बजेटमाथि प्रतिपक्ष असन्तुष्ट

सुर्खेत: कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेटप्रति प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । बजेट प्रदेशसभामा पेस हुनुअघिदेखि नै विरोधमा उत्रिएका प्रतिपक्षहरू अहिले निरन्तर सभाको बैठक अवरुद्ध गरिरहेका छन् ।

आइतवार पनि प्रतिपक्षी दलहरूले प्रदेशसभाको बैठक अवरुद्ध पारे । बजेटमाथि छलफल गर्नका लागि आह्वान बैठकहरूमा प्रतिपक्षहरूले निरन्तर अवरोध गरिरहेका हुन् । प्रतिपक्ष दलहरूले बजेट पेस भएको दिनदेखि नै कहिले प्रदेशसभाको बैठकमा उपस्थित भएर विरोध गर्दै आएका छन् भने कहिले अनुपस्थित भएर प्रदेशसभाको बैठक स्थगित हुने गरेको छ ।

गत बिहीवार प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीका सांसद उपस्थित नभएपछि बैठक स्थगित भएको थियो । आइतवार बसेको प्रदेशसभा बैठकमा सहभागी प्रतिपक्ष दलका सांसदहरूले बजेट नसच्चिएसम्म बैठक अघि बढ्न नसक्ने भन्दै अवरुद्ध गरेका छन् ।

बैठकको सुरुवातमै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक कृष्णबहादुर जिसीले बजेट निर्माणको प्रक्रिया नै अवैध रहेको र प्रदेश आर्थिक ऐन विपरीत बजेट प्रस्तुत गरिएको आरोप लगाए । उनले मन्त्रीहरू नै बिचौलियाको भूमिकामा रहेको र निर्णय गर्ने व्यक्ति नै निवेदक, प्रस्तावक भएर योजना हाल्ने काममा अग्रसर भएको भन्दै विरोध जनाए । ‘हिजो अरूले बिचौलियाको काम गर्थे, आज सरकार र मन्त्रीहरू आफैँ बिचौलियाको काम गरिरहेको पुष्टि हुन्छ,’ उनले भने, ‘मन्त्री निवेदक हुने, अनि निर्णय पनि आफैँ गर्ने, डोजर पनि आफैँ चलाउने भयो ।’

साथै उनले सरकारले नैतिकता गुमाइसकेको पनि बताए । ‘सरकारले कानुन विपरीत काम गरिरहेको छ,’ उनले भने, ‘यो बजेट नै अवैध छ ।’ बजेट प्रस्तुत हुनुअघि प्रस्तुत हुनुपर्ने चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पनि प्रस्तुत नगरेको भन्दै उनले प्रश्न उठाए । ‘उनले अगाडि भने, ‘सरकार कानुन आफै उल्लङ्घन गरिरहेको छ, त्यसकारण बजेटमाथि छलफल गर्नु उपयुक्त छैन ।’

त्यसैगरी नेकपा (एकीकृत समाजवादी) की सांसद कल्याणी खड्काले पनि झ्यालबाट बजेट आएको बताइन् । ‘आयोजना बैंकका नाममा झ्यालबाट बजेट आएको छ,’ उनले भनिन्, ‘यो बजेट खासमा कसले ल्याएको हो ? त्यो थाहा भएन ।’ खड्काले कर्णाली प्रदेशमा समानुपातिक विकासको अवधारणका आधारमा बजेट नआएको बताइन् । ‘सबै ठाउँमा समान तरिकाले बजेटको व्यवस्था हुनुपथ्र्यो,’ उनले भनिन्,‘अहिलेको बजेट स्थानीय तह, जिल्लाबाट छनौट भएका योजनाहरू परेका छैनन् ।’ प्रतिपक्ष दलहरूले कर्णाली प्रदेश सरकारले ल्याएको योजना बजेटमाथि असहमति जनाउँदै आएको छ ।

प्रकाशित मितिः   ९ असार २०८२, सोमबार ०६:०१