बराहतालका भूमिहीनलाई पुर्जा दिने प्रक्रिया सुरु

सुर्खेत: बराहताल गाउँपालिकाले भूमिहीन सुकुम्बासीहरूलाई जग्गा धनी प्रमाणपूर्जा (लालपूर्जा) प्रदान गर्नका लागि तयारी अघि बढाएको छ । यसअघि रोकिएको कार्यलाई पुनः अघि बढाइएको हो । यसअघिको भूमि आयोग विघटनपछि नापजाँचको काम रोकिएको थियो । सरकारले पुनः भूमि समस्या समाधान आयोग गठन गरेपछि काम सुरु गरिएको हो ।
गाउँपालिका भित्र रहेका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीका लागि जग्गाको नापजाँच प्रक्रिया सुरु भएको छ । गाउँपालिकाको वडा नं. २, ४, ५ र ८ बाट एक साथ नापजाँच सुरु गरिएको हो । यसअघिको आयोगको पालामा नापजाँच भएर वडा र गाउँपालिकामा आवश्यक प्रक्रिया पूरा भएका तर तत्कालिन आयोगको विघटनपछि पुर्जा वितरण गर्न बाँकी रहेकालाई पहिलो प्राथमिकतामा राखेर काम अघि ढबाइएको छ ।
विगतका आयोग, समिति र कार्यदलका बाँकी काम सम्पन्न गर्ने सम्बन्धी कार्यविधि–२०८१ बमोजिम त्यस्ता जग्गाको पुर्जा तयारी र नापजाँचको काम एकैसाथ अघि बढाउन लागिएको बराहताल गाउँपालिकाका अध्यक्ष भिमबहादुर भण्डारीले जानकारी दिए । पालिकाले यसअघि वडा नं. ५, ४ र २ मा व्यक्तिगत र सरकारी गरी पाँच सय ७५ जग्गाधनि प्रमाणपुर्जा वितरण गरिसकेको छ । अध्यक्ष भण्डारीका अनुसार भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी पहिचान र प्रमाणीकरणको काम भइरहेको छ । प्रमाणीकरणको काम सम्पन्न भएपछि नियमानुसार जग्गाधनि प्रमाणपुर्जा वितरण गरिने छ ।
बराहतालमा भूमिहीन सुकुम्बासीको संख्या एक सय ५५, भूमिहीन दलित एक सय ७६, अव्यवस्थित बसोबासीको संख्या चार हजार पाँच सय ५५ र अधुराअपुरातर्फ साविकका तीन हजार तीन सय कित्ता रहेको गाउँपालिकाका भूमि शाखा प्रमुख रामकृष्ण गौतमले जानकारी दिए । शाखा प्रमुख गौतमका अनुसार गाउँपालिकाका वडा नं. २, ४ र ५ मा नापजाँचको काम सकिएका व्यक्तिगत र सरकारी गरी एक हजार आठ सय ८३ कित्ताको जग्गाधनी प्रमाणपुर्जा बनाउने काम सुरु गरिएको छ । जसअन्तर्गत यो चरणमा वडा नं. ५ मा नौ सय ६५, वडा नं. २ मा ७० र वडा नं. ४ मा दुई सय ६५ वटा व्यक्तिगत जग्गाधनी प्रमाणपुर्जा चालु आर्थिक वर्षभित्रैमा वितरण गरिनेछ ।
हालसम्म २३ लाख ७८ हजार पाँच सय २३ वर्गमिटर जमिनको नापजाँच सम्पन्न गरिएको छ । गाउँपालिकामा रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र प्रवद्र्धनका लागि त्यस्ता जग्गाहरूको नाजजाँच र लगत राख्ने कामलाई समेत अघि बढाईएको शाखा प्रमुख गौतमले बताए ।
नापी विभागको स्रेस्ताअनुसार साविकको लेखगाँउ, पोखरीकाँडा र तेलपानी मठ कायम भइ दर्ता स्रेस्ता कायम भएको जग्गा अन्यत्रको तुलनामा बराहताल गाउँपालिकामा कमै भएकोले नगरिकले भोगचलन गरेका जग्गामा उनीहरूकै व्यक्तिगत स्वामित्व स्थापित गराउने काम भइरहेको पालिकाका अध्यक्ष भण्डारीले बताए । उनले अबको एक÷डेढ वर्षभित्रमा बराहतालका सम्पूर्ण नागरिकलाई आ–आफ्नो जग्गाको मालिक बनाएर छोड्ने समेत उनले प्रतिबद्धता जनाए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसीले नागरिकले मैले भोगचल गरेको जग्गा मेरो भएन वा मैले व्यक्तिगत रूपमा स्वामित्व ग्रहण पाइन भन्ने अवस्थाको अन्त्य गर्नका लागि जग्गाको नापजाँचलाई अभियानकै रूपमा अघि बढाइएको बताए ।
प्रकाशित मितिः १ असार २०८२, आईतवार १०:०२
साझा बिसौनी ।