बढ्यो वीरेन्द्रनगरको बजेट
सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि बढाएर बजेट ल्याएको छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि चार अर्ब ३८ करोड २७ लाख १५ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको छ ।
मंगलवार १७औँ नगरसभामा नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले उक्त बजेट प्रस्तुत गरेका हुन् । यो बजेट चालु आर्थिक वर्षको भन्दा ७९ करोड नौ लाख १५ हजार रूपैयाँले बढी हो । नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि तीन अर्ब ५९ करोड १८ लाख रूपैयाँ बराबरको बजेट ल्याएको थियो । आगामी वर्षका लागि कुल बजेटमध्ये चालूतर्फ एक अर्ब ५९ करोड ४२ लाख ३० हजार अर्थात् कूल बजेटको ३६.३७ प्रतिशत छ भने पूँजीगततर्फ दुई अर्ब ७८ करोड ८४ लाख ८५ हजार अर्थात् ६३.६३ प्रतिशत विनियोजन गरिएको खनालले बताए ।
आगामी आर्थिक वर्षको बजेट व्यवस्थापनका लागि वीरेन्द्रनगर नगरपालिका संघीय सरकारबाट प्राप्त हुने अनुदानमा सबैभन्दा बढी निर्भर छ । कुल बजेटको खर्च व्यहोर्न संघीय सरकारबाट वित्तीय समानीकरण, सशर्त अनुदान र राजश्व बाँडफाँड गरी कुल दुई अर्ब ६४ करोड ८९ लाख ९३ हजार रूपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरी, प्रदेश सरकारबाट समानीकरण र सशर्त अनुदानमार्फत ४० करोड ९५ लाख ८९ हजार रूपैयाँ स्रोत जुटाइने छ । नगरपालिकाले आन्तरिक आयबाट ५१ करोड ६३ लाख ५० हजार संकलन गर्ने लक्ष्य लिएको छ भने चालु आर्थिक वर्षबाट ४१ करोड २७ लाख ८३ हजार रूपैयाँ बैंक मौज्दात सर्ने अनुमान छ ।
यसका साथै, सामाजिक सुरक्षा भत्ताका लागि ४० करोड रूपैयाँ छुट्टै अनुदान प्राप्त हुनेछ । ‘बजेटले शैक्षिक, प्रशासनिक र पर्यटकीय शहर, स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगरको सोचलाई साकार पार्ने लक्ष्य लिएको छ,’ उपप्रमुख खनालले भने, ‘वीरेन्द्रनगरलाई व्यवस्थित राजधानीका रूपमा विकास गर्न पूर्वाधार निर्माण, खानेपानी, सहरी सौन्दर्य र सार्वजनिक यातायातलाई प्राथमिकतामा राखिएको छ ।’
मुख्य कार्यक्रम तथा प्राथमिकताहरू
नगर उपप्रमुख खनालका अनुसार उपत्यकाको खानेपानी समस्याको दिगो समाधानका लागि संघीय र प्रदेश सरकारसँगको सहकार्यमा अघि बढाइएको भेरी पम्पिङ आयोजनाका लागि ११ करोड ६० लाख रूपैयाँ ‘म्याचिङ फण्ड’ छुट्याइएको छ । सहरी पूर्वाधार र सौन्दर्यतर्फ राजधानी केन्द्रित पूर्वाधारहरूजस्तै ट्राफिक लाइट, रोड मार्किङ, फुटपाथ व्यवस्थापन, सीसी क्यामरा र हाईमास्ट लाइट जडानका लागि १२ करोड रूपैयाँ विनियोजन गरिएको छ ।
साथै, घण्टाघर पार्कलगायत अन्य पार्क निर्माण र क्रमागत आयोजनाका लागि २२ करोड ३४ लाख बजेट राखिएको छ । नगरको यातायातलाई सर्वसुलभ बनाउन नगर बस खरिद गरी सञ्चालन गर्न दुई करोड रूपैयाँ विनियोजन गरिएको उनले बताए । प्रत्येक वडामा कम्तीमा एउटा ५० लाखभन्दा ठुलो ‘नगर गौरवको पूर्वाधार आयोजना’ सञ्चालन गरिनेछ, जसका लागि १९ करोड २८ लाख रूपैयाँ वडास्तरमा पठाइने पनि उनको भनाइ छ ।
आगामी आर्थिक वर्षमा करको दायरा विस्तार गरी ५१ करोड ६३ लाख ५० हजार आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ । कर संकलनलाई प्रभावकारी बनाउन टोल विकास संस्था र निजी क्षेत्रसँग सहकार्य गरिने उपप्रमुख खनालले बताए । बजेटमा सामाजिक सुरक्षा भत्ताका लागि ४० करोड र विकास साझेदारबाट प्रस्तावित ४० करोड बराबरका कार्यक्रमलाई पनि स्वीकृतिका लागि पेस गरिएको छ ।
यसैगरी पुर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाले कृषि, पर्यटन, पूर्वाधार र शिक्षालाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । नगरपालिकाले एक अर्ब एक करोड ६७ लाख बराबरको बजेट सार्वजनिक गरेको हो । पुँजीगतर्फ ३९ करोड ८१ लाख र चालुतर्फ ६१ करोड ८६ लाख बजेट विनियोजन गरिएको छ । नागरिकका आवश्यकतासँग जोडिएका कार्यक्रम प्राथमिकतामा राखिएको नगरउप्रमुख मैना विकले बताइन् । उनका अनुसार लक्षित वर्ग विशेष कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । कानुनी सचेतनादेखि उद्यमशिलता कार्यक्रमलाई जोड दिइएको छ ।
मंगलवार सुर्खेतका नौवटै स्थानीय तहले बजेट ल्याएका छन् । सबैजसो पालिकाले गतवर्षकै हाराहारीमा बजेट ल्याएका छन् । कृषि, शिक्षा, पर्यटन, पूर्वाधारमा आधारित भएको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । संवैधानिक व्यवस्थाअनुसार स्थानीय सरकारले हरेक वर्षको असार १० गतेभित्र वार्षिक बजेट ल्याउनुपर्ने हुन्छ । सोहीअनुसार पालिकाहरूले आफ्नो आगामी नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन् ।
प्रकाशित मितिः ११ असार २०८२, बुधबार ०६:०६
साझा बिसौनी ।