‘कँडेल सरकार’को एक वर्ष: यस्तो छ प्रगति विवरण

सुर्खेत: कर्णाली प्रदेश सरकारले एक वर्षको प्रगति विवरण सार्वजनिक गरेको छ । सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएपछि मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो वार्षिक कार्यप्रगति सार्वजनिक गरेका हुन् ।

बिहीवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलनमार्फत् ११ पृष्ठ लामो प्रगति विवरण सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको विवरणमा पूर्वाधार निर्माण योजनालाई प्राथमिकतामा राखिएको छ ।

पालिकामा सडक पहुँच निर्माण कार्यलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाइएको छ । कँडेलले कार्यभार सम्हालेदेखि नै उपलब्ध संरचना, प्रणाली र जनशक्तिलाई प्रभावकारी रूपमा संयोजन गरेर कर्णालीवासीको विकास, सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने दिशामा सबै सरोकार पक्षसँग सहकार्य गर्दै अगाडि बढेको बताए । ‘नयाँ–नयाँ कार्यक्रम ल्याइने तर पूरा नहुने समस्यालाई सूक्ष्म विश्लेषण गर्दै प्रदेश सरकारबाट विगतमा सुरुवात गरिएका महŒवपूर्ण र रणनीतिक कार्यक्रमलाई आवश्यक सुधारसहित नतिजामूलक ढङ्गबाट कार्यान्वयन गर्न जोड दिएको छु,’ उनले भने ।

२०८० चैत २७ नेकपा (माओवादी केन्द्र)को समर्थनमा मुख्यमन्त्री बनेका कँडेलले चार महिना नबित्दै २०८१ साउनमा सत्ता साझेदार दल फेर्नु परेको थियो । अहिले नेपाली कांग्रेससँगको सहकार्यमा कँडेल नेतृत्वको सरकार छ ।

मुख्यमन्त्री कँडेलले दोस्रो पञ्चवर्षीय योजना निर्माणदेखि विभिन्न १० वटा जिल्लामा गरेको भ्रमणलाई पनि उपलब्धिको रूपमा प्रस्तुत गरेका छन् । प्रदेशमा सुशासन कायम गराउने सवालमा निर्मम भएर लागेको दाबी गरेका छन् । उनले जथाभावी बजेट वितरण प्रवृत्तिमा रोक लगाएको, मनलाग्दी रकमान्तर रोकेको, उपभोक्ता समितिबाट हुने बदमासीलाई नियन्त्रण गरेको पनि प्रगति विवरणमा उल्लेख गरेका छन् ।

त्यस्तै विगतमा अलपत्र परेको मंगलगढी–लाटीकोइली सडक यसै वर्ष निर्माण पूरा भएको, बालुवा संग्रही–खलङ्गा सडक, सल्लीबजार–चौरजहारी सडक, बड्डीचौर–खम्बागाडेलगायत विगतमा अलपत्र आयोजनाको काम सुचारु हुनुलाई आफ्नो प्रगति विवरणमा उल्लेख गरेका छन् भने कानुन निर्माण, मन्त्रिपरिषद्का निर्णयदेखि नियमित हुने सडक, बिजुली, खानेपानी, पुल निर्माणलाई पनि सरकारले ठूलो उपलब्धि मानेको छ ।

कर्णाली प्रदेश सरकारले अहिलेसम्म नौ वटा ऐन निर्माण गरेको छ । पछिल्लो एक वर्षको अवधिमा भौतिक पूर्वाधारतर्फ कर्णालीमा ९५ किलोमिटर कालोपत्रे, दुई सय पाँच किलोमिटर ग्राभेल, २३ वटा पक्की पुल, ४२ वटा झोलुङ्गे पुल, आठ वटा सार्वजनिक भवन निर्माण भएको बताइएको छ ।

यसैगरी जनता आवास (संघतर्फ) ६ सय ६१, प्रदेशतर्फ दुई सय ३१ र विपन्न घर एक सय ५६ वटा निर्माण गरिएका छन् । रणनीतिक महŒवका मूलपानी–रानीघाट, ताल्चा –रारा–गमगढी, हुम्ला मानसरोवर प्रवेशद्वार, शेफोक्सुण्डो सडकको निर्माण कार्य सुरु गरिएको प्रगतिमा राखिएको छ ।

मुख्यमन्त्री कँडेलले साउन महिनामै बजेट कार्यान्वयनसम्बन्धी मातहतका निकायलाई नौ बुँदे प्रतिबद्धता गराए बमोजिम ७० प्रतिशत बढी अलपत्र आयोजनाको काम सुरु भएको दाबी गरेका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म १५ प्रतिशत विकास बजेट कार्यान्वयन हुनुलाई पनि मुख्यमन्त्रीले आफ्नो प्रगति ठानेका छन् । अघिल्लो वर्ष यही अवधिमा १२ प्रतिशत मात्र पुँजीगत खर्च भएको थियो । चैत मसान्तसम्म ३० प्रतिशत पुग्ने प्रदेश सरकारको दाबी छ । ९० प्रतिशत योजना कार्यान्वयनमा गएकाले असार मसान्तसम्म अधिकांश आयोजनाले पूर्णता पाउने मुख्यमन्त्रीको दाबी छ ।

लुम्बिनी र कर्णाली प्रदेशबीच समन्वय र सहकार्यका लागि सम्बन्ध विस्तार गरिएको र आवश्यक परेमा सुदूरपश्चिम प्रदेशसँग पनि सम्बन्ध विस्तार गर्न सकिने उनले बताए । सुर्खेत विमानस्थल विस्तार, १३२ केभी प्रसारण लाइन विस्तारमा पहल, पश्चिम सुर्खेतको गुटुमा सिमेन्ट उद्योग स्थापना गर्ने कार्यलाई समेत मुख्यमन्त्रीले प्राथमिकतामा राखेका छन् ।

यो अवधिमा नौ वटा ऐन र दुई वटा नियमावली तर्जुमा गरिएको, सात वटा कानुन तर्जुमाका लागि शैद्धान्तिक स्वीकृति प्रदान गरिएको, १५ वटा कार्यविधि र निर्देशिकाहरूसहित अन्य तीन वटा महत्त्वपूर्ण दस्तावेज पनि तर्जुमा गरिएको जनाइएको छ ।

प्रकाशित मितिः   २९ चैत्र २०८१, शुक्रबार १२:३१