हिमालतिर उक्लियो औलो

सुर्खेत: हुम्लाको ताँजाकोट गाउँपालिकामा दुई जना औलोेका र एक जना कालाजारका बिरामी भेटिएका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्लाले हरेक वर्ष जिल्लाभर औलो र कालाजारका बिरामीहरूको परीक्षण गर्ने क्रममा जिल्लाको तल्लो क्षेत्र ताँजाकोटमा दुई जना औलोेका र एक जना कालाजारका बिरामीहरू भेटिएको कार्यालयका किटजन्य रोग फोकल पर्सन रविन्द्र देवकोटाले बताए । औलोका दुई जनामध्ये २ नम्बर वडाका एक जना बाहिरबाटै सरेर आएका (आयातित) र वडा नम्बर ५ का एक जनाको त्यही लामखुट्टेले टोक्दा रोग देखा परेको छ भने सोही गाउँपालिकामा वडा नम्बर २ मा एक जना कालाजारका बिरामी भेटिएको उनले जानकारी दिए ।

केहीदिन अघिको परीक्षणमा औलो र कालाजारका तीन जना बिरामी भेटिएपछि गाउँपालिकाको सोमवारको बैठकले जेठ ७ गते बुधवारदेखि ताँजाकोट गाउँपालिका वडा नम्बर २, ३ र ४ का पुरै टोल बस्ती तथा वडा नम्बर ५ को सात्ती डोप्का क्षेत्रमा औलो तथा कालाजार रोग नियन्त्रणका लागि विषादी छर्ने निर्णय गरेको छ । गत वर्ष पनि यो गाउँपलिकामा औलो र कालाजारका बिरामीहरू भेटिएका थिए ।

जिल्लाको तल्लो क्षेत्रमा गर्मी हुने भएका कारण औलो र कालाजारका रोगहरू फैलिरहेको हुन्छ । विगतका दिनहरूमा औलो रोगकै कारण केहीको ज्यान जाने गर्दथ्यो । पछिल्लो समय यसको नियन्त्रण भइसकेको अवस्थामा ताँजाकोटमा नियन्त्रण हुन नसकेको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ । यस वर्ष कर्णाली प्रदेशको अन्य जिल्लाहरूमा आयातित रोग देखिएको भएपनि हुम्लाको ताँजाकोटमा मात्रै स्थानीयस्तरमै देखा परेको यो रोग ताँजाकोटमा मात्रै भेटिएका देवकोटाले बताए । यसको नियन्त्रणका लागि पहिले लामखुट्टे र डेँगु नियन्त्रण गर्नुपर्ने भएकाले सचेतना फैलाउनुपर्ने उनले जानकारी दिए ।

कर्णालीमा बर्सेनि औलोको जोखिम बढिरहेको छ । यहाँका हिमाली जिल्लाहरू पनि औलोको जोखिममा छन् । विगतमा औलोको समस्या नरहेको यहाँको हिमाली जिल्ला हुम्ला पनि अहिले औलोको उच्च जोखिममा परेको छ । यातायात सेवासँग जोडिँदा लामखुट्टेको पहुँच विस्तारसँगै बढ्दो तापक्रमका कारण कर्णालीको हिमाली जिल्ला हुम्ला पनि औलोको उच्च जोमिखमा परेको हो । कर्णाली प्रदेशका दश जिल्लामध्ये हुम्ला औलो रोगको उच्च जोखिममा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार हुम्लासँगै कालीकोट, दैलेख र सुर्खेत औलोको उच्च जोखिममा छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर श्यामलाल आचार्यले कर्णालीका हिमाली जिल्लाहरूमा पनि औलोको जोखिम बढिरहेको बताए । पछिल्लो समय हिमाली जिल्लासमेत औलोको उच्च जोखिममा रहेको उनको भनाइ छ । चालु आर्थिक वर्षमा कर्णाली प्रदेशभरीमा ३८ जना औलोका बिरामी पहिचान भएका छन् ।

निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा कर्णाली प्रदेशका सुर्खेतमा २९ जना, दैलेखमा चार जना, कालीकोटमा तीन जना र हुम्लामा दुई जना औलो रोगका बिरामी फेला परेका हुन् । जसमध्ये ३७ जना आयातित औलो रोगमा बिरामी भेटिएका छन् । एक जना स्थानीय नागरिकमा पनि औलोको संक्रमण देखिएको छ ।

हुम्लाको ताँजाकोट गाउँपालिका, दैलेखको आठबिस नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, दुल्लू नगरपालिका, ठाटीकाँध गाउँपालिका, कालीकोटको खाँडाचक्र नगरपालिका, सुर्खेतका बराहताल गाउँपालिका, वीरेन्द्रनगर नगरपालिका, चौकुने गाउँपालिका, गुर्भाकोट नगरपालिका, लेकवेशी नगरपालिका, पञ्चपुरी नगरपालिका र सिम्ता गाउँपालिकामा औलो रोगका बिरामी फेला गरेका छन् ।

यस्तै यहाँका ७९ स्थानीय तहका सात सय १८ वडामध्ये तीन वटा वडा औलो रोगको उच्च जोखिम छन् । सात वटा वडा मध्यम जोखिम रहेको, चार सय १० वटा वडा निम्न जोखिम रहेको र दुई सय ९८ वडामा जोखिम नरहेको निर्देशनालयले जनाएको छ । उच्च जोखिममा रहेको वडामध्ये हुम्ला ताजाकोट गाउँपालिका वडा नं. २, ३ र ४ हुन् । न्यून जोखिममा वीरेन्द्रनगर नगरपालिका वडा नं. २, गुर्भाकोट नगरपालिका वडा नं. ८, मुगु खत्याड गाउँपालिका वडा नं. ८, सोरु गाउँपालिका वडा नं. ४, ५, हुम्ला जिल्लाको अदानचुली गाउँपालिका वडा नं. ३ र ताँजाकोट गाउँपालिका वडा नं. ५ छन् ।

प्रकाशित मितिः   ८ जेष्ठ २०८२, बिहीबार ११:००