निःशुल्क स्वास्थ्य सेवा
४० वर्ष उमेर कटेका नागरिकले निःशुल्क स्वास्थ्य परीक्षण र उपचार पाउने भएका छन् । कर्णाली प्रदेश सरकारले नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम कार्यान्वयनमा ल्याएसँगै ४० वर्ष कटेका प्रदेशभरका नागरिकहरूले नसर्ने रोगहरूको परीक्षणसहित उपचार निःशुल्क गर्न पाउने भएका हुन् । शनिवार पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–१३, स्थित गुमी स्वास्थ्य चौकीबाट स्वास्थ्य परीक्षण कार्यक्रमको औपचारिक सुभारम्भ गरिएको हो । मधुमेह, उच्च रक्तचाप तथा मृगौला रोगलगायतको निशुल्क परिक्षणका साथै उपचार गर्ने उद्देश्यले कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो । अब प्रदेशका १० वटै जिल्लाका सबै स्थानीय तहमा नसर्ने रोगहरूको नियमित परीक्षण तथा उपचार सेवा सुरु भएको छ ।
पछिल्लो समय अस्वस्थ खानपान र जीवनशैलीका कारण कर्णालीमा नसर्ने रोगको जोखिम उच्च हुँदै गएको छ । ४० वर्ष माथिको जनसंख्यामा नसर्ने रोगको परीक्षण गर्नुको मुख्य उद्देश्य कर्णालीको समग्र स्वास्थ्यको अवस्था पत्ता लगाउनु रहेको जनाइएको छ । नसर्ने रोगहरूबाट भविष्यमा निम्तन सक्ने जोखिम न्यूनिकरण गरी स्वस्थ कर्णाली निर्माण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको छ । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत नागरिक स्वास्थ्य परीक्षण कार्यक्रमलाई नीतिगतरूपमा व्यवस्थित गरी अघि बढाएको हो । नेपालमा नसर्ने रोगहरू दुई तिहाइले बढ्दै गएको छ । यसबाट कर्णाली पनि अछुतो छैन । विशेषज्ञ सेवा नपुगेका क्षेत्रका नागरिकको निशुल्क स्वास्थ्य जाँच गरी अवस्था अनुसार उपचारसमेत गरिने छ । १० वटै जिल्लामा विभिन्न मितिमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको जनाइएको छ । कार्यक्रम सञ्चालनका लागि जिल्लामा पठाइएको १० लाख बजेटले स्कृनिङ्ग सामग्री खरिद गर्ने र निर्देशालयको व्यवस्थापनमा यस वर्ष नागरिक स्वास्थ्य परीक्षणलाई बृहत बनाईने छ ।
सरकारले आगामी आर्थिक वर्षबाट कर्णालीका ७९ वटै स्थानीय तहसँग समन्वय गरी वडास्तरबाटै परीक्षणलाई नियमित बनाइने जनाएको छ । सबै स्थानीय तहको केन्द्रमा रहेका स्वास्थ्य संस्थामा तीन दिनसम्म ४० वर्ष माथिका नागरिकहरूको स्वास्थ्य जाँच तथा परीक्षण गरिने छ । स्कृनिङ्गपश्चात् देखा परेका नयाँ बिरामीहरूको अन्तिम परीक्षण नजिकको रणनीतिक तथा आधारभूत अस्पतालमा निदान गरी बिरामीलाई औषधीको सुनिश्चिततासँगै सम्बन्धित पालिकाका वडास्तरमा रहेका स्वास्थ्य संस्थाबाट औषधि उपलब्ध गराइने छ । प्रयोशाला नभएका स्वास्थ्य संस्थामा नमुना संकलन गरी नजिकका रणनैैतिक तथा आधारभूत अस्पतालमा परीक्षणका लागि पठाइने छ । प्रयोगशाला भएका स्वास्थ्य संस्थामा नमुना परीक्षणसँगै आवश्यक उपचार गरिने छ । यस्ता स्वास्थ्य संस्थामा उपचार सम्भव नभए जटिलताका आधारमा सुविधा सम्पन्न अस्पतालमा रेफर गरिने छ । कार्यक्रमले उक्तरक्तचाप, मधुमेह, दीर्घ श्वाप्रश्वास, मृगौलासम्बन्धी रोग, क्यान्सरलगायत नसर्ने रोग न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मितिः २३ बैशाख २०८२, मंगलवार १५:५४
सम्पादकीय ।