सडक स्तरोन्नति

सुर्खेतलाई बर्दियासँग जोड्ने मुलपानी–रानीघाट–तेलपानी–भुरीगाउँ सडक स्तरोन्नति गरिने भएको छ । तत्कालका लागि पहिलो खण्ड अन्तर्गत सात किलोमिटर सडक स्तरोन्नति गर्न लागिएको हो । आइतवार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले स्तरोन्नतिको काम शिलान्यास गरेका छन् । नागरिकले सदियौँदेखि प्रयोग गर्दै आएको तेलपानी–भुरीगाउँ सडकलाई पूर्णता दिन सके कर्णालीको समृद्धिमा नयाँपन थपिने अपेक्षा गरिएको छ । यो सडक बनाउन पूर्वाधार निर्देशनालय सुर्खेतले पहिलो खण्डको स्तरोन्नतिसहित कालोपत्रे गर्न ठेक्का प्रक्रिया अगाडि बढाएको थियो । निर्देशनालयले ३२ करोड रूपैयाँ स्रोत सुनिश्चित गरी पहिलोखण्डको स्तरोन्नतिको कामका लागि ठेक्का आह्वान गरेको थियो । कुल दश किलोमिटर सडकमध्ये सात किलोमिटर सडकको स्तरोन्नतिसँगै कालोपत्रे गर्न बहुवर्षीय ठेक्काअन्तर्गत निर्माणको काम थालनी भएको हो ।

आगामी ३० पुस २०८३ मा सम्पन्न गर्ने कार्यदेशसहित १८ करोड ५२ लाख २३ हजार आठ सय ५१ रूपैयाँ (भ्याटसहित) लागतमा पूर्वाधार निर्देशनालय र निर्माण व्यवसायी बसना निर्माण सेवा स्युना कालीकोटबीच सम्झौता भइ काम अघि बढेको हो । मुलपानी–रानीघाट सडकको दूरी दश किलोमिटरमध्ये मुलपानीदेखि फलाटेसम्मको तीन किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ । आर्थिक वर्ष २०७६÷०७७ यता कर्णाली प्रदेश सरकारले यो सडकलाई प्राथमिकतामा राख्दै आएको छ । तर, प्रगति भने निराशाजनक छ । आर्थिक वर्ष २०७६÷०७७ मा दुई खण्डमा विभाजन गरेर सडक निर्माणको ठेक्का भएको थियो । पहिलो खण्डअन्तर्गत वीरेन्द्रनगर उपत्यकाको मुलपानीबाट रानीघाटसम्म दश किलोमिटर सडक स्तरोन्नतिका लागि ९ पुस २०७६ मा पूर्वाधार निर्देशनालय र श्याम एन्ड शंकर कन्स्ट्रक्सनबीच १० करोड २६ लाख ६१ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको थियो । ८ फागुन २०७८ सम्म निर्माण सम्पन्न गर्नुपर्ने समयावधि तोकिएको भए पनि सडकले अझै पूर्णता पाउन सकेको छैन । यही खण्डमध्येको केही उपखण्ड स्तरोन्नति गर्न २०७९ माघमा अर्को निर्माण कम्पनीसँग दुई करोड ७५ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको थियो । १३ मंसिर २०८० सम्ममा काम सम्पन्न गर्नेगरी सम्झौता भएको भएपनि हालसम्म सात सय मिटर मात्र कालोपत्रे भएको छ ।

कर्णाली प्रदेश सरकारले अन्तर प्रदेश सडक निर्माणलाई प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर अन्तर प्रदेश सडक निर्माणलाई निरन्तरता दिएको हो । प्रदेशमा चार स्थानमा अन्तर प्रदेश सडक निर्माणका काम भइरहेका छन् । उक्त सडक निर्माणको कामलाई निरन्तरता दिन प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । अन्तर प्रदेश जोड्ने सडकलाई सरकारले प्राथमिकतामा राखेको छ ।

प्रकाशित मितिः   १३ जेष्ठ २०८२, मंगलवार १६:४७