‘प्रदेशसभाबाट पारित योजना मात्रै कार्यान्वयन हुन्छन्’

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले पहुँचका आधारमा योजना बाँड्ने काम बन्द गरेको बताएका छन् । बिहीवार वीरेन्द्रगरमा आयोजित प्रदेश समन्वय परिषद् बैठकमा मुख्यमन्त्री कँडेलले सरकारले बजेट वितरण प्रणाली समेत व्यवस्थित गर्दै लगेको बताए । ‘सरकारले अब तजविजीका आधारमा बजेट बाँड्ने काम गर्दैन’ उनले भने, ‘प्रदेशसभाबाट पारित कार्यक्रम मात्र कार्यान्वयन गर्छ ।’

मुख्यमन्त्री कँडेलले बजेट र योजना बाँडफाँडमा धेरै नै नकारात्मक टिकाटिप्पणी उठ्न थालेपछि यस वर्षदेखि आयोजना छनोट गर्न कार्यविधि बनाएको समेत जनाए । स्थानीय तहबाट योजनाको बारेमा प्रदेश सरकारलाई सुझाव दिँदै आएपनि यसपटक प्रदेश सरकार र स्थानीय तह एकै ठाउँमा बसेर पहिलो पटक आयोजनाबारे छलफल गर्ने कानुनी र संरचनागत अभ्यास सुरु भएको पनि उनले बताए । ‘योजना जाने सबै स्थानीयस्तरमै हो, लाभान्वित हुने त्यही नै हो, तपाईंहरूलाई सहभागी बनाउँदा त्यसको प्रभाव अझ बढ्छ भने किन एक्लै हिँड्नु ?’ उनले भने ।

आयोजना छनोट गर्दा कर्णालीको सन्दर्भमा रोजगारीका तीन क्षेत्र कृषि, साना उद्योग र पर्यटनलाई ध्यान दिने बताउँदै मुख्यमन्त्री कँडेलले यस वर्षदेखि मुख्यमन्त्री कर्णाली रोजगार कार्यक्रमलाई कृषि, आयआर्जन र उत्पादन आधारित आयोजनाका रूपमा विशिष्टकृत गरिने जानकारी दिए । स्थानीय तहलाई आफ्नो तहमा आम्दानी बढाउन योजना बनाउने काममा लाग्न पनि मुख्यमन्त्री कँडेलले आग्रह गरे । उनले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेका कार्यक्रम, आयोजनाहरू संघ, प्रदेश वा विकास साझेदार जसको भएपनि अनुगमन गरेर समयमै र गुणस्तरिय बनाउने काममा ध्यान दिन पनि स्थानीय तहका जनप्रतिनिधिहरूलाई सुझाव दिए ।

प्रकाशित मितिः   २६ बैशाख २०८२, शुक्रबार १५:३२