भर्ना अभियान

अघिल्ला वर्षहरूमा वैशाख १ गतेदेखि नै सामुदायिक विद्यालयहरूमा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान सुरु भइसक्थ्यो । तर यस वर्ष भने नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको शिक्षक–कर्मचारीको आन्दोलनका कारण भर्ना अभियान ठप्प भएको छ । कर्णाली प्रदेशभर नै यो वर्षको विद्यालय भर्ना अभियान प्रभावित बनेको छ । सरकारले विद्यार्थी भर्ना अभियान वैशाख २ गतेदेखि सुरु गर्ने जनाएको थियो । वैशाख १ गते सार्वजनिक बिदा भएकाले २ गतेदेखि भर्ना अभियान सुरु गर्ने भनिए पनि भर्ना अभियान सुरु हुन सकेको छैन । सरकारले यो वर्ष ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नारा तय गरेको छ ।

शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गत चैत २० देखि काठमाडौं केन्द्रित सडक आन्दोलन गरिरहेका छन् । नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना गर्न देशभरका स्थानीय तह र विद्यालयलाई सरकारले गरेको सर्कुलर बहिष्कार गर्दै शिक्षक महासंघले भने माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएको छ । महासंघले संसद्को वर्षे अधिवेशन तत्काल बोलाएर वा विशेष अधिवेशन आह्वान गरेर वा अध्यादेशबाट शिक्षा ऐन ल्याउनुपर्ने अडान राखेको छ । ऐन जारी हुँदा सरकारले विगतमा महासंघसँग गरेको सहमति समावेश गर्नुपर्ने महासंघको माग छ । शैक्षिक हडतालसहितको शिक्षक आन्दोलनले देशभर ७० लाख बालबालिका सहभागी हुने विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ भने माध्यमिक शिक्षा परीक्षा९एसईई० को उत्तरपुस्तिका परीक्षण पनि रोकिएको छ । आन्दोलन अझै केही दिन जारी रहे वैशाख ११ देखि हुने कक्षा १२ को परीक्षा पनि प्रभावित हुने छ । महासंघ बैठकले विद्यार्थी भर्ना अभियानबाट शिक्षक अलग रहने, कक्षा १२ को परीक्षामा शिक्षक तथा कर्मचारी सहभागी नहुने र एसईईको उत्तरपुस्तिका परीक्षण पनि नगर्ने निर्णय गरेको आन्दोलन परिचालन समितिले जनाएको छ । दुई पटकसम्म शिक्षा मन्त्रालयसँग संवाद छलफलमा बस्दासमेत माग पूरा गराउन गम्भीर नदेखिएकाले आन्दोलन थप चर्काउने निष्कर्षमा पुगेको शिक्षक महासंघले जनाएको हो ।

सरकार र शिक्षक महासंघबीच संवाद भएपनि सहमति हुन सकेको छैन । जसले गर्दा नयाँ शैक्षिक सत्रको भर्ना अभियान सँगसँगै बालबालिकाको पढाइ प्रभावित हुने संकेत देखिएको छ । शिक्षक आन्दोलनका कारण यो वर्ष विद्यार्थी भर्नाका लागि घरदैलो अभियान समेत प्रभावित बन्यो । गाउँ–गाउँमा विद्यार्थी खोज्न जाने शिक्षक नै सडक आन्दोलनमा केन्द्रित हुँदा नयाँ शैक्षिक सत्रका कुनै पनि गतिविधि भएनन् । जसले गर्दा विद्यार्थी र अभिभावकमा अन्योलता सिर्जना भएको छ । शिक्षक महासंघको आन्दोलनलाई सहमति जनाउँदै कर्णालीका थुप्रै शिक्षकहरू काठमाडौं केन्द्रित भइरहेका छन् ।

प्रकाशित मितिः   ४ बैशाख २०८२, बिहीबार ०६:०३