मध्यअसारसम्म ३९ प्रतिशत रोपाइँ
सुर्खेत: यतिबेला किसानहरूलाई धान रोप्ने चटारो छ । यस पटक मनसुन समयमै सक्रिय भयो । मनसुन चाँडै भित्रिएका कारण पनि रोपाइँ छिटो सुरू भयो । आकाशे पानीको भरमा धान रोप्नुपर्ने कर्णालीका अधिकांश ठाउँमा समेत रोपाइँ गरिसकिएको छ ।
प्रदेश कृषि विकास निर्देशनालयका अनुसार कर्णालीमा ३९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । निर्देशनालयका सूचना अधिकारी टेकराज रेग्मीले पहाडी जिल्लाका धेरैजसो ठाउँमा रोपाइँ भइसकेको बताए । सिँचाइ सुविधा भएका र खोलाको आसपासमा रहेका खेतहरूमा रोपाइँ सकिएको छ । मौसमले साथ दिएर बेलैमा धमाधम खेत रोप्न पाएपछि किसानहरू हर्षित भएका छन् ।
निर्देशनालयका अनुसार मध्यअसारसम्म सबैभन्दा बढी जुम्ला, हुम्ला र डोल्पामा रोपाइँ भएको छ । तीन वटै जिल्लामा अहिलेसम्म ९० प्रतिशत रोपाइँ सकिएको हो । त्यसैगरी मुगुमा ४० प्रतिशत, रूकुम–पश्चिममा ५५ प्रतिशत र जाजरकोटमा १७ प्रतिशत खेतमा रोपाइँ गरिएको छ । सल्यानमा ६५ प्रतिशत, दैलेखमा ३२ प्रतिशत, कालीकोटमा ४२ प्रतिशत रोपाइँ हुँदा सुर्खेतमा २० प्रतिशत रोपाइँ भइसकेको निर्देशनालयले जनाएको छ ।
कर्णालीमा धान खेती हुने ४१ हजार पाँच सय पाँच हेक्टर क्षेत्रफलमध्ये २९ हजार पाँच सय बढी हेक्टर क्षेत्रफलमा धान रोप्ने काम सकिएको हो । यस पटक समयमै आधा रोपाइँ सकिएकाले उत्पादन पनि राम्रो हुने अपेक्षा गरिएको छ । कर्णाली प्रदेशमा खासगरी मार्सी, हाइब्रिड, शंकर–३१२, खुक्खा–१, २, ३ र ५ लगाउने गरिन्छ । यी जातका धानको उत्पादनसमेत बढी हुने गरेको छ ।
२६ हजार मेट्रिक टन खाद्यान्न अपुग
कर्णाली प्रदेशका केही जिल्लामा हरेक वर्ष खाद्य संकट हुन्छ । जाजरकोट, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगुमा खाद्यान्न अपुग हुने गरेको हो । प्रदेशमा बर्सेनि झन्डै २६ हजार मेट्रिक टन खाद्यान्न अभाव छ । निर्देशनालयका अनुसार कर्णालीमा तीन लाख १६ हजार तीन सय ९१ मेट्रिक टन हाराहारीमा धान उत्पादन हुन्छ । यहाँ तीन लाख ४८ हजार सात सय ३२ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ ।
कर्णालीका सुर्खेत, सल्यान, रूकुम–पश्चिम र दैलेख मात्रै खाद्यमा आत्मनिर्भर छन् । खाद्यान्न अभाव हुने जिल्लाहरूमा सरकारले अनुदानको चामल बिक्री वितरण गर्दै आएको छ । स्थानीय उत्पादन पर्याप्त नहुँदा सरकारले ढुवानीमा अनुदान दिए पनि पहाडी तथा हिमाली जिल्लाका बासिन्दाले खाद्य अभाव झेल्दै आएका छन् ।
पर्याप्त छ मल
धान रोप्ने सिजनमा मलको अभाव हुन्थ्यो । हरेक वर्ष मल नपाएर किसानहरू हैरान हुन्थे । यो पटक भने मल पर्याप्त छ । असार लागेसँगै मल बिऊको पिरलो हुने किसानले यसपालि हैरानी खेप्नु परेन । सहजै रासायनिक मल उपलब्ध भएको हो । कर्णालीमा साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेड शाखा सुर्खेत र कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले मल बिक्री–वितरण गर्दै आएका छन् । नेपाल सरकारले रासायनिक मलका लागि विनियोजन गरेको बजेटमध्ये साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेडले ३० प्रतिशत र कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत बजेट प्राप्त गर्छन् ।
सार्वजनिक बिदा
यसैबीच राष्ट्रिय धान दिवसको अवसरमा आज कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । आज (असार १५) कै दिन हरेक वर्ष धान दिवस मनाउने गरिएको हो । यो वर्ष पनि कर्णाली प्रदेश सरकारले औपचारिक कार्यक्रम गरी दिवस मनाउन लागेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले असार १५ गते राष्ट्रिय धान दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको छ । प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा सार्वजनिक बिदा दिइएको हो ।
प्रकाशित मितिः १५ असार २०८२, आईतवार ०६:०४
साझा बिसौनी ।