छिञ्चुमा बौद्धको वार्षिक समीक्षा गोष्ठि
सुर्खेत: बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एकदिने वार्षिक समीक्षा गोष्ठी गरेको छ । शनिवार छिञ्चुमा गोष्ठि गरिएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष सिंहबहादुर गुरुङले समीक्षा गोष्ठीबाट रणनीतिक कार्ययोजना निर्माण गरेर त्यसैअनुरूप कार्य गर्न सके प्रतिफल प्राप्त गर्न सकिने बताए । यस्तै संस्थाका सचिव पासाङ महाताराले समीक्षा गोष्ठीले भाखा नाघेको ऋण तथा कर्जा असुली व्यवस्थापनमा लक्ष्य निर्धारण गर्न थप टेवा पुगेको बताउँदै छलफल गरिएका बुँदाहरूलाई प्रत्यक्ष व्यवहारमा लागू गर्न कार्यक्रमका सहभागिहरूलाई आग्रह गरे ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल केसीले कार्यक्रमको बारेमा प्रकाश पार्नुका साथै प्रस्तुतिकरणमार्फत वर्तमान अवस्थामा सहकारी ऐन तथा नीति नियमको महत्वको विषयमा सहभागीलाई जानकारी गराएका थिए । मुख्य प्रबन्धक धनबहादुर शाहीले शाखामा देखिएका समस्याहरूका साथै बचत र ऋणमा परिवर्तन भएका व्याजदरको विषयमा जानकारी दिएका थिए ।
यसैगरी कार्यक्रममा बौद्ध ग्रामीण सहकारी संस्थाको छिञ्चु, मैनतडा, बोटेचौर, राकम, खलंगा तथा थलह सेवा केन्द्रका प्रतिनिधिहरूले आफ्नो कार्यक्षेत्रमा देखिएका समस्या, भाखा नाघेको ऋण असुलीमा गरिएका प्रयासहरूलगायतका विषयमा जानकारी गराएका थिए ।
प्रकाशित मितिः १९ जेष्ठ २०८२, सोमबार ०६:०२
साझा बिसौनी ।