दुर्घटनाको जोखिम

कर्णालीमा बढ्दो सडक दुर्घटनाले ठूलो मात्रामा धनजनको क्षति हुने गरेको छ । नागरिकको सहजताका लागि बनाइएका सडकमा भइरहने दुर्घटनामा ठूलो संख्यामा नागरिकले नै ज्यान गुमाउनु परिरहेको हो । प्रदेश भौगोलिक रूपमा विकट मानिन्छ । हचुवाको भरमा निर्माण गरिएका सडकले सहज हुनुका साथै क्षति पनि दिइरहेको अनुभव यहाँका नागरिकको छ । प्रदेश प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार सडक दुर्घटना बढ्दो क्रममा रहेको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा एक हजार चार सय ४६ वटा सवारी दुर्घटना भए । दुर्घटनामा परेर एक सय १२ जनाको मृत्यु भएको थियो भने चार सय ७२ जना गम्भीर घाइते तथा एक हजार ६ सय पाँच जना सामान्य घाइते भएका थिए ।

चालु आर्थिक वर्षको हालसम्म सात सय ५४ सवारी दुर्घटनामा परेका छन् । दुर्घटनामा परेर एक सय सात जनाको मृत्यु भइसकेको छ । पाँच सय ४३ जना गम्भीर घाइते भएका छन् भने एक हजार ८७ जना सामान्य घाइते घएका छन् । सवारी साधनको प्रयोगलाई व्यवस्थित गराउने उद्देश्यले वि.सं. २०२० मा सवारी ऐन तथा नियम लागू गरियो । सवारी नियमको पालना चालकदेखि पैदलयात्रुसम्मले प्रभावकारी ढंगले नगर्दा धेरै दुर्घटना हुने गरेको पाइएको छ । ट्राफिक संकेतको ज्ञान नहुनु, भएमा पनि त्यसको पालना नगर्नु, जेब्राक्रसिङको प्रयोग नगर्नु, सवारी चापको वृद्धि अनुरूप सडक विस्तार हुन नसक्नु, भएका सडकहरू पनि व्यवस्थित र सवारीमैत्री नहुनुजस्ता कारणहरूले गर्दा सडक दुर्घटनामा वृद्धि भएको छ । विशेष गरी सवारी चालकले आफ्नो सहयोगी सहचालकलाई सिकाउने क्रममा उसलाई सवारी चलाउन दिँदा धेरै दुर्घटना भएको पाइएको छ । त्यसैगरी लामो दूरीमा सवारी चलाउने चालकलाई बाह्रदेखि सोह्र घण्टासम्म एउटैले अनवरत रूपमा सवारी हाँक्दा पनि मानसिक तथा शारीरिक थकावटका कारण पनि दुर्घटना हुने गरेको छ । त्यस्तै अनियन्त्रित गतिमा सवारीसाधन चलाउनेलाई नियन्त्रण गर्न देशका अत्यधिक सडक दुर्घटना हुने स्थान तथा बस्ती छेउछाउको व्यस्त सडकमा सवारीका साधनको गति नाप्ने यन्त्र राडरको प्रयोग व्यवस्था गर्नुपर्ने कुरा पनि सम्बन्धित क्षेत्रका विज्ञहरू बताउँछन् ।

सडकमा डिभाइडर रिफ्लाक्टर ट्राफिक सिग्नल, ट्रयाफिक लाइट ट्राफिक पोस्ट आकस्मिक उपचार केन्द्र सडक, ढल, सडकपेटी यात्रु प्रतीक्षालय आदिका सुविधामा समेत ध्यान पु¥याउनुपर्ने देखिन्छ । सवारी चलाउँदा कुराकानी गर्ने मोबाइलमा गफ गर्ने, रेडियो वा एयरफोनमा मस्त हुन नपाउने कानुनी व्यवस्था भए पनि त्यसको पालना नहुँदा पनि धेरै दुर्घटना भइरहेका छन् । सडक दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायहरू गम्भिर हुनुपर्ने देखिन्छ ।

प्रकाशित मितिः   २२ बैशाख २०८२, सोमबार ०५:०३