धमाधम बन्दै पूर्वाधार

 

सुर्खेत: कर्णाली प्रदेश सरकारले धमाधम पूर्वाधार निर्माण गरिरहेको छ । बजेटको स्रोत सुनिश्चितता भएका र बहुवर्षीय आयोजनाका पूर्वाधार निर्माण गर्ने नीति अनुरूप काम गरिरहेको हो । अघिल्ला वर्षहरूमा ठेक्का लागेका केही पूर्वाधार निर्माणका काम भने सम्पन्न भएका छन् ।

आर्थिक वर्ष २०८०/०८१ देखि हालसम्ममा प्रदेशभरी ६५ पुल निर्माण भएका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार २३ पक्की पुल तथा ४२ झोलुङ्गे पुल निर्माण भएका हुन् । चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । पाँच वटा सडकमा पुल (मोटरेबल) निर्माण भएको मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले जानकारी दिए । हुम्लामा चार र कालीकोटमा दुई झोलुङ्गे पुल निर्माण भएका छन् । त्यस्तै सुर्खेतमा एक, जाजरकोटमा एक, कालीकोटमा एक, मुगुमा एक र सल्यानमा एक मोटरेबल पुल निर्माण भएका हुन् । चालु आर्थिक वर्षमै २१ दशमलव ४५ किलोमिटर सडक कालोपत्र गरिएको छ ।

यो अवधिमा ९५ किलोमिटर सडक कालोपत्र गरिएको जनाइएको छ । दुई सय पाँच किलोमिटर ग्राभेल र पाँच सय २५ कच्ची सडक कटानको काम भएको प्रवक्ता सुवेदीले बताए । आर्थिक वर्ष २०८१/०८२ का लागि बहुवर्षे ठेक्का हुने गरेर आठ वटा नयाँ मोटरेबल पुल निर्माणका लागि स्वीकृति दिइएको छ । त्यस्तै एक बेलिब्रिज पुल निर्माण गर्नका लागि सहमति प्रदान गरिएको छ ।

यस्तै भूकम्प प्रभावित जाजरकोट, रूकुमपश्चिम र सल्यानका क्षति भएका सार्वजनिक विद्यालय तथा स्वास्थ्य संस्थाहरूको पुनर्निर्माणका लागि कुल ५० करोड विनियोजन भइ ६२ विद्यालय र १८ स्वास्थ्यचौकी गरी कुल ८० संस्थाहरूको पुनर्निर्माणको काम सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

 

मोटरेवल पुल निर्माण गर्न ६८ करोड

प्रदेश सरकारले कार्यान्वयन भइरहेका सडकहरूमा मोटरेवल पुल गर्न लागेको छ । आवश्यक बजेट विनियोजन गरेर सडक पुल निर्माण गर्न लागेको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर सडक पुल निर्माण गर्न लागेको प्रदेश सरकारले जनाएको छ । कार्यान्वयन भइरहेका प्रदेशस्तरीय सडकहरूमा आवयकता अनुसार सडक पुल निर्माण गर्न लागिएको जनाइएको छ ।

पुल निर्माणका लागि यो वर्ष ६८ करोड ९८ लाख बजेट विनियोजन गरिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । आवश्यकताका आधारमा मोटरेवल पुल निर्माण गरिनेछ । कतिपय सडक बनिसकेपनि पुल निर्माण नहुँदा आउँजाउँ गर्न समस्या हुनेगरेको छ । आवश्यकताका आधारमा प्रदेश सरकारले पुल निर्माण गरिदिन लागेको हो । आवश्यक देखिएका स्थानहरूमा पुल निर्माण गरिने भौतिक मन्त्रालयले जनाएको छ ।

यो वर्ष १३ वटा मोटरेवल पुल निर्माणका लागि बजेटको स्रोत सुनिश्चित गरिएको मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले बताए । उनका अनुसार आवश्कयताका आधारमा छनोट भएर आएका १३ पुल निर्माणका लागि बजेटको स्रोत सुनिश्चित गरिएको हो । अघिल्ला आर्थिक वर्षहरूमा सम्झौता भएका पुल निर्माण भइरहेका छन् । यो वर्ष माग भएर आएका नयाँ १३ वटा पुल निर्माण गर्न लागिएको हो ।

 

९० वटा झोलुंगे पुल निर्माण गरिने

यसैगरी चालु आर्थिक वर्षभित्रमा कर्णाली प्रदेशभर ९० वटा झोलुङ्गे पुल निर्माण गरिने भएको छ । यीमध्ये कतिपय गत वर्षका निर्माणाधिन योजना रहेको र कतिपय अहिले थप भएका पुल रहेको प्रदेश सरकारले जनाएको छ । पुराना सम्पन्न हुने र नयाँ योजना थपिँदै जानु नियमित नै हुने भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ । जसअनुसार यो वर्ष ९० वटा नयाँ पुल निर्माण गर्ने लक्ष्य प्रदेश सरकारले राखेको छ ।

भौगोलिक रूपले विकट र दुर्गम स्थानहरूका जनताको यातायात सेवाको पहुँचमा सहजता एवम् सुधार गर्न झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । संघ र स्थानीय तहसँग सहकार्य गरी आधा घण्टाको हिँडाइ दुरीभित्र पहुँच सुविधा पु¥याउने लक्ष्य राखिएको छ ।

प्रकाशित मितिः   २ बैशाख २०८२, मंगलवार ०६:०६