‘एआई’ चलाउन सिक्दै सांसद

सुर्खेत: ‘नन्दा गुरुङ्ग को हुन् ?’ कर्णाली प्रदेशसभाका सभामुख गुरुङ्ग स्वयम्ले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याट जिपिटीलाई सोधिन् । त्यसको जवाफमा च्याट जिपिटीले उनको जन्म मितिदेखि राजनीतिक संलग्नतासम्मको सबै कुराहरू बताइदियो । त्यसपछि छक्क पर्दै गुरुङले भनिन्, ‘एआई भनेको त अच्चमको चिज रहेछ, मेरो बारेमा सबै कुराहरू भनिदियो ।’

शनिवार प्रदेशसभा सदस्यहरूलाई एआई प्रविधिको प्रयोग गर्न सिकाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सभामुखजस्तै धेरै सहभागीले विभिन्न विषय खुलाएर छोटो भाषणदेखि राउटे समुदायको अवस्थासम्मका कुराहरू च्याट जिपिटीलाई सोधे । च्याट जिपिटीले पनि सबै विषयमा छिनभरमै जानकारी दियो । सहभागीहरूले एआईका प्लेटफर्महरूमा आफूलाई चाहिएका विषयहरू खोजेर प्रयोगात्मक अभ्यास गरिरहेकै बेला नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले फ्याट्ट भने, ‘हाम्रा स्वकीयहरूको काम त एआइले गरिदिने रहेछ ।’ सहभागीहरू एकछिन गलल्ल हाँसे र भने, ‘यो कुरा त हामीले पहिले सिक्नु पर्ने रहेछ अल्ली ढिला भयो ।’

आधुनिक प्रविधिसँग आफूलाई अभ्यस्त गराउन र ज्ञान बढाउनका लागि प्रदेशसभा सदस्यहरूले तालिम नै लिएर एआई प्रविधि चलाउन सिकेका छन् । तालिममा सहभागी प्रदेशसभा सदस्यहरूले एआईको प्रयोग गरेर सत्तापक्षदेखि प्रतिपक्षसम्मको भाषणा तयार पार्न, कुनै कानुनका सकारात्मक र नकारात्मक पक्षको विश्लेषण गर्न, सार्वजनिक व्यक्ति र विषयको बारेमा जानकारी लिन सिकेका छन् ।

युएनडीपी संसद् सहयोग परियोजनाको सहयोग र पूर्व प्रदेशसभा सदस्य मञ्चसँगको सहकार्यमा कर्णाली प्रदेशसभाले आयोजना गरेको ‘प्रदेशसभाका पूर्व र वर्तमान सदस्यहरूबीच संसदीय अभ्यासका विविध पक्षमा अनुभव आदान प्रदान’ कार्यक्रममा प्रशिक्षक प्रवेश सुवेदीले प्रदेशसभा सदस्यहरूलाई एआईको प्रयोग गर्न सिकाएका हुन् । उनले एआईको सबल र दुर्वल पक्ष, नयाँ विषय खोज्ने तरिका, कानुन निर्माणमा एआईले गर्ने सहयोगलगायतका विषयमा प्रदेशसभा सदस्यहरूलाई जानकारी दिए ।

एआईको प्रयोग गर्न सिकेपछि प्रदेशसभा सदस्य जानकी सिंहले विश्वका घटनाहरू सजिलै थाहा पाउन सकिने र कानुन निर्माणमा समेत सहयोग पुग्ने बताइन । प्रदेशसभा सदस्य कलबहादुर हमालले एआईको प्रयोगले कानुन निर्माण सहयोग पुग्ने र प्रदेशसभा सदस्यहरूको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताए । ‘कानुन कसरी बनाउने ? किन बनाउने भनेर सोध्यो भने सबै भन्दिने रहेछ’ उनले भने, ‘एआईले हामीलाई ठूलो मद्दत गर्ने रहेछ ।’

प्रदेशसभाले कानुन बनाउँदा के–के कुरामा ध्यान दिने ? कानुनलाई कसरी प्रभावकारी कार्यान्वयन गर्ने लगायत समाधानका उपाय पनि एआईले बताइदिने भएका कारण कानुन निर्माणमा सहयोग पुग्ने अर्का प्रदेशसभा सदस्य कल्याणी खड्काले बताइन् । आफूले एआई सम्बन्धी सामान्य कुराहरू मात्र सिकेको भन्दै प्रयोगमै ल्याउने गरी बृहत् रूपले सिक्न आवश्यक रहेको बताइन । आइतवारसम्म सञ्चालन हुने कार्यक्रमको पहिलो दिन प्रदेशसभा सदस्यहरूलाई एआई चलाउन सिकाइएको थियो ।

प्रकाशित मितिः   १५ असार २०८२, आईतवार ०६:०६