फैलिँदो औलो
कर्णालीमा बर्सेनि औलोको जोखिम बढिरहेको छ । यहाँका हिमाली जिल्लाहरू पनि औलोको जोखिममा छन् । विगतमा औलोको समस्या नरहेको यहाँको हिमाली जिल्ला हुम्ला पनि अहिले औलोको उच्च जोखिममा परेको छ । यातायात सेवासँग जोडिदा लामखुट्टेको पहुँच विस्तारसँगै बढ्दो तापक्रमका कारण कर्णालीको हिमाली जिल्ला हुम्ला पनि औलोको उच्च जोमिखमा परेको हो । कर्णाली प्रदेशका दश जिल्लामध्ये हुम्ला औलो रोगको उच्च जोखिममा रहेको छ । हुम्लाको ताँजाकोट गाउँपालिकामा दुई जना औलोेका र एक जना कालाजारका बिरामी भेटिएका छन् । औलोका दुई जनामध्ये २ नम्बर वडाका एक जना बाहिरबाटै सरेर आएका (आयातित) र वडा नम्बर ५ का एक जनाको त्यही लामखुट्टेले टोक्दा रोग देखा परेको छ भने सोही गाउँपालिकामा वडा नम्बर २ मा एक जना कालाजारका बिरामी भेटिएका हुन् ।
जिल्लाको तल्लो क्षेत्रमा गर्मी हुने भएका कारण औलो र कालाजारका रोगहरू फैलिरहेको हुन्छ । विगतका दिनहरूमा औलो रोगकै कारण केहीको ज्यान जाने गर्दथ्यो । पछिल्लो समय यसको नियन्त्रण भइसकेको अवस्थामा ताँजाकोटमा नियन्त्रण हुन नसकेको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ । यस वर्ष कर्णाली प्रदेशको अन्य जिल्लाहरूमा आयातित रोग देखिएको भए पनि हुम्लाको ताँजाकोटमा मात्रै स्थानीय स्तरमै देखा परेको यो रोग ताँजाकोटमा मात्रै भेटिएका हो । स्वास्थ्य निर्देशनालयका अनुसार हुम्लासँगै कालीकोट, दैलेख र सुर्खेत औलोको उच्च जोखिममा छन् । चालु आर्थिक वर्षमा कर्णाली प्रदेशभरीमा ३८ जना औलोका बिरामी पहिचान भएका छन् । चालु आर्थिक वर्षमा कर्णाली प्रदेशका सुर्खेतमा २९ जना, दैलेखमा चार जना, कालीकोटमा तीन जना र हुम्लामा दुई जना औलो रोगका बिरामी फेला परेका हुन् । जसमध्ये ३७ जना आयातित औलो रोगमा बिरामी भेटिएका छन् । एक जना स्थानीय नागरिकमा पनि औलोको संक्रमण देखिएको छ ।
हुम्लाको ताँजाकोट गाउँपालिका, दैलेखको आठबिस नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, दुल्लु नगरपालिका, ठाटीकाँध गाउँपालिका, कालीकोटको खाँडाचक्र नगरपालिका, सुर्खेतका बराहताल गाउँपालिका, वीरेन्द्रनगर नगरपालिका, चौकुने गाउँपालिका, गुर्भाकोट नगरपालिका, लेकवेशी नगरपालिका, पञ्चपुरी नगरपालिका र सिम्ता गाउँपालिकामा औलो रोगका बिरामी फेला गरेका छन् । यस्तै यहाँका ७९ स्थानीय तहका सात सय १८ वडामध्ये तीन वटा वडा औलो रोगको उच्च जोखिम छन् । सातवटा वडा मध्यम जोखिम रहेको, चार सय १० वटा वडा निम्न जोखिम रहेको र दुई सय ९८ वडामा जोखिम नरहेको जनाएको छ । फैलिँदो औलो नियन्त्रणका लागि विशेष ध्यान दिनुपर्ने देखिएको छ । यसका लागि तीनै तहका सरकारले कार्ययोजना बनाएर कार्यान्वयन गर्न आवश्यक छ ।
प्रकाशित मितिः ९ जेष्ठ २०८२, शुक्रबार १२:१०
सम्पादकीय ।