लेहडा गाउँ नै लसुन खेतीमा
सुर्खेत: वीरेन्द्रनगर नगरपालिका वडा नं. १६ लेहडाका थिमबहादुर खड्काले व्यावसायिक रूपमा लसुन खेती गरेको १५ वर्ष भयो । गाउँमा उत्पादन भएको कृषिजन्य वस्तु बिक्री गर्न बजारको समस्या छैन । यो गाउँमा अन्य कृषिजन्य वस्तुभन्दा पनि लसुन खेती राम्रो उत्पादन हुने गरेको छ । पछिल्लो केही वर्षयता थिमबहादुर लसुन खेतीतर्फ आकर्षिक भएका छन् । लसुन खेतीले उनको आर्थिक अवस्थामा समेत सुधार ल्याएको छ ।
५१ वर्षीया खड्काले लसुन खेतीबाट पर्याप्त आम्दानी गर्ने गरेको सुनाए । ‘पछिल्लो सयम लसुन राम्रो उत्पादन हुने र आम्दानी पनि राम्रै भइरहेको छ, लसुन खेतीबाट तीन लाखसम्म वार्षिक आम्दानी हुन्छ,’ खड्काले भने । गहुँबाट भन्दा लसुनबाट राम्रो आम्दानी हुने भएकाले लसुन खेतीलाई जोड दिएको उनी बताउछन् । ‘गहुँबाट ६ महिनासम्म राम्रोसँग खान नपुग्ने अवस्था हुन्थ्यो, अहिले लसुनबाट वार्षिक दुई लाखदेखि तीन÷चार लाखसम्म कमाई हुन्छ, अन्य घरखर्च पनि व्यवस्थापन गर्न सहज भएको छ ।’ लसुन सजिलै फस्टाउने र तुसारो पनि सहन सक्ने भएकाले नगदेबाली लसुन खेती राम्रो भएको खड्काले बताए ।
लसुनलाई ओसिलो हावापानी आवश्यक पर्ने भएपनि लेकदेखि बेँसीसम्म उत्पादन हुने गरेको छ । वीरेन्द्रनगर–१६ लेहडामा पछिल्ला वर्षहरूमा यहाँका किसान नगदे खेतीतर्फ आकर्षित बन्दै गएका हुन् । लेहडाका ४८ घरधुरीले अघिल्लो वर्ष १२ लाख बराबरको नगदे बाली लसुन बिक्री गरेका थिए । यस वर्ष मूल्य बढेसँगै उत्पादन पनि राम्रो भएको छ । यो वर्ष उक्त गाउँका कृषकहरूले १७ लाखसम्म आम्दानी गरे ।
सोही वडाका रुद्धदेव चपाईंले गत वर्ष नौ क्विन्टल लसुन बिक्री गरे । उक्त लसुनबाट एक लाख आम्दानी गरेका थिए । यो वर्ष पनि सोही हाराहारीमा लसुन बिक्री गरेका छन् । अघिल्लो वर्षको भन्दा मूल्य बढेकाले पनि आम्दानी राम्रै भएको उनले सुनाए । चपाई भन्छन्, ‘यहाँका एक जना किसान बराबर ३० हजारदेखि तीन लाखसम्मको लसुन बिक्री हुने गरेको छ । व्यावसायिक रूपमा लसुन खेती गर्ने किसान धेरै जना छन् । वैशाख–जेठमा मात्रै गाउँबाट आठ–दश लाखको लसुन बिक्री गर्ने गरेका छौँ ।’
नगदे खेतीका लागि आवश्यक सिँचाइको व्यवस्था गर्न सकेमा उत्पादन अझै बढ्ने उनको भनाइ छ । लसुन खेती गर्न सजिलो तथा रोग तथा किराको संक्रमण कम हुने भएकाले यसबाट राम्रो आम्दानी गर्दै आइरहेको उनले बताए । कम लगानी र मेहनतमा पनि राम्रो फाइदा हुन थालेपछि यहाँका ग्रामीण क्षेत्रमा नगदे खेतीप्रति किसानको आकर्षण बढेको स्थानीय किसानहरू बताउँछन् ।
वडालाई आर्थिक रूपमा समृद्ध बनाउन वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १६ को सिँगो गाउँ नै लसुन खेतीमा लागिपरेको छ । २०७० सालभन्दा पहिले थोरै मात्रामा किसानले लसुन खेती गर्ने गरेका थिए । तर २०७२ सालदेखि व्यावसायिक रूपमा वडाका किसानले लसुन खेती गर्न थालेपछि भने हाल वडाको सिँगो गाउँ नै लसुन खेतीमा आवद्ध भएको छ । अहिले वडामा व्यावसायिक रूपमा किसानले लसुन खेती गर्न थालेको वडा अध्यक्ष डण्डबहादुर विश्वकर्माले बताए । २०७० सालसम्म किसानले उत्पादन गरेका लसुनलगायत वडामा उत्पादन हुने तरकारी डोकोमा बोकेर करिब एक दिन हिँडेर वीरेन्द्रनगर लगेर बेच्नु पर्ने बाध्यता किसानलाई थियो । विस्तारै वडा सडक सञ्जालमा जोडिएपछि भने २०७६ सालबाट वडाबाटै किसानले उत्पादन गरेको लसुनलगायत अन्य उत्पादित तरकारी गाडीमा वीरेन्द्रनगरसम्म जाने गरेको छ ।
वडाका प्रत्येक किसानले एक सिजनमा कम्तीमा १३ क्विन्टल लसुन बिक्री गर्ने गरेका छन् । उत्पादन भने त्यो भन्दा बढी गर्ने गरेका छन् । बाँकी लसुन बिउको लागि राख्ने गरिएको छ । उत्पादित लसुन प्रतिकिलो एक सयदेखि एक सय दश रूपैयाँ सम्ममा गाउँबाटै बिक्री हुँदै आएको कृषकहरूले बताएका छन् । हरेक सिजनमा किसानले लसुन बिक्री गरेर एक लाखदेखि तीन लाखसम्म आम्दानी गर्ने गरेका छन् । लसुन खेतीको उत्पादन बढ्न थालेपछि वडाले सिँचाइमा जोड दिएको छ । सिँचाइको अभाव नहोस् भनेर सिँचाइमा जोड दिइएको वडाअध्यक्ष विश्वकर्माले बताए । वडामा जतिसुकै लसुन उत्पादन भएपनि बजारको समस्या नरहेको वडा अध्यक्ष विश्वकर्माले जानकारी दिएका छन् । यहाँ उत्पादित लसुन कर्णालीका दश जिल्ला, नेपालगञ्ज र काठमाण्डौंसम्म पुग्ने गरेको छ । बिउँ लसुनको माग पनि बढिरहेको छ ।





रजनी याेगी ।