खानेपानीका लागि ‘डिप बोरिङ’को भर

सुर्खेत: गर्मीयाममा सधैँ वीरेन्द्रनगरमा खानेपानीको संकट पर्छ । खानेपानीको स्रोत पर्याप्त छैनन् । उपलब्ध पानीलेले माग धान्न मुश्किल पर्छ । एकारित बढ्दो जनसंख्या र अर्कोतिर मुहानबाट आउने पानी घट्दा खानेपानीको संकट बढ्दो क्रममा रहेको छ । अहिले वीरेन्द्रनगरमा भएको खानेपानीको हाहाकारको प्यास डिप बोरिङले मेटिरहेको छ ।

बोरिङ निर्माणका लागि कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले अनुदान दिने गरेका छन् । समुदायको मागका आधारमा बोरिङ निर्माणका लागि अनुदान दिने गरिएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताइन् । प्रदेश सरकार र नगरपालिकाको संयुक्त बजेटबाट अनुदान दिने गरिएको छ । प्रतिबोरिङ दशदेखि १५ लाखका दरले वितरण गर्ने गरिएको ढकालको भनाइ छ । उनले भनिन्, ‘अहिले नगरपालिकाले प्रदेश सरकारसँगको सहकार्यमा बोरिङ निर्माण गरिरहेको छ । अनुगमन गरेर मात्र अनुदान दिने गरेका छौँ, वीरेन्द्रनगरको खानेपानीको समस्या समाधान बोरिङले गरिरहेको छ ।’

नीति निर्माण गरेर बोरिङ निर्माण काम गरिरहेको नगरपालिकाका इन्जिनियर हरि केसीले बताए । उनका अनुसार भूमिगत स्रोतको पानी निकाल्न तथा उपभोग गर्न अनुमति पत्र जारी गर्ने निर्देशिका–२०७६ निर्माण गरिएको छ । उक्त निर्देशिका बमोजिम माटो परीक्षण गर्नुपर्ने, जग्गाको मञ्जुरी हुनुपर्ने, समिति गठन, वडाको सिफारिस, नापीको नक्सा अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था गरिएको छ ।

प्रदेश सरकार र नगरपालिकाले बोरिङ निर्माणका लागि मागका आधारमा अनुदान दिने गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाबाट अनुमति लिएर मात्र बोरिङ निर्माण गर्ने गरिएको छ । हालसम्म एक सय ३६ वटा बोरिङ निर्माणका लागि नगरपालिकाबाट अनुमति दिइएको नगरपालिकाका खानेपानी शाखाका इन्जिनियर मायाराम शर्माले बताए । आर्थिक वर्ष २०७७/०७८ मा ६१ वटा बोरिङ्ग निर्माणका लागि अनुमति दिइएको थियो । त्यसपछि आर्थिक वर्ष २०७८/०७९ मा तीन, आर्थिक वर्ष २०७९/०८० मा २४, आर्थिक २०८०/०८१ मा २२ र चालु आर्थिक वर्ष २०८१/०८२ मा २६ वटा बोरिङ निर्माणका लागि अनुमति प्रदान गरिएको छ । प्रदेश सरकार र नगरपालिकाले अनुदानका लागि बर्सेनि रूपमा बजेट विनियोजन गर्ने गरेका छन् ।

अनुदान पाएर बोरिङ निर्माण गर्नेक्रम बढेपनि नगरपालिकाका सबै वडामा बोरिङको सम्भावना देखिएको छैन । वीरेन्द्रनगरका केही वडामा मात्र बोरिङ निर्माण गरेर पर्याप्त पानी आउँछ । वडा नंं. २, ३, ७, ९ र १० मा बोरिङ्गमा पानी पर्याप्त आउँछ । वीरेन्द्रनगरको वडा नं. १ मा धेरै खानेपानीको संकट हुने गरेको छ । त्यहाँ सबै स्थानमा इनार तथा बोरिङ खन्दासमेत पानी आउँदैन ।

वीरेन्द्रनगरको माथिल्लो क्षेत्रमा सुख्खा भएका कारण खानेपानीको संकट देखिएको हो । मुहानमा पानी घटेपछि वीरेन्द्रनगर उपत्यकामा अहिले ४८ घण्टाको फरकमा पानी वितरण गर्न थालिएको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका प्रमुख डम्मर गौतमले मुहानमा ४० प्रतिशत पानी घटेको बताए । ‘गर्मीयाम सुरु भएपछि मुहानमै पानीको स्रोत घटेको छ, ४८ घण्टापछि मात्रै धारामा पानीको पालो आउँछ,’ उनले भने, ‘खानेपानी समस्या देखिएको छ ।’

वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आइरहेको संस्थाले हाल नगरका २० हजार उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ । खडेरीमा हरेक वर्ष उपत्यकामा पानीको हाहाकार हुन्छ । मागअनुसार पानी पु¥याउन नसकेको गौतम बताउँछन् । संस्थाले हाल झुप्रा खोला, खरीखोला, बोरीखोला र उपत्यका आसपासका केही साना मुहानबाट ल्याइएको पानी वितरण गर्दै आएको छ ।

यसैबीच वीरेन्द्रनगर नगरपालिकाले ‘ड्रिम प्रोजेक्ट’ को रूपमा अगाडि सारेको भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माण प्रक्रियामा प्रवेश गरेको छ । संघीयता कार्यान्वयनपछि खानेपानीको क्षेत्रमा संघीय सरकारबाट स्थानीय तहले पाएको सबैभन्दा ठूलो लगानीबाट भेरी लिफ्टिङ खानेपानी आयोजन बन्न लागेको हो । भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माणका लागि कूल लागतको ७० प्रतिशत खर्च विश्व बैंकले बेहोर्ने छ । बाँकी ३० प्रतिशत रकम संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा लगानी गरिने छ । आयोजनाअन्तर्गत भेरी नदीबाट लिफ्ट प्रविधिमार्फत अमृतडाँडामा पानी ल्याइने छ । अमृतडाँडामा रिजर्वेशन ट्याङ्की निर्माण हुनेछ । उक्त स्थानबाट मुख्य प्रसारण लाइनमार्फत उपत्यकामा पानी वितरण गरिने छ ।

आयोजनाको पहिलो चरणमा भेरी नदीमा इन्टेक बनाउने, पानी प्रशोधन प्रणाली स्थापना गर्ने, रिजर्वेशन ट्याङ्की निर्माण, मुख्य पानी प्रसारण लाइन विस्तारलगायतका काम गरिने बताइएको छ । त्यस्तै, दोस्रो चरणमा सञ्चालन व्यवस्थापनका कामहरू अघि बढाइने छ । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको ठेक्का सम्झौता गरिएको हो ।

प्रकाशित मितिः   २ असार २०८२, सोमबार ०८:५८