दैलेखले देशलाई दिएको खुसी

दैलेख: यतिबेला संघीय संसद्देखि कर्णाली प्रदेशसभासम्म सत्तापक्ष र प्रतिपक्षबीच निरन्तर जुहारी चलिरहेको छ । राजनीतिक घटनाक्रम नागरिकका लागि उत्साहप्रद छैनन् । अनि, दैनिकजसो आइरहने साना–ठूला भ्रष्टाचार र चौतर्फी बेथितिका खबरले आम नागरिकलाई आजित बनाइरहेको बेला कर्णाली प्रदेशको दैलेखले सिँगै देश लागि खुसीको खबर दिएको छ । दैलेखमा पेट्रोलियम अन्वेषण गर्दा ठूलो मात्रामा ग्यासँको भण्डार पत्ता लागेको खबरले यतिबेला मुलुककै उज्यालो र समृद्ध भविष्यको आशा जगाएको छ ।
चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । उक्त प्रतिवेदनअनुसार जलजले क्षेत्रमा मिथेन ग्यासको विशाल भण्डारण रहेको तथ्य खुलाइएको छ । एक अर्ब १२ करोड घनमिटर प्राकृतिक ग्यास रहेको पत्ता लागेको हो । जुन निरन्तर ५० वर्षसम्म निकाल्न सकिने जनाइएको छ । यति ठूलो परिणाममा ग्यास भण्डार फेला परेपछि अहिले यसको सर्वत्र चर्चा छ ।
चिनियाँ कम्पनीले २०८० वैशाख २८ गतेदेखि ड्रिलिङ अर्थात् जमिन खनेर अध्ययन थालेका थिए । त्यसका लागि चार हजार मिटर गहिराइसम्म खनिएको थियो । त्यतिबेला जमिन मुनिबाट ग्याँसको गन्ध आएको थियो । तर ग्याँसको मात्रा र गुणस्तरलगायतका थप परीक्षणका लागि चट्टानका नमूना संकलन गरी चीन लगिएको थियो । त्यसको उद्देश्य दैलेखको ग्याँस व्यापारिक दृष्टिकोणले उपयुक्त छ वा कि छैन भन्ने पनि पत्ता लगाउनु थियो । ‘अहिले हामीलाई प्रारम्भिक रूपमा जुन रिपोर्ट प्राप्त भएको छ, त्यसमा एक अर्ब १२ करोड घनमिटर प्राकृतिक ग्याँस छ भन्ने पुष्टि भएको छ’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भने, ‘यो मिथेन ग्याँस हो भन्ने छ ।’
अध्ययन अनुसार उक्त क्षेत्रमा ग्यासका चार वटा सम्भावित भण्डारण छन् । अहिले देखिएको त्यसमध्ये पहिलो भण्डारणको मात्रै प्रारम्भिक नतिजा हो । बाँकी तीन वटाको प्रारम्भिक अनुमानअनुसार जलजले क्षेत्रमै कुल चार सय ३० अर्ब घनमिटर ग्यास हुने प्रक्षेपण गरिएको छ । यसले करिब ५० वर्षसम्म नेपालको ग्यास आवश्यकतालाई पूरा गर्नसक्ने सम्भावना देखिएको छ ।
दैलेखमा वर्षौंदेखि जमिनमा आफै आगो बल्ने गरेको थियो । स्थानीयले दैवी शक्ति भन्दै पूजा गर्दै आएका छन् । सोही स्थानमा पेट्रोल वा डिजेल हुन सक्ने आँकलन गरेर अध्ययन थालिएको थियो । तर पेट्रोल वा डिजेल नभइ मिथेन ग्यास भेटिएको छ ।
मिथेन ग्याँस पेट्रोल–डिजेलको विकल्पमा स्वच्छ इन्धन मानिन्छ । ‘मिथेन ग्याँसबाट गाडी चलाउन, बिजुली उत्पादन गर्न र घरायसी प्रयोजनमा बत्ती बाल्न पनि सकिन्छ,’ खानी तथा भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले भने, ‘मिथेन ग्याँसबाट हाइड्रोजन छुट्टाएर अमोनिया ग्याँस निकालेर मल कारखानामा पनि प्रयोग गर्न सकिन्छ ।’
प्रारम्भिक प्रतिवेदनअनुसार ठूलो परिणाममा मिथेन ग्यास भएको पत्ता लागे पनि यसको अन्तिम प्रतिवेदन आउन भने अझै ५÷६ महिना लाग्न सक्नेछ । अन्तिम प्रतिवेदन आएपछि बाँकी काम अघि बढ्नेछ ।
परीक्षण उत्पादन गरेर त्यसको यकिन गर्ने भन्दै खानी तथा भूगर्भ विभागले आवश्यक प्रक्रिया अघि बढाएको छ । प्रारम्भिक प्रतिवेदनले सकारात्मक सन्देश दिएको छ, अब व्यावसायिक परीक्षणको बाटो खुलेको छ । चिनियाँ प्राविधिक टोलीले विस्तृत रिपोर्ट दिएपछि ग्याँस उत्पादन प्रक्रिया सुरु हुनेछ । नेपालमा उत्पादित प्राकृतिक ग्याँसलाई व्यावसायिक प्रयोजनमा ल्याउन सके आर्थिक उन्नतिमा देशले फड्को मार्ने विश्वास लिइएको छ ।
२०७२ सालमा भारतीय नाकाबन्दीका कारण ग्याँस र इन्धन आपूर्तिमा संकट भएपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालमा पेट्रोलियम पदार्थ र ग्याँसको अध्ययन गर्न चीनलाई निम्तो दिएको थियो । त्यसैका आधारमा चिनियाँ टोलीले नेपालमा विभिन्न सम्भाव्य पेट्रोलियम खानीहरूमा पुगेर अध्ययनका लागि नमूना संकलन गरेको थियो । तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डे आफैं दैलेखको श्रीस्थान, नाभिस्थान, धुलेश्वर र पादुकालगायतका क्षेत्रमा पुगेका थिए । त्यतिबेला पाण्डेले ६ महिनाभित्र सरकारले दैलेखमा रहेका सम्भावित ग्याँस र पेट्रोल खानीको उत्खनन् गर्ने घोषणा गरेका थिए । तर उत्खनन् सुरु हुन झण्डै १० वर्ष लाग्यो ।
परियोजनाले अन्तिममा सार्थकता पाएपछि दैलेखवासी तथा सरोकारवाला निकाय उत्साहित भएका छन् । अब भने दैलेखको विकासले फड्को मार्ने व्यावसायी प्रेम ओली बताउँछन् । लामो समयसम्म चर्चामा रहेको विषय अध्ययनले पुष्टि गरेसँगै थप आशा पलाएको उनको भनाइ छ । यस्तै सरकारले लगानी जुटाएर आयोजना अघि बढाउनुपर्ने उद्योग वाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही बताउँछन् । नेपालको प्रमुख व्यापार घाटा पेट्रोलिय पदार्थबाट भइरहेको भन्दै छिटोभन्दा छिटो आयोजना अघि बढाउन सरकारलाई सुझाव दिए ।
प्रदेशसभा सदस्य कृष्णबहादुर विसीले सरकारले काम अघि बढाउनुपर्ने र यसको प्रशोधन पनि दैलेखमै हुनुपर्ने बताए । दैलेख, कर्णाली र देशकै लागि गौरवको विषय भएकाले संघीय सरकारले काम तत्काल अघि बढाउनुपर्ने बिसीको जोड छ । यस्तै कर्णालीका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आयोजना अघि बढाउन संघीय सरकारले काम सुरु गर्नुपर्ने बताए । लामोसमयसम्म अध्ययनमा रहेको आयोजनाले सार्थकता पाउनका लागि आयोजना स्थल छनोट, अन्य जग्गा प्राप्ति लगायतका काम सुरु हुनुपर्ने उनको भनाइ छ ।
मुलुकको ऊर्जा सुरक्षाका लागि यो परियोजना एक ऐतिहासिक अवसर सावित हुन सक्ने विश्वास लिइएको छ । प्रारम्भिक अनुमान अनुसारको भण्डारण पुष्टि भएमा नेपाल इन्धन आयातमा निर्भर हुनुपर्ने अवस्थाबाट बिस्तारै मुक्त हुँदै स्वदेशी स्रोतबाट नै ऊर्जा उत्पादन र वितरण गर्न सक्ने अवस्थामा पुग्ने बताइन्छ ।
प्रकाशित मितिः ६ असार २०८२, शुक्रबार ०८:१६
साझा बिसौनी ।