विमानस्थलको अन्योल

केही वर्षयता सुर्खेतमा प्रादेशिक विमानस्थल निर्माणको विषय सरकारको हरेकजसो नीति तथा कार्यक्रम र बजेटमा समेत छुट्दैन । नीति तथा कार्यक्रम र बजेटमा आइरहने यो आयोजनाले अहिलेसम्म पूर्णता पाउन भने सकेको छैन । यद्यपि, संघीय सरकारको आगामी बजेटमा पनि प्रादेशिक विमानस्थलको विषयले स्थान पाएको छ ।संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सुर्खेतमा प्रादेशिक विमानस्थल विकास गरिने जनाइएको छ । यता कर्णाली प्रदेश सरकारले पनि सुर्खेत विमानस्थल स्तरोन्नति र विकासका लागि संघीय सरकारसँग समन्वय र पहल गर्ने योजना आफ्नो आगामी वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । तर संघीय सरकारले उल्लेख गरेको प्रादेशिक विमानस्थल वीरेन्द्रनगरस्थित विमानस्थलको कुरा हो या भेरीगंगामा प्रस्तावित विमानस्थल भन्नेमा अन्योल देखिन्छ ।

यसअघि भेरीगंगा नगरपालिकाको रामघाटमा प्रादेशिक प्रस्तावित विमानस्थलको अध्ययन भएको थियो । विमानस्थल निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन तथा वातावरणीय प्रभाव मूल्यांकन (इआईए) पनि गरिएको छ । तर, यसको काम अघि बढ्न सकेको छैन । हरेक वर्षजस्तो सुर्खेतमा प्रादेशिक वमानस्थल निर्माणको विषयले चर्चा पाइरहेको हुन्छ । वीरेन्द्रनगरमा रहेको सुर्खेत विमानस्थल विस्तार गरेर प्रादेशिक रूपमा सञ्चालन गर्ने वा प्रस्तावित भेरीगंगामा विमानस्थल बनाउने भन्ने विषय पेचिलो बन्दै गएको छ । कर्णाली प्रदेश सरकार भने सुर्खेत विमानस्थललाई विस्तार गरेर प्रादेशिक रूपमा सञ्चालन गर्ने योजनामा छ । तर संघीय सरकारले भेरीगंगाको विमानस्थललाई आफ्नो योजनामा समावेश गर्दै आएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म पनि प्रादेशिक विमानस्थल बनेको छैन । विमानस्थल विकासको विषयमा राजनीतिकरण हुँदा यो आयोजनालले पूर्णता पाउन नसकेको हो ।

कर्णालीको भरपर्दो एकमात्र सुर्खेत विमानस्थल हो । हाल सुर्खेत विमानस्थलमा बुद्ध एअर र श्री एअरका ७२ र ८० सिटका जहाजले दैनिक तीन उडान गर्दै आएका छन् । यहीँबाट साना जहाजले कर्णालीका हिमाली जिल्लामा सामान ढुवानीको काम पनि गर्छन् । प्रदेशको राजधानी बनेपछि सुर्खेत विमानस्थलमा यात्रुको चाप बढेको छ । उडान पनि थपिएको छ । तर विमानस्थलको धावनमार्ग पर्याप्त छैन । ७२ सिट क्षमताको जहाज अवतरण र उडानका लागि एक हजार पाँच सय मिटर लामो धावनमार्ग अनिवार्य मानिन्छ । अहिलेको धावनमार्ग एक हजार दुई सय ५५ मिटर मात्र छ । अन्य उपकरण, टर्मिनल भवन, प्रतिक्षालय लगायतका संरचना विस्तार पनि आवश्यक रहेको बताइन्छ । विमानस्थल विस्तार र स्तरोन्नतिको चर्चा विगतदेखि चल्दै आएपनि अघि बढ्न सकेको छैन । त्यसमाथि सुर्खेत विमानस्थल विस्तार र स्तरोन्नति गर्ने वा सुर्खेतकै भेरीगंगामा प्रादेशिक विमानस्थल निर्माण अघि बढाउने भन्ने अन्योलता देखिएको छ ।

प्रकाशित मितिः   ३० जेष्ठ २०८२, शुक्रबार १२:२९