वनमा डढेलो, बस्ती छिरे वन्यजन्तु
सुर्खेत: एकाबिहानै घर नजिकैको बारीमा आफूले लगाएको बाली र तरकारी खेती वन्यजन्तुले सखाप पारेको देख्दा लक्षुमनप्रसाद कोइरालाको मन नमज्जाले कुँडिन्छ । वर्षभरि खाने अन्न र तरकारीबाली जंगली जनावरले एकैदिनमा सखाप पारेपछि दैलेखको नारायण नगरपालिका वडा नं. १ का कोइराला अब बिहान–बेलुकाको छाक टार्ने र जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्तामा छन् । ‘वर्षभरी खाने अन्न र तरकारी खेती बँदेल, दुम्सी, खरायो र बाँदरले सखाप पारिदिएका छन् । हुर्किंदै गरेका बालीनालीका कलिला मुन्टा नै खाइदिएपछि अब कसरी उब्जनी हुन्छ ? यहाँ त बालिनाली जोगाउनै मुश्किल भयो’ उनले भने । उनका अनुसार वन्यजन्तुले पाक्न थालेको गहुँ, जौ, तरकारीलगायत अन्य फलफूलका बिरुवामा समेत क्षति पु¥याएको छ ।
सोही स्थानका चक्रबहादुर खत्री पनि आफ्नो बाली जोगाउँनै मुश्किल भएको बताउँछन् । पछिल्लो समय वन्यजन्तु खेतबारीमा पसेपछि निकै हैरानी खेप्नुपरेको उनको भनाइ छ । ‘फलफूलको बिरुवा हुर्किंदै छन् तर जंगली जनावरबाट जोगाउनै मुश्किल भयो,’ खत्रीले भने ‘सामान्य विद्युतीय झड्का दिने तारबारले घेर्दा पनि समस्या सुल्झिन सकेको छैन । अब त स्थानीय सरकारले केही उपाय निकालेर हाम्रा बालिनाली जोगाइ दिनुप¥यो ।’
पछिल्लो समय सामुदायिक वनमा आगलागी हुँदा वन्यजन्तु आहारा र बासस्थानको खोजीको लागि बस्ती छिरेका छन् । त्यसैले स्थानीयलाई बालिनाली जोगाउन हम्मेहम्मे परेको खत्रीले बताए । उनका अनुसार चैत नलाग्दै सुरू भएको डढेलो अहिले पनि आक्कलझुक्कल लागिरहेकै छ । स्थानीयबासीले आगोबाट बस्ती जोगाए पनि वन जोगाउन सकेका छैनन् । त्यसैले अहिले नजिकैको वन उजाड भएका छन् । ‘आगोबाट बस्ती जोगाइयो तर अन्नबाली जोगाउन सकिएन । आगलागीपछि ज्यान जोगाउन खेतखलियान प्रवेश गरेका वन्यजन्तु र किसानका लागि भने हैरानीका कारण बनेका छन्’, खत्रीले भने, ‘डढेलो लागेपछि वनक्षेत्रमा खानेकुराको अभाव हुनु, बासस्थान नासिनु र सिकारीको चहलपहल बढ्न थालेपछि जंगली बँदेल र अन्य वन्यजन्तु आहाराको खोजीमा बस्ती पसेका हुन् ।’
जंगलमा डढेलोपछि भने अहिले जनावर बाक्लै मात्रामा गाउँतिर पस्ने गरेका छन् । जंगल डढेलोले उजाड भएपछि कतिपय जंगली वन्यजन्तु गाउँघरका झाँडीतिर लुकेर बसेको अवस्थामा भेटिने गरेका हुन् । निरन्तर लागेको डढेलोले वन्यजन्तुले जंगलमा आफूलाई असुरक्षित ठानी गाउँ पस्दा बस्तीमा त्रास फैलिएको हो ।
आगलागीबाट बढ्दो मानवीय क्षति
पछिल्लो समय कर्णाली प्रदेशमा आगलागीबाट ठूलो मानवीय क्षति हुने गरेको छ । घरमा आगलागी हुँदा मानवीय क्षति हुने गरेको हो । प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांक अनुसार आगलागीका घटनाबाट मानवीय क्षति बढ्दो क्रममा रहेको पाइएको छ । चालु आर्थिक वर्षको हालसम्ममा प्रदेशभर एक सय २२ आगलागीका घटना भएका छन् । आगलागीबाट पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
आर्थिक वर्ष २०७८/०७९ मा एक सय ३१ आगलागीका घटना हुँदा १५ जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए । आर्थिक वर्ष २०७९/०८० मा एक सय १४ वटा आगलागीका घटना भएका थिए । उक्त वर्ष आठ जनाको मृत्यु भएको थियो भने २२ जना घाएते भएका थिए । आर्थिक वर्ष २०८०÷०८१ मा सबैभन्दा बढी तीन सय ४२ वटा आगलागीका घटना भएका थिए । जसमा १८ जनाको मृत्यु भएको थियो भने २१ जना घाइते भएका थिए । यो समयमा अधिकांश जंगलमा डढेलो लाग्ने गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए । जंगलमा डढेलो लाग्दा नजिकैको बस्ती नै जोखिममा पर्ने गरेको छ । जसले पशुचौपाय र मानवीयक्षति हुनेगरेको हो । डढेलो नियन्त्रणका लागि सचेतनाका कार्यक्रम गरिरहेको श्रेष्ठको भनाइ छ ।
प्रकाशित मितिः ८ बैशाख २०८२, सोमबार १०:४५
रजनी याेगी ।