दशौँ राष्ट्रिय खेलकुद फेरि स्थगित

 

सुर्खेत: कर्णाली प्रदेशमा आयोजना हुने तय भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि स्थगित भएको छ । आगामी जेठमा हुने भनिएको प्रतियोगिता तेस्रो पटक स्थगित भएको हो ।

शुक्रवार बसेको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले जेठमा प्रतियोगिता गर्न नसकिने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नै प्रतियोगिता जेठमा गर्न नसकिने प्रस्ताव बैठकमा राखेका थिए । मन्त्री चौधरी खेलकुद परिषद्का अध्यक्ष पनि हुन् ।

यसअघि एमाले निकट परिषद्का उपाध्यक्ष ध्रुव आर्चायसहित बोर्ड सदस्यले बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । त्यसपछि दशौँ सार्ने विषयले प्राथमिकता पाएको एक बोर्ड सदस्यले जानकारी थिए । दशौँ राष्ट्रिय खेलकुद समयमै गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ जोडबल गर्दै आएका थिए ।

दशौँ राष्ट्रिय खेलकुद २०८२ जेठ ३ देखि १० गतेसम्म निर्णय गरिएको थियो । यो मिति बोर्डले निर्धारण गरेको तेस्रो मिति हो । यसअघि पहिलो पटक मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा आयोजना गरिने घोषणा गरिएको थियो । तर तोकिएको मितिमा खेलकुद हुन नसकेपछि चैत २३ देखि ३० गतेसम्म प्रतियोगिता आयोजना गर्ने गरी मिति सारिएको थियो । चैतमा पनि खेलकुद आयोजना नभएपछि फेरि जेठमा मिति सारिएको थियो ।

२०७९ सालमा गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदको समापनको अवसरमा दुई वर्षपछि २०२८१ मंसिरमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्ने गरी झण्डा हस्तानतरण गरिएको थियो । तर भौतिक पूर्वाधार र विभिन्न कारण देखाउँदै निर्धारित समयमा दशा हुन सकेन र पहिलो पटक मिति सारेर २०८१ चैतमा गर्ने निर्णय गरिएको थियो । आर्थिक कारण देखाउँदै चैतमा पनि गर्न नसकिने भन्दै दोस्रो पटक मिति सारेर २०८२ जेठमा पु¥याइएको थियो । अब जेठमा पनि नहुने भएको छ ।

सरकारले प्रतियोगिताका लागि ६० करोड रूपैयाँ बजेट विनियोजन गरिसकेको छ । कर्णाली प्रदेशले पहिलोपल्ट प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी लिएको हो । यसका लागि प्रदेश सरकारले झन्डै दुई अर्ब रूपैयाँभन्दा बढी खर्च गरेर खेलकुद पूर्वाधार निर्माण गरिसकेको छ ।

प्रकाशित मितिः   ३० चैत्र २०८१, शनिबार १७:४६