तरकारीमा विषादी

पछिल्लो समय वीरेन्द्रनगरमा भित्रने तरकारीमा भएको विषादी परीक्षणलाई तिव्रता दिइएको छ । वीरेन्द्रनगरमा व्यवसायीहरूले भिœयाइरहेको तरकारीमा अत्यधिक विषादी देखिन थालेपछि परीक्षणको दायरा बढाइएको हो । कृषि थोक बजारमा स्थापना भएको केन्द्रीय कृषि प्रयोगशाला अन्तरगतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले हालसम्म गरेको नमूना परीक्षणमध्ये नौ वटा तरकारीहरूमा अत्यधिक विषादी प्रयोग भएको भन्दै नष्ट गरिएको छ ।

मंगलवार मात्रै दाङबाट ल्याइएको बोडीमा विषादी भेटिएपछि नष्ट गरिएको छ । ६४ दशमलव ६२ प्रतिशत अर्गानोफस्फेट नामक विषादी देखिएको हो । यस्तै गत वैशाख ८ गते सल्यानबाट ल्याइएको नौ क्विन्टल काउली नष्ट गरिएको थियो । परीक्षण गर्दा काउलीमा ९९ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको थियो । वैशाख २४ गते सुर्खेतकै झुप्राबाट ल्याइएको काँक्रा पनि नष्ट गरिएको थियो । काँक्रामा ५३ प्रतिशत विषादी भेटिएको थियो । सोही मितिमा दाङबाट ल्याइएको एक सय ७५ केजी गोलभेडा नष्ट गरिएको थियो । गोलभेडामा ६२ प्रतिशत विषादी भेटिएको थियो । त्यसैगरी वैशाख ३० गते दैलेखको गुराँसबाट ल्याइएको फर्सीमा खान नमिल्ने विषादी शत–प्रतिशत भेटिपछि नष्ट गरिएको थियो । फर्सीमा ९९ दशमलव २५ प्रतिशत विषादी भेटिएको थियो । परीक्षण केन्द्रमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गर्ने गरिएको छ । यसरी लगातार विषादीयुक्त तरकारी वीरेन्द्रनगर भित्रिने गरेको पाइएको छ । त्यसैले पछिल्लो समय परीक्षणमा पनि तीव्रता दिइएको छ । २०८१ कार्तिकमा स्थापना भएको एकाइले हालसम्म एक हजार पाँच सय चार वटा नमूना परीक्षण गरिसकेको छ । जसमध्ये विषादी देखिएर नष्ट गर्नुपर्ने १२ वटा रहेका छन् । नौ वटा नमूनाहरू केही समय तरकारी क्वारेन्टाइनमा राखेर पुनः प्रयोग गर्न सकिने सिफारिस गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाको कृषि शाखा र एकाइले संयुक्त बजार अनुगमन गरेर तरकारीमा विषादी भए–नभएको परीक्षणलाई तीव्रता दिन थालेका छन् ।

कुनै पनि तरकारीमा ३५ प्रतिशतभन्दा कम विषादी भेटिएमा उपभोग गर्न मिल्ने र ३५ देखि ४५ प्रतिशत विषादी भेटिएमा केही दिन तरकारी क्वारेन्टाइनमा राखेर पुनः उपभोग गर्न मिल्छ । एकाइले नष्ट गर्न सिफारिस गरेका तरकारीहरूमा ४५ प्रतिशतभन्दा बढी नै विषादी भेटिने गरेको छ । ४५ प्रतिशत माथि विषादी भएको पुष्टि भएमा तत्कालै नष्ट गर्नुपर्ने हुन्छ । रासायनिक विषादीले जनस्वास्थ्यमा गम्भीर असर पु¥याउने भएकाले यसको प्रयोग न्यूनीकरण अभियान नै थाले पनि उल्लेखनिय उपलव्धि हासिल गर्न नसकिएको जनाइएको छ । काक्रा, भिण्डी, बोडी, गोलभेडा, फर्सी, धनिया, तितेकरेला, लौका सिमी र आलुको नमूना परीक्षण गर्दा बढी विषादी देखिएको छ ।

प्रकाशित मितिः   ८ जेष्ठ २०८२, बिहीबार ११:०२