अन्तरप्रदेश ह्विलचियर बास्केटबलमा कर्णाली च्याम्पियन

सुर्खेत: अन्तरप्रदेश ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि कर्णाली प्रदेशले जितेको छ । स्पाइनल इन्जुरी संघ कोशी प्रदेशको आयोजनामा इटहरीमा भएको प्रतियोगितामा कर्णाली प्रथम भएको हो ।

कर्णालीले शनिवार फाइनलमा गण्डकी प्रदेशलाई ३४–३२ को स्कोरले हराउँदै उपाधि उचाल्न सफल भएको हो । च्याम्पियन बनेको कर्णालीले उपाधिसहित नगद ५० हजार रूपैयाँ पुरस्कार समेत पाएको कर्णाली प्रदेश पारा ओलम्पिक कमिटीका अध्यक्ष किरण सापकोटाले जानकारी दिए । उनले सातवटै प्रदेशको सहभागितामा भएको प्रतियोगिताको उपाधि जित्नु कर्णालीका लागि गौरव र ऐतिहासिक उपलब्धि भएको बताए ।

प्रतियोगितामा कर्णालीकै रमेश खत्री उत्कृष्ट खेलाडीसमेत चुनिए । फाइनल पुग्नुअघि सेमितफाइनलमा कर्णालीले कोशी प्रदेशलाई ३२–८ को फराकिलो स्कोरले पराजित गरेको थियो ।

प्रकाशित मितिः   २७ बैशाख २०८२, शनिबार १८:४६