पर्यटकीय स्थलमा लगानी

नेपालकै प्रमुख पर्यटकीय स्थलहरूमध्ये एक हो, मुगुको रारा । तर भौगोलिक विकटता र आवश्यक पूर्वाधारको विकास नहुँदा अपेक्षित रूपमा पर्यटकीय गन्तव्य बन्न सकेको छैन । अब भने तीनै तहका सरकारको प्राथमिकतामा रारा परेको छ । संघीय सरकारले कर्णालीका पर्यटकीय स्थललाई आफ्नो बजेटमा समावेश गरेको छ । आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम र बजेटमा समेटेर पर्यटन प्रवद्र्धनको योजना ल्याएको हो । सरकारले आगामी वर्षमा कार्यान्वयन गर्नेगरी दर्जनबढी योजना ल्याएको छ । जसमा कर्णालीको प्रमुख पर्यटकीय स्थाल रारालाई पर्यटन पदमार्गदेखि पदयात्रासम्मको योजनामा राखिएको छ । सरकारले रारामा पर्यटन पदमार्ग विकास गर्नुका साथै बर्दिया–रारा पदयात्रा सुरुवात गर्ने जनाएको छ ।

पर्यटकीय सम्भावनाको प्रचुर सम्भावना रहेको रारामा अपेक्षित रूपमा पर्यटक भिœयाउन सकिएको छैन । तीन तहका सरकारको प्राथमिकतामा भने पर्दै आइरहेको छ । भौगोलिक रूपमा समेत विकट स्थानमा रहेकाले पदमार्ग निर्माण नै पूर्वाधारको पहिलो खुड्किलो मानिन्छ । संघीय सरकारले आफ्नो बजेटमा समावेश गरेर रारालाई पर्यटन पदमार्गको रूपमा विकास जनाएको छ । केही सामान्य पूर्वाधारका काम भने भएका छन् । ती पूर्वाधार पर्याप्त नहुँदा त्यहाँ जाने आन्तरिक तथा बाह्य पर्यटकले सास्ती खेप्दै आएका छन् । पर्यटक त्यहाँ पुग्दासमेत स्थानीयले पर्याप्त आर्थिक लाभ लिन सकेका छैनन् । अहिले भने संघीय सरकारले नै पदमार्गदेखि पदयात्राको योजना बनाएको छ । यसले राराको पर्यटन विकासमा सघाउ पुग्ने अपेक्षा गरिएको छ । यस्तै, कर्णाली प्रदेश सरकारले पनि आगामी आर्थिक वर्षमा पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्षमा कार्यान्वयन गर्नेगरी पर्यटन योजना समावेश गरेको हो । प्रदेश सरकारकै लगाानीमा रारामा केही पूर्वाधारका कामसमेत थालिएको छ ।

रारासम्म पुग्न गतिलो पूर्वाधार निर्माण हुन सकेको छैन । नेपालकै सुन्दर ताल राराको वरिपरि निर्माण हुने रारा पर्यटकीय पूर्वाधार निर्माण आयोजनाको काम सुस्त गतिमा छ । रारा नेपालको पदमार्ग सहितको गन्तव्य हो । साहसिक यात्राको गन्तव्य पनि हो । रारा ताल बिहान कालो, दिउँसो नीलो र साँझ सप्तरङ्गी देखिन्छ । तालको वरिपरि मनोरम सल्लाघारी छ । साँझ तालको वरिवरि पैदल यात्रा गर्न सकिन्छ । प्रकृतिसँग विचरण गर्न मिल्छ । चराचुरुङ्गीको चिरबिरले मन प्रफुल्लित बनाउँछ । तालमा बोटिङ गर्न मिल्छ । तालको छेउमा टेन्टमा रात बिताएर आनन्द लिन सकिन्छ । राराबाट फर्किंदा मनोरम दृश्यबाहेक कर्णालीका स्थानीय उत्पादन, घरेलु उत्पादन टोपी, कपडा, स्याउका परिकारहरू कोसेलीको रूपमा ल्याउन सकिन्छ । कर्णालीको मौलिक उत्पादनहरू नेपालभर प्रसिद्ध छन् । तर त्यहाँका नागरिकले त्यसको प्रतिफल लिन सकेका छैनन् ।

प्रकाशित मितिः   २ असार २०८२, सोमबार ०९:२४