधिकार हननका घटनामा कमी ल्याउन सबैपक्ष जिम्मेवार बन्नुपर्ने बताए । उनले जनचेतनाका कार्यक्रममा जोड दिन सके यस्ता घटनामा कमी आउने अपेक्षा व्यक्त गरे ।

इन्सेक प्रतिनिधि जगतदल विकले सन् २०२५ जनवरीदेखि जुनसम्म सुर्खेतमा भएका मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरूको विवरण प्रस्तुत गरेका थिए । उनका अनुसार सन् २०२५ मा सुर्खेतमा मानव अधिकार हनन र ज्यादतीका एक सय ५१ वटा घटना भएका छन् । जिल्लामा घरेलु हिंसाका एक सय आठ, महिला अधिकार हननका एक सय २४, बलात्कारसम्बन्धी १६, बलात्कार प्रयासका एक, यौन दुव्र्यवहारका दुई, अमानवीय व्यवहारको एक, जातीय विभेदको एक, कुटपिट दुई, गिरफ्तार एक, बालविवाहका एक वटा घटना मानव अधिकारसँग सम्बन्धित रहेको बताइएको छ ।

प्रकाशित मितिः   १७ असार २०८२, मंगलवार १२:२१