छोरीहरूका मुद्दामा मन्थन
सुर्खेत: कर्णाली प्रदेशमा पहिलो पटक छोरीहरूका मुद्दामा केन्द्रित मन्थन गर्न छोरी सम्मेलन सुरु भएको छ । ज्योति फाउन्डेसन र सामाजिक विकास मन्त्रालयको आयोजनामा शनिवारदेखि वीरेन्द्रनगरमा ‘कर्णाली छोरी सम्मेलन’ सुरु भएको हो ।
प्रदेशका सबै स्थानीय तहबाट छोरीहरूको सहभागितासहित सम्मेलन आयोजना गरिएको छ । सम्मेलनको उद्घाटन सत्रमा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले छोरीहरूलाई राजनीतिमा पनि अग्रसर हुन आग्रह गरे । चेतनाको अभावका कारण कर्णालीमा अझै पनि अन्धविश्वास कायमै रहेको र त्यसको प्रभाव छोरीहरूमा परेको भन्दै त्यसलाई बदल्न सरकार प्रतिबद्ध रहेको पनि जनाए । ‘समाजमा अन्धविश्वास छ, कुरीरित छ,’ उनले भने, ‘त्यो अझै बदलिन सकेको छैन, बदल्नैपर्छ । कर्णालीको अवस्था बदल्न सबैको सहभागिता आवश्यक हुन्छ ।’
संवैधानिक हिसाबले विभेदमुक्त भनिए पनि व्यवहारमा अझै विभेदका आयम कायमै रहेको उनको भनाइ छ । ‘व्यवहारमा कसैले कसैलाई हिनताबोध नहुने गरी समाज निर्माण गर्ने कुरामा सबैले ध्यान दिनुपर्नेछ,’ कँडेलले भने, ‘संविधानमा धेरै कुरा लेखिएको छ, त्यो लेखाउन ७० वर्ष लाग्यो । तर व्यवहारमा अझै लागू हुन सकिरहेको अवस्था छैन ।’ कार्यक्रममा कर्णालीका सभामुख नन्दा गुरुङले लैङ्गिक समानताको आधार निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।
छोरी भएकै कारण अवसरबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न सबै पक्षले ध्यान दिनुपर्ने उनको भनाई थियो । ‘छोरीहरूको शैक्षिक सशक्तीकरणमा जोड दिन सकियो भने उनीहरूले समाजमा आफूलाई सुरक्षित अनुभूत गर्नेछन्,’ गुरुङले भनिन्, ‘कर्णालीका छोरीहरूको अधिकार समानता र सशक्तीकरणसँगै शिक्षा, स्वास्थ्यका सवालमा सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने छ ।’ छोरीहरूको सुरक्षाका निमित्त सरकारले कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ । कर्णालीमा छोरीलाई सचेत, सबल, सक्षम तथा आत्मनिर्भर बनाउने उद्देश्यसहित सम्मेलन गरिएको ज्योति फाउन्डेसकी अध्यक्ष ज्योति कटुवालले बताइन् । ‘कर्णालीका छोरीहरूको चेतना जागृत गर्ने र स्वप्निल बन्न सिकाउने जमर्को हो,’ उनले भनिन्, ‘कर्णालीका छोरीको सशक्तीकरणका लागि यो एक गतिशील अभियान हो ।’ सम्मेलन सोमवारसम्म चल्नेछ ।
प्रकाशित मितिः २८ बैशाख २०८२, आईतवार ०५:०१
साझा बिसौनी ।