फोहोर व्यवस्थापनमा चुनौती

नगरपालिकाको गैरजिम्मेवारीपन, डम्पिङ साइट क्षेत्रका नागरिक आक्रोशित

सुर्खेत: वीरेन्द्रनगरको फोहोर तीन दिनदेखि थन्किएको छ । वीरेन्द्रनगर नगरपालिकाले बजारबाट उठाएको फोहोर जथाभावी फाल्ने गरेको भन्दै प्रभावित क्षेत्रका नागरिकले फोहोर लिने बाटो नै बन्द गरिदिएपछि तीनदिनदेखि फोहोर थन्किएको हो ।

फोहोरको उचित व्यवस्थापन नभएको भन्दै वीरेन्द्रनगर–१ का बासिन्दाले विरोध जनाएका छन् । नगरले फोहोर व्यवस्थापनमा लापरबाही गरेपछि उनीहरूले आइतवार फोहोर लिएर गएका गाडीबीच बाटोमै रोकेका थिए । मंगलवारसम्म पनि गाडी जान दिएका छैनन् । जहाँ त्यही फोहोर फाल्दा दुर्गन्ध गाउँसम्म आएको र फोहोरमैला व्यवस्थापनमा वीरेन्द्रनगर नगरपालिकाले बेवास्ता गरेको उनीहरूको गुनासो छ ।

वीरेन्द्रनगर नगरपालिकाले वडा नं. १ स्थित तारेभिर नजिकै फोहोर फाल्दै आएको छ । अधिकांश फोहोर त्यहाँ नपुग्दै बाटोमै फाल्ने गरिएको भेटिएको हो । फोहोर व्यवस्थापनमा नगरपालिका बेखबर बनेको स्थानीयको आरोप छ । अहिले संघर्ष समिति नै बनाएर प्रभावित क्षेत्रका नागरिक आन्दोलित भएका छन् । फोहोरमैला व्यवस्थापनमा वीरेन्द्रनगरले बेवास्ता गर्दा आन्दोलन नै गर्नुपरेको ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्र संघर्ष समितिका संयोजक बलभद्र पुरीले बताए । उनका अनुसार नगरपालिकाले यसभन्दा अघि गरिएको सम्झौता कार्यान्वयन नगर्दासम्म आन्दोलन जारी रहन्छ । वीरेन्द्रनगर–१ स्थित सिर्जना टोल र गंगटेखोलालगायतका स्थानमा फोहोरको थुप्रो लागेको छ । नगर क्षेत्रबाट उठाएको फोहोरलाई बस्ती नजिकैका सडक किनारा र खोला खाप्सामा फाल्ने गरिएको हो । बस्ती र सडकमै फोहोरको डंगुर थुप्रिँदा वडा नं. १ को माथिल्लो क्षेत्र प्रभावित बनेको छ ।

सोही ठाउँका गणेश गुरुङले सडक छेउछाउमा फोहोरको थुप्रो लागेको र त्यसबाट फैलिएको दुर्गन्धले हिँड्नसमेत समस्या भइरहेको बताए । पानीका मुहान दुर्गन्धित बनेको, फोहोरले गर्दा गाईवस्तुले समेत जंगलको घाँस खान छोडेको तथा महामारी फैलने सम्भावना बढेको उनको भनाइ छ । उनले भने, ‘सडक छेउछाउमा फोहोर फाल्दै जान्छन्, नगरपालिकाले निगरानी गर्दैन, हामीलाई निकै सास्ती भएको छ ।’ उनले त्यसरी थुपारिएको फोहोर सडकभरी हुने गरेको जनाए ।

फोहोर फाल्नुपर्ने स्थानमा नभइ जंगलभर थुपार्ने गरिएपछि स्थानीय आक्रोशित भएका छन् । ल्याण्डफिल्ड साइट निर्माण भइरहेको नजिकै फोहोर फाल्नुपर्ने भएपनि जथाभावी फाल्दा वन क्षेत्र पनि दुर्गन्धित बनेको छ । घाँस–दाउरा गर्न र गाईबस्तु चराउन समेत नमिल्ने गरी दुर्गन्ध फैलिएको स्थानीय खगिसरा गिरीले बताइन् । फोहोर कृष्ण सामुदायिक वन क्षेत्रमा फाल्ने गरिएको छ । कुहिने, नकुहिने फोहोर नछुट्टयाएरै जथाभावी फाल्ने गरिएको हो । सामुदायिक वन क्षेत्रमा जताततै फोहार मात्र देखिने गरेको छ । फोहोरको उचित व्यवस्थापन नहुँदा बोट–बिरुवाहरू विनास हुनुका साथै जंगली जनावरसमेत विस्थापित भएको उनी बताउँछिन् ।

फोहोर संकलनमा भएको सम्झौता कार्यान्वयनमा नगरपालिका चुकेको संघर्ष समितिको निश्कर्ष छ । नगरपालिकाले निर्माण गरेको ल्याण्डफिल्ड साइट क्षेत्र पनि डम्पिङ्ग साइड मात्रै भएको संघर्ष समितिका संयोजक पुरीले बताए । ल्याण्डफिल्ड साइटसम्म जाने पहुँच मार्गसमेत राम्रो नहुँदा गाडीहरू बाटोमै रोकेर फोहोर फाल्ने गरेको पाइएको छ । त्यहाँसम्म पुग्नलाई भरपर्दो सडक छैन । नगरपालिकाले सडक छेउछाउमा जताततै फालिएको फोहोरलाई तत्काल व्यवस्थापन गरी दीर्घकालीन समाधानतर्फ लाग्न स्थानीयले माग गरेका छन् । बाटोमा फोहोर देखिन थालेपछि नगरपालिकालाई पटक–पटक खबरदारी गरे पनि सुनुवाइ नभएको पुरीले जानकारी दिए । उनका अनुसार फोहोर व्यवस्थित रूपमा फाल्नुपर्ने, वडा नं. १ को फोहोर उठाएको शुल्क लिन नहुने र नगरपालिकाले सम्झौता गरेबमोजिम कार्यान्वयन गर्नुपर्ने माग गरिएको बताए ।

त्यस्तै, फोहोर व्यवस्थापन गर्ने स्थानसम्मको बाटो कालोपत्रे हुनुपर्ने, गंगटे खोलामा पुल बनाउनुपर्ने, फोहोर तोकिएको ठाउँमा नै बिसर्जन गर्नुपर्ने लगायतका माग संघर्ष समितिले नगरपालिकासँग राखेका छन् । नगरपालिकाले गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने माग पटक–पटक अघि सारिएको वडा नं. १ का वडा अध्यक्ष दिनेश खत्रीले बताए । उनका अनुसार फोहोर व्यवस्थापन नहुँदा वडा नं. १ प्रभावित बनेको छ ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले फोहोर व्यवस्थापनमा आफूहरू गम्भीर रहेको बताइन् । अहिले देखिएको समस्याका बारेमा भने आफू जानकार नरहेको उनको भनाइ छ । उनले भनिन्, ‘फोहोर कहाँ अनि किन रोकियो हामीलाई थाहा छैन, यस विषयमा प्रशासनलाई जानकारी गराउँछु । उहाँहरू आधिकारिक रूपमा यहाँ आउनुभएको छैन ।’ दिशाजन्य फोहोरको उचित व्यवस्थापन भइरहेको र वातावरण दूषित भएको कुरालाई ध्यानमा राखी प्लाष्टिकजन्य फोहोर जलाउन बन्देज गरिएको नगरपालिकाको दाबी छ । वीन्द्रनगरले दिशाजन्य लेदो प्रशोधनका लागि ल्याण्डफिल साइटमा फाल्ने गरेको जनाएको छ । पहिलेको भन्दा फोहोर व्यवस्थापन प्रभावकारी बन्दै गएको नगरपालिकाको जिकिर छ ।

 

प्रकाशित मितिः   २१ जेष्ठ २०८२, बुधबार ११:१५