भाषिक तथा गणितीय सीप सुधारसम्बन्धी सम्मेलन
सुर्खेत: आधारभूत भाषिक तथा गणितीय सीपसम्बन्धी प्रदेशस्तरीय सम्मेलन सुर्खेतमा सम्पन्न भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र स्ट्रीट चाइल्ड अफ नेपालको संयुक्त आयोजना तथा हेम्पेल फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालन भएको सम्मेलनमा कर्णाली प्रदेशका विभिन्न जिम्लाबाट जनप्रतिनिधि, शिक्षा शाखा प्रमुख, शिक्षक र शिक्षाका क्षेत्रमा काम गर्ने संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
आधारभूत भाषिक तथा गणितीय सीपको महŒव तथा सिकाइ परीक्षणका नतिजाबारे छलफल एवम् जानकारी गराउनुका साथै सुधार केन्द्रित गरिएका असल अभ्यासहरूमा छलफल गर्ने, सिकाइ स्तरमा आधारित शिक्षण रणनीति, कार्यान्वयन प्रक्रिया र प्रभावका बारेमा जानकारी गराउने, प्रदेश तथा स्थानीय सरकार तथा सरोकारवालाहरूलाई स्रोत साधन परिचालन र आधारभूत भाषिक तथा गणितीय सीपसम्बन्धी क्रियाकलापको प्राथमिकीकरण र विस्तारबारे उत्प्रेरित गर्दै पैरवी गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको जनाइएको छ ।
सम्मेलनमा आधारभूत भाषिक तथा गणितीय सीप सुधार केन्द्रित छलफलसमेत गरिएको थियो । छलफलमा सामाजिक विकास मन्त्रालय शैक्षिक विकास महाशाखा प्रमुख सुवर्णकुमार खड्का, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक टुकराज अधिकारी, गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष निमबहादुर केसी, गुर्भाकोट नगरपालिका सुर्खेतका उपप्रमुख मैना विक र चौकुने गाउँपालिका सुर्खेतका शिक्षा प्रमुख टेकेन्द्रबहादुर बुढाको सहभागिता रहेको थियो ।
आधारभूत भाषिक तथा गणीतिय सीप सुधारका लागि संघीय, प्रदेश र स्थानीयस्तरमा गरिएका पहल, अभ्यास, नतिजासँगै अबको प्राथमिकीकरण तथा अवसरहरूमाथि केन्द्रित रहेर अन्तरक्रिया गरिएको थियो । जसमा आगामी दिनमा निर्माण हुने शैक्षिक योजनाहरूमा भाषिक तथा गणितीय सीप सुधारका लागि तीनवटै तहका सरकारले विशेष ध्यानुपर्नेमा जोड दिइएको थियो । अहिलेसम्मको अभ्यासमा यस बिषयमा केन्द्रित गरी कुनै पनि योजनाहरू प्रभावकारी कार्यान्वयनमा नरहेकोले यसतर्फ ध्यान दिन जरुरी रहेको वक्ताहरूको भनाइ थियो ।
सम्मेलनको समापन सत्रमा बोल्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सम्मेलनले कर्णालीका शिक्षासँग सम्बन्धित सरोकारवालाहरूलाई भाषिक तथा गणितीय सीप सुधारका लागि झकझक्याउन मद्दत गरेको बताए । उनले तीनै तहका सरकारले शिक्षामा बजेट खर्चिए पनि आधारभूत तहमा भाषिक तथा गणितीय सीप सुधारमा प्रभावकारी कामहरू नभएको समेत जनाए ।
यस्तै स्ट्रीट चाइल्ड अफ नेपाल प्रमुख क्षितिज बस्नेतले कर्णालीमा भाषिक तथा गणितीय सीप सुधारका लागि तीन वटै सरकारले विभिन्न योजनाहरूमै समावेश गरी प्रभाकारी कार्यान्वयनमा जानुपर्ने सुझाव दिए ।
प्रकाशित मितिः १४ बैशाख २०८२, आईतवार ०६:०१
साझा बिसौनी ।