आलुले फेरिदिएको गाउँ

सुर्खेत: खड्क केसीले गएको सिजनमा दुई लाख रूपैयाँभन्दा बढीको आलु बेचे । यो सिजनमा उत्पादन बढ्ने उनले आँकलन छ । बारीमा आलुको उत्पादन बढ्ने भएपछि आम्दानी पनि बढ्ने हुँदा उनी हर्षित छन् ।

गुराँस गाउँपालिका वडा नं. ५ बडाकाँडाका कृषक हुन्, खड्क । ५४ वर्षीय उनले भने, ‘गएको सिजनमा सय क्विन्टल आलु बचेको थिएँ । यस वर्ष करिब डेढ सय क्विन्टल उत्पादन हुने देखिएको छ ।’ सिजन पनि राम्रो भएकाले उत्पादन बढ्ने उनले जानकारी दिए । केसी करिब १६ रोपनी पाखो खेतबारीमा आलु रोप्छन् । एक वर्षमा एउटै सिजन आलु उत्पादन हुन्छ । उनका अनुसार यहाँका किसानका लागि मुख्य सिजन बर्खे हो । उनले फागुन २५ मा आलु रोपिसकेको हुन्छन् । भदौ अन्त्यतिर खनिसक्छन् । त्यसपछि असोजमा फेरि आलु र बन्दागोभी लगाउँछन् । गाउँमा आलुबाट राम्रो आम्दानी गरेको देखेपछि आलु खेतीमै लागेको उनले सुनाए । मेहनत गर्दा आफ्नै ठाउँमा पनि राम्रो कमाइ गर्न सकिन्छ भन्ने थाहा हुँदै गएपछि व्यावसायिक रूपमा आलु खेती गरिरहेको उनले बताए । २०५४ सालदेखि केसीले आलु खेती सुरु गरेका हुन् । ‘आलुको व्यावसायिक खेती हुन थालेपछि यहाँका मानिसको जीवनमा ठूलो परिवर्तन आएको छ,’ केसीले भने, ‘यहाँ त सबै घरबाट भारत र अरू देशमा कमाउन जाने चलन थियो । आजकाल लगभग रोकिएको छ ।’

बडाकाँडाकै ४१ वर्षीय पूर्ण केसीले पनि गएको सिजनमा ५० क्विन्टल आलु फलाए । उनले प्रतिक्विन्टल ३३ सयदेखि ३५ सय रूपैयाँका दरले बेचेर झन्डै साढे दुई लाख रूपैयाँ लिए । आलुखेतीबाट राम्रो आम्दानी हुन थालेपछि केसी तरकारी खेतीमै लागेका हुन् । उनी खेतीबाट सन्तुष्ट देखिन्छन् । ‘आलु खेतीमा लागेपछि हाम्रो जीवनमा धेरै परिवर्तन भएको छ । आम्दानी राम्रो छ । हामी किसानहरू खुसी छौँ,’ केसीले भने ।

उनी २२ रोपनी जमिनमा आलुखेती गर्छन् । परिवारको मुख्य पेसा पनि यही हो । उनको गाउँमा सबै किसान आलुखेतीमा छन् । भन्छन्, ‘यहाँ त गाउँभरि आलुखेती छ । सबै मिलेर खेती गरेपछि व्यापारीहरू यही आउँदा रहेछन् ।’ उनले काउली, बन्दा र आलुबाट राम्रो आम्दानी गरिरहेका छन् । ‘कहिलेकाहीँ बिक्री नभएर सित्तैमा बाँड्नुप¥यो,’ उनले भने, ‘आलु रोप्न थालेपछि राम्रो भएको छ । बिक्री नहुने समस्या छैन ।’

अर्का कृषक छन् ५५ वर्षीय देवी चन्द । उनको नौ जनाको परिवार आलुखेतीबाटै चलेको छ । यस वर्ष सबै खर्च कटाएर साढे दुई लाख रूपैयाँ बचत भएको उनले सुनाइन् । ‘हाम्रो गाउँमा एक्लै तीन सय क्विन्टलसम्म आलु फलाउने किसान छन्,’ उनले भनिन् ।

गुराँस गाउँपालिका वडा नं. ५ का रानीमत्ता, कान्छीबजार, लहरा र नयाँ खर्क लगायत गाउँमा सबैजसो किसान आलुखेती गर्छन् । वडा अध्यक्ष भूपेन्द्र चन्दका अनुसार यो वडाका बासिन्दाको आम्दानीको मुख्य स्रोत आलुखेती नै हो । वडा नं. ५ आलुखेतीका लागि प्रसिद्ध भएको छ । यहाँ आलुका साथै काउली, बन्दागोभी, भाजी, स्याउ, किवी, ओखरलगायत खेती हुने गरेको छ । यहाँको धेरैजसो आलु सुर्खेत, दैलेख, बाँके, बर्दिया केही नेपालगञ्ज, बुटवल, नारायणगढ, पोखरा, काठमाडौं पनि पुग्छ ।

गाउँमा बाटो पुगेपछि यहाँका किसान व्यावसायिक रूपमा आलुखेतीमा लागेका हुन् । गाउँका सबै किसान आलुखेतीमा लागेपछि बिक्री सहज भएको छ । किसानहरू बजार पुग्नु पर्दैन । व्यापारीहरू गाउँमै आउँछन् र थोकमा लैजान्छन् । किसानहरूका अनुसार व्यापारीलाई एकसाथ थोकमा बेच्दा राम्रो लाभ हुने गरेको छ । चिस्यान केन्द्र (कोल्ड स्टोर) मा राख्न जानु पनि पर्दैन । बिग्रिने डर पनि हुँदैन । वीरेन्द्रनगरका सब्जिमण्डीका व्यापारी जयबहादुर महताराका अनुसार चिसो हावापानीमा उत्पादन भएको आलु स्वादिलो हुन्छ । यस्तो आलुबाट धेरै किसिमका परिकार बनाउन सकिन्छ । ‘नेपालगञ्ज, बुटवल, नारायणगढ, पोखरा, काठमाडौंका व्यापारीले गुराँसेको आलु चाहियो भन्दै फोन गर्छन्,’ उनले भने, ‘हामी गुराँसका किसानको आलु उठाउँछौँ र थोरै मार्जिन (नाफा) राखरेर अरू व्यापारीलाई दिन्छौँ ।’

वडाध्यक्ष भूपेन्द्र चन्दका अनुसार यस वडामा मात्रै एक हजारभन्दा बढी घरपरिवार आलुखेती गर्छन् । उनका अनुसार वडामा एक सिजन भएपनि आलुखेती नगर्ने कुनै किसान छैनन् । एक सिजनमा एक परिवारले आलुबाट कम्तीमा एक लाख रूपैयाँ आम्दानी गर्छन् । यहाँका किसानले आलुमा रासायनिक मल प्रयोग नगर्ने उनले बताए । आफैंले बनाएको प्राङ्गारिक मल मात्र प्रयोग गर्छन् । यसकारण पनि यहाँको आलुको माग धेरै भएको उनी बताउँछन् ।

गुराँस गाउँपालिका कृषि शाखा प्रमुख निर्मल भुसालका अनुसार गएको एक वर्षमा वडा नं. ५ का किसानले कम्तीमा १५ सय ४४ मेट्रिक टन आलु बेचे । यसबाट नौ करोड २० लाख रूपैयाँ भित्रियो । यहाँका किसानले ‘आलु बाली विकास कार्यक्रम, खुमलटार’ ले सिफारिस गरेको डेजिरे जातको आलु रोप्ने गरेका छन् । भुसालले भने, ‘चिसो हावा पानीमा फलेको गुराँसेको आलु स्वादिष्ट हुने भएकाले माग धेरै छ । गाउँपालिकाले किसानका लागि तालीम दिने र उपयुक्त बिउ उपलब्ध गराउने गरेको छ ।

प्रकाशित मितिः   २० जेष्ठ २०८२, मंगलवार ०८:१३