चोक–चौतारा सुधार गर्दै वीरेन्द्रनगर
सुर्खेत: पछिल्लो समय वीरेन्द्रनगरमा धमाधम पूर्वाधार विकास भइरहेको छ । प्रदेशको राजधानी भएकाले पनि पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको छ । वीरेन्द्रनगरमा पूर्वाधार निर्माण मात्र होइन संरचनाहरूको सुधार र सजावटमा पनि उत्तिकै ध्यान दिएको देखिन्छ ।
पर्यटन पूर्वाधार निर्माण योजना अनुरूप नगरपालिकाले काम गरिरहेको छ । आवश्यकताका आधारमा ताल तथा पार्क निर्माण योजनालाई पहिलो प्राथमिकतामा राखिएको छ । यतिबेला वीरेन्द्रनगर पर्यटकको रोजाई बन्न पुगेको छ । अन्य पूर्वाधार निर्माणको योजनालाई प्राथमिकतामा राखेको वीरेन्द्रनगर नगरपालिकाले बजार क्षेत्रलाई सुन्दर बनाउने योजना ल्याएको छ । उक्त योजना अनुरूप पर्यटन प्रवद्र्धनको काम भइरहेको जनाइएको छ । गत आर्थिक वर्षबाट नगरपालिकाले चोक सुधार कार्यक्रम ल्याएको छ । बजार क्षेत्रका चोक, चौताराहरूको संरक्षण र सजावट गर्ने उद्देश्यले चोक सुधार कार्यक्रम कार्यान्वयन गरिरहेको नगरपालिकाले जनाएको छ ।
गत आर्थिक वर्षबाट चोक सुधारको योजना निर्माण गरेर कार्यक्रम कार्यान्वयन भइरहेको हो । उक्त वर्ष चोक सुधार कार्यक्रम कार्यान्वयनका लागि ४९ लाख ९८ हजार बजेट विनियोजन गरिएको थियो । ४६ लाख आठ हजारमा ठेक्का सम्झौता गरेर काम अघि बढाइएकोमा ४२ लाख ९५ हजार बजेट खर्च भएको नगरपालिकाका सव–इन्जिनियर राजन तिवारीले बताए । उनका अनुसार गएको वर्ष पाँच वटा चोक सुधारको काम गरिएको छ । वीरेन्द्रनगर बजार क्षेत्रभित्रका चोकहरूको सजावटको काम गरिएको हो । बजारक्षेत्रका नगर अस्पताल नजिक, पीपल चौतारा, मंगलगडीचोक, घण्टाघरचोक र कालिञ्चोकमा चोक सुधारको काम गरिएको छ । नगरपालिकालाई सुन्दर एवम् आकर्षक बनाउनका लागि नगरपालिका आवश्यकताका आधारमा चोकहरूको सुधारको काम गरिरहेको छ ।
गत आर्थिक वर्षमा कार्यक्रम प्रभावकारी मानिएपछि यो वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको छ । चालु आर्थिक वर्षमा समेत नगरपालिकाले बजेट विनियोजन गरेर कार्यक्रम कार्यान्वयन गरेको छ । यो वर्ष चोक सुधार कार्यक्रम कार्यान्वयन गर्नका लागि ३४ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ । यो वर्ष पनि ठेक्का सम्झौता गरेर चोक सुधार कार्यक्रम कार्यान्वयन भइरहेको नगरपालिकाका सव–इन्जिनियर रावतले बताए ।
यो वर्ष २४ लाख ९३ हजारमा ठेक्का सम्झौता गरेर काम अघि बढाइएको छ । वल्र्ड ह्यारीजम कन्ट्रक्सन र नगरपालिकाबीच योजनाको सम्झौता गरिएको छ । २०८२ जेठ मसान्तसम्म काम सक्नेगरी काम अघि बढाइएको जनाइएको छ । अहिले आवश्यकताका आधारमा चोक सुधारको काम भइरहेको नगरपालिकाले जनाएको छ । घण्टाघर वरिपरीको क्षेत्रमा काम भइरहेको छ ।
वीरेन्द्रनगरमा पर्यटकीय सम्भावना धेरै छन् । अहिले नगरपालिकाले पहिचान गरेर संरक्षण र निर्माण योजनालाई अघि बढाएको छ । बुलबुले ताल, काँक्रेविहार, देउती बज्यै, सहिद पार्क र घण्टाघर पार्क पर्यटकको पहिलो रोजाइमा पर्ने गरेका छन् । उक्त पर्यटकीय क्षेत्रहरूको नगरपालिकाले संरक्षण र निर्माणमा जोड दिएको हो । नगरपालिकाले आन्तरिक आम्दानीको स्रोत पर्यटन प्रवद्र्धन हुनसक्ने जनाएको छ । पूर्वाधार निर्माण गरेर पर्यटन प्रवद्र्धनमा जोड दिएको नगरप्रमुख मोहनमाया ढकालले बताइन् । उनका अनुसार यो वर्ष पनि पालिकाले बजेटको विनियोजन गरेर काम गरिरहेको छ ।
पुराना संरक्षण, नयाँ क्षेत्र विस्तार
नगरपालिकाले पर्यटन प्रवद्र्धनमा जोड दिएको छ । संरक्षणको अभावमा रहेका ताल, पार्क र चौतारी पुनःर्निर्माण गरेर पर्यटन प्रवद्र्धन गर्ने योजना बनाइएको नगरपालिकाले जनाएको छ । बुलबुलेमा ताल संरक्षण, घण्टाघरमा पार्क निर्माण र छहारी बस्नका लागि वर–पिपलसहितका चौतारी संरक्षण गरिएको नगरप्रमुख ढकालले बताइन् । उनका अनुसार अहिले बुलबुले ताल र घण्टाघर पार्क अवलोकन गर्ने नागरिकको घुइचो लाग्ने गरेको छ ।
बिदाको समयमा बुलबुले तालमा मात्र दैनिक सात सय जनाले अवलोकन गर्ने गरेको जनाइएको छ । त्यहाँको डुङ्गा प्रमुख आकर्षक हो । नगरपालिकाले जीर्ण अवस्थामा रहेका संरचनाको पुननिर्माण गरेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले वर–पिपलसहितका चौतारी निर्माण तथा नयाँ–नयाँ पर्यटकीय संरचनाको निर्माणमा जोड दिएको हो । वीरेन्द्रनगरको अर्को प्रमुख पर्यटक गन्तव्यको रूपमा सहिद पार्कलाई लिन सकिन्छ । पार्क व्यवस्थित बनेसँगै दैनिक पार्क अवलोकन गर्नेको घुइचो लाग्ने गरेको छ ।
साझा बिसौनी ।