कथा

मुआब्जा

 

 

‘तपाईंहरूको विश्वासमा परि यो जोखिममा हात हालेको छु पुरन सर, भोलि काम सफल भएन भने मेरो लाइफ त बर्बाद हुन्छ ।’

‘हत्तेरीका ! बैंक मेनेजर पनि त्यसरी आत्तिनु त ? यहाँ पर्यटनमन्त्री आफै कम्मर कसेर लागेका छन्, अनि काम कसरी असफल हुन्छ र अर्जुन सर ! मन्त्री दलबहादुर बम, उनको पीए भीम पाण्डे र हामी मिलेर यो रियल इस्टेट कम्पनी खडा गरेका हौँ । बाहिरी सारमा मन्त्री र पीए देखिन मिल्दैन त्यसकारण हामी खटेका छौँ । बैंकको माथिल्लो निकायसम्म कुरा पुगेकै त छ नि, छैन र ?’

‘कुरा पुगेकै छ, सल्लाह पनि भएकै छ, तर उनीहरूले त कमिसन मात्रै कुम्ल्याउने हुन् । मेनेजरको नाताले सहि छाप गर्ने त मैले मात्रै हो । भोलि केही परेको खण्डमा सबै मेरै थाप्लोमा पर्छ नि ।’

‘ढुक्क हुनुस् सर केही हुँदैन, किनकि यो गणतन्त्र हो । आयल निगमले तराईका जिल्ला जिल्लामा तेल भण्डार गर्ने भनी प्रतिकट्ठा ५० हजारका दरले किसानसँग किनेको जग्गा निगमलाई १० लाखका दरले बेचियो । बेहिसाब कमिसन कुम्ल्याए बाठाहरूले ।’

‘त्यो त अख्तियारमा मुद्दा परेको छ नि पुरनजी ।’

‘मुद्दा परेको थियो तामेलीमा गयो । काले काले मिलेर खाउँ भाले । निगम सत्ताको सम्धी, अख्तियार सत्ताकै भर्ती अनि भुत्रो हुन्छ कारबाही ।’
‘यो विषय पनि त्यस्तै प्रकृतिको हुनगयो । प्रतिकट्ठा आठ लाखको जग्गालाई ५० लाख मूल्याङ्कन गरि लोन स्वीकृत गरेको छ बैंकले ।’

‘अर्जुनजी त्यसो नभन्नुस् न यार । प्रतिकट्ठा हामीले १० लाख नगद दिएर किनेको लिखित कागज छँदैछ…।’

‘किसानले जग्गा बेच्नै मानेका थिएनन्, त्यसकारण ती किसानलाई लोभ्याउन दुई लाख थपेर दिनुभयो । किनकि तपाईंहरूलाई ३० बिगाहा जग्गा बटुल्नु छ ।’

‘हा.हा.हा । फेरि त्यही कुरा जोड्नुहुन्छ मेनेजरसाबले ।’

‘जग्गा अधिग्रहण गर्ने र मुआब्जा दिने काम सीडीओ को हो । जिल्लामा सीडीओ बदलिन्छकी भन्ने मलाई ठूलो डर छ यार ।’
‘हामी सीडीओसँग डराउनु पर्ने कारण के छ र ?’

‘गोरेटोसम्म नभएको जग्गामा मैले पीच सडक देखाएर कागज तयार पारेको छु । मुआब्जा दिने क्रममा नयाँ सीडीओले जग्गा निरीक्षण ग¥यो र कागजात मगायो भने मेरो जहाज डुब्दैन ?’

‘तपाईंको जहाज मात्रै डुब्दैन, हाम्रो यत्रो योजना पनि पूरै खारानी हुन्छ नि । मन्त्रीले खरानी हुन दिन्छन त ? कदापि दिन्नन् । त्यो जाबो कुराको पनि टेन्सन लिने त । सीडीओ पनि आकाशबाट आउने होइन, तपाईं हामीजस्तै पेट भएको मान्छे हो । मन्त्रीले चित्त बुझाइ दिन्छन् ।’

‘हुन त मन्त्रीज्यू हेल्पफुल छन् । धेरै पटक सरसल्लाह भएको छ । उहाँले नै प्रस्ताव ल्याएको हो…।’
‘अर्जुन सर तपाईं एकचोटी सिंगापुर जानुपर्छ होला ।’

‘सिंगापुर ? किन ?’
‘आजभोलि घुस र कमिसनको पेमेन्ट सिंगापुर हङकङ, थाइल्यान्डतिर हुनेरहेछ । गोपनियता कायम क्या !’

‘हा.हा.हा..!’ दुवैजना चित्त खोलेर हाँसे ।
साँझ ढल्दै थियो । एउटा रिसोर्टको वातानुकूलित बन्द कोठामा उनीहरू मद्यपान सँगसँगै गुप्ती योजनाको विमर्शमा तल्लीन थिए  ।

‘बाबु उस्तै छोराछोरी पनि उस्तै । कति मोबाइलमा गढ्न सकेको होला । चिया सेलाइसक्यो ।’
‘मोबाइलमा गढेको होइन के हिसाब गरेको । आउ यता बस कुरा बुझ । भाग्य चम्काउन खोजेको ।’

‘मैले नाइँनास्ती गर्दागर्दै भाइ अंशमा परेको पाँच कट्टा खेत बेच्नुभयो । अब के हिसाब हेर्नू र मैले ! भात खानलाई तै एउटा खेत थियो ।’
‘त्यो पैसाले माथि आठ कट्ठा किनेको होइन ?’

‘त्यो आठ कट्ठामा धान फल्छ ?’
‘धान फल्दैन, हिरा फल्छ हिरा । डायमण्ड् भन्छन् नि ? हो त्यही ।’

‘बुझाएर भने हुन्न र, मैले केही कुरै बुझिन ।’
‘यहाँ फेरि एअरपोर्ट विस्तार हुँदैछ । हाम्रो पर्यटनमन्त्री दलबहादुर बम लागि परेका छन् । विस्तार हुने जग्गा सबै हाम्रो कम्पनीले कब्जा हान्देको छ । भोलि एअरपोर्टले हामीसँग किन्नुपर्छ त्यो जग्गा । बुझ्यौ त ? यो गोप्य कुरा तिमीले कतै नभन्नु नि फेरि ।’

‘किन भन्छु र ! अनि हाम्रो भागमा कति पर्न आउला ?’
‘आफ्नो लगानी छोडेर पाँच करोड कतै घट्दैन भनेको छ भीम पाण्डेले । मेरो हिसाबले पनि त्यही देखाउँछ ।’

‘पाँच करोड ! राम राम राम ! अनि को को नि पाण्डे भन्ने ?’

‘मन्त्रीको पीए हो । मासिक तलब संगालेर जीवनभर एक करोड पु¥याउन सकिँदैन । अब राजनीति सुरु गरिन्छ आफू पनि’ पुरनले आफ्नो खुसी लुकाउन नसकेर श्रीमतीलाई बाँडेको थियोे । योजनाको व्याख्या विश्लेषण गरिरहेको थियो । प्राप्तिले भन्दा पनि पहिला कल्पनाले रोमाञ्चित बनाउँछ मान्छेलाई ।

‘पैसा आएपछि ८/१० तोला सुन किन्नुपर्छ है बुढा ?’
‘यी आइमाई मान्छेलाई किन चाहिँदो हो यति धेरै सुन ?’
‘कस्तो कुरा नबुझेकोके हजुरले ! दिनदिन छोरीको बिहा गर्ने बेला भइसक्यो…।’

‘त्यसो त छोराको पनि त बिहे गर्नुपर्ला नि ।’
‘पर्छ । त्यही त भनेको नि । पैसा भएसम्म सुन किन्ने त हो नि स्वामी राजा ।’

‘अनि खेतको सट्टा खेतै चाहिन्छ भनेको होइन ? के अब नकिन्ने ?’

‘किन नकिन्ने ? माटाको पैसा माटामै हाल्नुपर्छ भन्छन् बुढापाका’ कल्पनामा सुन र जग्गा किन्न पाएर फुरफुर भएकी श्रीमतीलाई उसले आफ्नो फोनमा एउटा विद्युतीय गाडी (इभी) रातो रंगको कार देखायो । गाडीको विशेषता र फाइदाको चर्चा सुनायो ।

‘पैसा हातमा नपरुञ्जेल अहिल्यै कसरी किन्नु त गाडी ?’

‘२५ प्रतिशत नगद बुझाएर घरबारी धितो राख्दा लोनमा दिँदो रहेछ बैंकले । सहकारीबाट झिकेर नगद दिने बाँकी घरको कागजात तयार पारेकै छु । अब दुई÷चार दिनभित्र आफ्नै आँगनमा आउँछ लाल गाडी ।’

‘अहिले त्यसो गर्दा जोरिपारीले आँखी गर्छन कि हँ ?’
‘तिमी हेर्दैजानू आँखी गर्नेहरू त नमस्कार गर्न घरमै आउँछन् भोलि ।’

पुरन निरन्तर हिसाबमा थियो । जग्गाको नक्सा, कित्ता नम्बर र क्षेत्रफल ल्यापटपमा खोजिरहेको थियो । अब कुन कुन काम गर्ने भन्ने खाका बनाउनु थियो । मोबाइल फोन थर्थरायो ।

‘हेडसर नमस्कार हजुर ! आराम हुनुन्छ ?’

‘नमस्कार । पुरन सर कता हराइ रहनुभाछ ? न फोन उठाउनुहुन्छ न फोन गर्नुहुन्छ न स्कुल आउनुहुन्छ । यस्तो पनि हो त ?’

‘कहिले आन्दोलनमा गैयो, कहिले पार्टीको काम पनि गर्नै प¥यो सर । कामले फुर्सद नहुँदा ढाँटेझैं भइरहेको छ सर । अब अर्को हप्तादेखि नियमित स्कुल आउँछु सर ।’

‘विद्यार्थीले विद्यालय व्यवस्थापन समितिको बैठकमा अर्को शिक्षक चाहियो भनेर उधुम मचाए । अभिभावकको पनि शिक्षक बदल्नै पर्छ भन्नेमा एउटै स्वर छ । मैले पटक–पटक तपाईंलाई सम्झाइ रहेको छु । अब स्थिति सजिलो छैन है ।’

‘सांसद–मन्त्रीले विश्वास गरेर बोलाउँछन् । त्यता पनि मन राख्दिनै प¥यो सर… ।’

‘तपाईं हरेक कुरामा सांसद–मन्त्री जोड्नुहुन्छ । एक दिन होइन दुई दिन होइन सधैँभरी पार्टीको काममा दौडिने ? शिक्षकको जिम्मेवारी के हो ? विद्यार्थीको भविष्यमाथी खेलवाड भएन त यो ?’

‘फोनमा धेरै कुरा नगरौँ सर म आउँछु सबै जानकारी गराउँछु’ यसो भन्दै फोन स्वीचअफ गरिदियो ।

ऊ, हतारमा पार्टी कार्यालय पुग्दा उनीहरू त्यहाँबाट होटल गैसकेका थिए । फेरि उसले मोटरसाइकल होटलतिर कुदायो । होटलको निर्धारित कोठा बाहिर मन्त्रीको बर्दीधारी पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) लाई आवश्यक कागजात देखाएपछि उसले कोठामा प्रवेशको अनुमति पायो ।

‘नमस्कार हजुर ! नमस्कार नमस्कार ।’

‘ओहो नमस्कार ! ल आउनुस पुरनजी बस्नुस् । वहाँ इन्जिनियर साहबहरूसँग परिचय गर्नुस् । यो प्रोजेक्टको प्राविधिक हो दुवैजना ।’ शोफामा आड लागेका मन्त्रीले बेलिविस्तार लगाए । चीरपरिचित मन्त्री, मन्त्रीको पीए र जग्गा कम्पनी प्रमुखसँग चिनजान गर्नै परेन, मोटाघाटा इन्जिनियरहरूसँग भयो दोहोरो परिचय ।

‘काममा अवरोध केही हुँदैन । एअरपोर्ट विस्तार हुने कुरामा जनता खुसी नै हुन्छन् । किनकि भौतिक रूपमा ठोस विकास देखिन्छ । भित्री कुरा जनताले बुझ्दैनन् र चासो पनि दिँदैनन् ।’

‘यी पत्रकारहरूले हुँदो नहुँदो लेखेर टाउको दुखाउँछन् मन्त्रीज्यू ।’
‘उपाए छ । बोलाएर बुझो लगाइदिनुपर्छ खुसी हुन्छन् । भोलिपल्ट विकासकै गुणगान लेख्छन् ।’
कुराकानी चल्दाचल्दै पीए पाण्डेले संकेत गरे बमोजिम पाण्डे र पुरन फेरि अर्को छुट्टै कोठामा पसे ।

‘पुरनजी ! खास कुरा के हो भने प्राविधिक टोलि आइसकेको छ । भोलिबाट धमाधम काम हुन्छ । केही दिनमा डिटेल प्रोजेक्ट रिपोर्ट डीपीआर आन्तरिक रूपमा तयार पारिन्छ । त्यसपछि एअरपोर्ट एक्सटेन्सनको सार्वजनिक गरिन्छ । यो मामिलामा मन्त्रीज्यू र म कतैपनि एक्सपोज हुन मिल्दैन जो तपाईंलाई थाहा छँदैछ । अनि… ।’

‘त्यो त बुझेको छु । मुआब्जा वितरण गर्दा एकमुष्ट भएन र किस्ता किस्तामा गयो भने अप्ठ्यारो पर्छ है । यहाँ त बैंकको लोनको मामिला छ । एअरपोर्ट विस्तार गरेर पूरा हुन पाँच वर्ष लाग्छ होला । मुआब्जा पनि पाँच वर्षसम्म… ।’

‘त्यो हुँदैन बिल्कुल हुँदैन । अर्थ मन्त्रीसँग पनि हाम्रो तालमेल भैसक्यो । ढुक्क हुनुस् बजेट एकमुष्ट आउँछ । लगानी त मन्त्रीज्यूको छ मेरो पनि छ । पैसाको हामीलाई पनि माया लाग्छ नि यार ।’
‘कति समयमा काम सम्पन्न हुन्छ भन्ने कुरा डीपीआरले डिक्लिएर गर्छ होला…।’
‘ए आँप खाउ साथी बुटा नगन । हामीलाई दाम भए भैहाल्यो नि, काम जैलेसुकै बनोस् किन तातो ? अँ बरु अर्को कुरा, अधिग्रहण भित्र पर्ने केही जग्गाका धनिहरू खोजेर पत्ता लगाउनु । तिम्रा जग्गा प्रतिकट्ठा १५ लाख पार्छौं हामीले भनेको मान्नु भनेर लोभ देखाउनु बाँकी पैसा दुईभाइले बाँडौला ।’

‘एकदम ठीक ! यही होटेलमा हुन्छ आजको बसाइ ?’
‘हुँदैन नि । साँझको फ्लाइटमा फर्कने हो । मन्त्रीज्यूले भोलि मन्त्रीपरिषद्को मिटिङमा उपस्थित हुनुपर्ने छ ।’
‘ओहो ! केही जरुरी कुरा गर्नैपर्ने थियो… ।’

‘हामी फोनमा कुरा गरौँला, बरु ह्वाटसपमा । तर लेनदेनका कुरा फोनमा बिल्कुल गर्न हुँदैन है । भित्री कुरा गर्नु परे म बोलाउँला नि उतै ।’
‘एकचोटि सीडीओसँग डिनर मिटिङ गर्न पाए हुन्थ्यो यार ।’

‘सीडीओ र लोकल मन्त्रीहरूको टेन्सन नलिनुस तपाईं । निर्धक्क आफ्नै धन्दा गर्नुस् । ढिला भैसक्यो अब खाजा खाएर फाट्नुपर्छ । जाउँ ।’ सबैजना खाजा खाने मेसोमा लागे ।

‘आफ्नो मान्छे ल्याउनका लागि तपाईंहरूले मेरो सरुवा ठोक्दिनु भएछ । बधाई छ तपाईंहरूलाई ।’
‘विद्यालय व्यवस्थापन समितिले शिक्षक सरुवा निर्णय गर्न सक्छ ? के कुरा गरेको… ?’
‘शिक्षा कार्यालयले सरुवा गरे पनि सिफारिस त तपाईंहरूले नै गरेको हो । अहिले किन टाउको लुकाउनु प¥यो । व्यवस्थापन समितिको अध्यक्ष आफ्नै पार्टीको मान्छे भनेर ढुक्क थिएँ तर त्यो साले पनि धोखेबाज रहेछ ।’

‘के बोलेको पुरनजी तपाईं ? स्कुलमा तपाईं रक्सी खाएर आइरहनुभाछ, कि के हो ? यही हो तरिका ?’
‘म सरुवा भएको स्कुलमा जान्न किनकि अब जागिर खान्न । मैले रमाना बुझेको छैन, त्यसकारण हेडसरले मेरो राजिनामा स्वीकृत गरिदिनु पर्छ । मेरो माग त्यति हो ।’

‘ठण्डा दिमागले सोच्नुस्, जागिर नछोड्नुस् पछि पछुतो हुन्छ भन्नू त मेरो धर्म हो पुरनजी, यसलाई कमजोरी नठान्नुस् । बुझ्नु भो ?’
‘म केटाकेटी पनि होइन सर । मलाई पछुतो हुन्छ कि मालामाल हुन्छ त्यो त समयले देखाउला । कुनै पौरख देखाउन सकिन भने म पुरन जोशी होइन सर ।’

‘त्यसोभए राजीनामा निवेदनको पछाडि सनाखत गर्नुस् । अगाडि बढाइदिन्छु प्रोसेस ।’ राजीनामा निवेदनमा पुरनले दुवै औंठाको ल्याप्छे लगाएर सनाखत गर्दै थियो ।

सडकछेउ च्यापेर घच्याक्क ब्रेक थिचेपछी गाडी रोकियो ।

रातो कारबाट उत्रिएर पुरन चिया पसलतिर सोझियो । उसले खोजिरहेको पसल यही थियो उसलाई चिया होइन चियावाला साहुजीसँग मात्रै मतलब थियो । किनभने अधिग्रहणमा पर्ने जग्गामध्ये साहुजीको पनि एउटा कित्ता थियो । हात हातमा चियाको कप समाएका ग्राहकहरू बेलाबेला गलल गलल हाँसिरहेका थिए ।

‘ढल्दैन । ढल्न बनेकै होइन भन्दै थियो राति सुतेका बेला गल्र्याम्मै ढलेछ है’ एउटाले भन्यो ।
‘बिहान उठ्दा त छाँगाबाट खसे झैं भयो होला है !’ अर्कोले भन्यो ।

‘थाहा पाएपछि छाती पिटिपिटी रोएको होला विचरा !’
हा.हा.हा. सबै गलल हाँसे ।

‘कहाँको सरकार ढल्यो र आधारातमा हँ दाजु ?’ मनमा चिसो पसेको हुँदा पुरनले एक जनालाई सोध्यो ।
‘अन्तको सरकार आधारातमा ढल्दैन भाइ । हाम्रै देशको सरकारलाई पर्छ यस्तो शुभ साइत ।’

‘हल्ला मात्रै पो होला…।’
‘किन हल्ला मात्रै हुँदो हो ! सामाजिक सञ्जाल हेर्नुस् त पूरा यही खबर मात्रै छ ।’

पाकेटबाट मोबाइल झिक्यो स्वीचअफ रहेछ । मदिराले राजिनामाको तनाव मत्थर पार्लाकी भन्दा ज्यादा मात चढेछ । नसाको झोकमा अध्यक्षसँग बाझाबाझ भएपछि स्वीचअफ गरिएको थियो । हतारमा उसले स्वीचअन गर्दानगर्दै बैंक मेनेजर अर्जुनको कल आयो । कानमा मोबाइल टाँस्दै फर्कियो ।
‘अर्जुन सर के अनिष्ट हुन लाग्यो यस्तो ?’
‘के हो तपाईंहरूको मनसाय ? मन्त्रीदेखि कार्यकर्ता सबैले फोन स्वीचअफ गर्ने ? तपाईंहरू सबैको एक एक अडियो रेकर्ड राखेको छु मैले । म सडकमा आउनु प¥यो भने दुई चार जनालाई गिँडिदिन्छु विचार गर्नु….।’

फोन संवादले ऊ भयभीत भयो, भित्रभित्रै अत्तालियो ।

गाडीमा चढेर स्टेरिङ समायो । बोतल खोलेर घटघट पानी खायो । अलिकति अनुहारमा पोखेर बाँकी पानी टाउकोमा खन्यायो । आँत कामिरहेको थियो । वरिपरि रात परेझैं अँध्यारो देख्यो । मोबाइल टोन बजेपछि बल्ल तन्द्राबाट ब्यूँझियो । आफ्नो साझेदार तथा कम्पनी प्रमुख कमल खत्रीले वरिष्ठ अधिवक्ता शरद शर्माको घरमा बोलाएपछि पुरनले धीमा गतिमा गाडी उतै कुदायो ।

दुवै जना हात जोडेर थकित पुरन कुर्सीमा थचक्क बस्यो ।
‘त्यति निराशा नहुनुस् पुरनजी, सम्हाल्नुस आँफूलाई । मेरो पनि त्यही हालत भैरहेको छ । दशा लागेको रहेछ सरकार ढल्यो । उपाए खोज्नुपर्ने छ ।’

‘जे खोजे खोजौंला कमल सर । मुआब्जा नपाए यो प्राण चल्दैन अब ।’
‘त्यसै कसले केको मुआब्जा दिन्छ ? कस्तो कुरा नबुझे झैँ गरेको ?’

‘के भनेर लगानी गर्न उचालेको मलाई ? अहिले त्यस्तो भन्न पाइन्छ ? मलाई मुआब्जा अनिवार्य चाहिन्छ ।’
‘कस्तो दशा लाग्यो ! समस्यामाथि विपत्ति थपियो वकिलसाब, कुनै उपाए छ कि भनेर… ।’ कमलले भन्यो ।

‘तपाईंहरू मसँग सल्लाह लिन आउनुभएको छ । यसको कानुनी उपचार देखिँदैन । मेरो तटस्थ भनाइ के हो भने, पहिलो कुरा सरकारको नीति तथा कार्यक्रममै नपरेको विषय कोही व्यक्ति र संस्थाले माग्दैमा प्राप्त हुन सक्दैन । दोस्रो कुरा ठूला जहाजहरू सजिलै उडेकै छन् र बसेका पनि छन् भने केका लागि एअरपोर्ट विस्तार गर्नु पर्ने हो, भन्ने प्रश्नको उचित जवाफ नै छैन । त्यसकारण यस्तो मामिलामा हात हाल्नु नै गल्ती थियो भन्ने लाग्छ ।’

‘गल्ती भयो वकिल साब, आइन्दा गरिने छैन । म कान समाउँछु तर मुआब्जा त पाउन पर्छ । कति दुख गरियो भनी साध्य छैन वकिलसाब !’ पुरनले भन्यो ।

‘के कुरा गरेको तपाईंले ? यो केसमा कुनै दिन तपाईंहरूलाई कानुनी कारबाही पनि हुनसक्छ… ।’
‘कारबाही भोगौंला हजुर ! तर मुआब्जा पाउनुपर्छ नत्र म सडकमा आउने भएँ ।’

‘नबुझेको कि बुझ पचाएको ? किन पागलजस्तो कुरा गरेको ?’
‘मुआब्जा नपाए म साँच्चै पागल हुन्छु । तब पागल हुन मलाई कसैको बाबुले रोक्न सक्दैन । हा.हा.हा. !’

मुआब्जाको प्रलोभनमा परि उसले ऋण काढेर फुर्मास मात्र गरेको थिएन, जायजेथा नै दाउमा लगाएको थियो ।

-उमालाल आचार्य

प्रकाशित मितिः   २७ बैशाख २०८२, शनिबार ११:००