कर्णालीमा अर्को अर्धजलाशययूक्त जलविद्युत आयोजना

सुर्खेत: कर्णालीमा अर्को ठूलो जलविद्युत आयोजना बन्न लागेको छ । जुम्ला जिल्लामा ७० मेघावाटको जलविद्युत आयोजना बन्न लागेको हो । जिल्लाको तिला नदीमा ७० दशमलव ३७ मेघावाटको विद्युत आयोजनाका लागि प्रि–फिजिविलीटी अध्ययनको काम थालिएको छ । अहिले अध्ययनको काम धमाधम भइरहेको जनाइएको छ ।

अध्ययनको काम नेपाल विद्युत् प्राधिकरण इन्जिनियरिङ सेवा निर्देशनालयले गरिरहेको छ । सरकारी तबरबाट यो आयोजना सञ्चालनको तयारी गरिएको हो । नेपाल विद्युत प्राधिकरण जवा तिला अर्धजलाशययुक्त जलविधुत आयोजना, नेपाल विद्युत प्राधिकरण, इन्जिनियरिङ सेवा निर्देशनालय वातावरण तथा सामाजिक अध्ययन विभाग लाजिम्पाट काठमाडौंले जारी गरेको सूचनामा ७० दशमलव ३७ मेघावाटको वातावरणीय प्रभाव मूल्यांकन निर्धारणसम्बन्धी सार्वजनिक सूचनाको प्रस्ताव गरिएको छ ।

नेपाल विद्युत प्राधिकरण इन्जिनियरिङ सेवा निर्देशनालय वातावरण तथा सामाजिक अध्ययन विभागका अनुसार जवा तिला अर्धजलाशययूक्त जलविद्युत आयोजना (७० दशमलव ३७ मेघावाट) जुम्ला जिल्ला तथा कालीकोट जिल्ला हुँदै बहने तिला नदीमा प्रस्ताव गरिएको छ । आयोजनाले ऊर्जाको माग उच्च रहेको बेलामा समेत पिकिङ्ग रन अफ दि एयरको रूपमा दैनिक ६ घण्टा विद्युत उत्पादन गर्नेगरी निर्माण गरिनेछ । सामाजिक अध्ययन विकागका अनुसार यो विद्युत जुम्ला जिल्लाको तिला गाउँपालिका रारालिहीको पद्दुखोला स्थानमा १८ मिटर अग्लो तथा ५७ दशमलव ५० मिटर लामो बाध निर्माण गरिनेछ ।

बाधबाट ६.४२३ किमी लामो सुरुङमार्फत पानी नाग्ममा रहेको विद्युत गृहमा खसाइने छ । नेपाल विद्युत प्राधिकरणका निर्देशक नसिबमान प्रधानले प्रि–फिजिविलिटी अध्ययनको काम भइरहेको बताए । उनका अनुसार जुुम्लालाई केन्द्र बनाएर अगाडि बढाउन लागिएको छ । अब यो आयोजना अगाडि बढाउन वातावरण प्रभाव मूल्यांकनपछि डिजाइन स्टमेट तयार गरि स्रोत सुनिश्तितालगायत विभिन्न चरणमा काम गरेर अगाडि बढाउने लक्ष्य रहेको छ । जुम्लामा निर्माण भइरहेको विद्युत प्राधिकरण सब स्टेसनले पनि विद्युत प्रवाहमा गुणस्तरता कायम गर्ने तथा यो परियोजना अगाडि बढेमा राज्यलाई नै फाइदा हुनेगरी अगाडि बढाउन लागिएको हो । माओवादीका नेता तथा पूर्वमन्त्री नरेश भण्डारीले जुम्लामा निर्माण हुने ठूलो जलविद्युत आयोजनाले प्रदेशलाई नै फाइदा पुग्ने बताए । उनका अनुसार लामो पहलपछि आयोजनाको कामले पूर्णता पाएको छ । उत्पादनशिल र उज्यालो जुम्लाको अभियनमा जुटेको बताउँदै आयोजनाको प्रि–फिजिविलिटी अध्ययन, लाइसेन्स प्राप्तिको विषय हुँदै वातावरणीय प्रभाव मूल्यांकनसम्बन्धी क्षेत्र निर्धारणका लागि लिखित माग गरिने समेत उनले बताए । जलविद्युत सम्भावनाको खानी जुम्लामा पहिलो पटक ठूलो आयोजना सञ्चालन गर्न लागिएको भण्डारीको भनाइ छ ।

 

धेरै आयोजना अध्ययनकै चरणमा

कर्णालीका धेरै जलविद्युत आयोजना अध्ययनकै चरणमा रहेका छन् । कमैले मात्र विद्युत विकास विभागबाट उत्पादन अनुमति लिएका छन् । कर्णालीलाई परीक्षणको रूपमा मात्र हेरिएको छ । अहिलेसम्म ठूलो आयोजना सञ्चालनमा छैनन् । लगानीमैत्री वातावरण नहुँनु, धेरै आर्थिक लाभ लिन नसक्नुले पनि आयोजना निर्माणमा लगानी कर्ताले चासो दिएका छैनन् । अझभन्दा त वर्षाैंदेखि आयोजना निर्माणका नाममा नदी होल्ड गरेर बसेको देखिन्छ ।

माथिल्लो कर्णाली जलविद्युत आयोजना बन्ने आशमा कर्णाली नदी भारतीय कम्पनीले होल्ड गरिरहेको छ । बन्लाबन्ला भन्नेबेला फेरि आयोजनाले अर्को मोड लिने गरेको छ । यसो हेर्दा यो आयोजनाबाट आशाभन्दा निराशा बढी छ । अहिले भने केही चलायमान जस्तो देखिएको छ । माथिल्लो कर्णाली जलविद्युत आयोजनाको सेयर दुई भारतीय कम्पनीहरूबीच किनबेच भएको छ । जसलाई नेपालले समेत मान्यता दिएको छ । भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राओ (जीएमआर) ले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको सेयर भारतकै सरकारी लगानीको सतलज जलविद्युत विकास निगमलाई बेचेपछि त्यसलाई नेपालले मान्यता दिएको हो ।

संशोधिन संरचनाअनुसार अब यस आयोजनामा जीएमआरको ३४ र सतलजको ३४ प्रतिशत गरी बराबर सेयर स्वामित्व हुनेछ । यस्तै भारतीय नवीकरणीय ऊर्जा विकास संस्था (इरेडा) लिमिटेडले पाँच प्रतिशत सेयर पाउने भएको छ । उसले यस आयोजनामा वित्तीय लगानी गर्ने समझदारी पनि बनेको छ । यी तीन वटा भारतीय कम्पनीबीच गत भदौ २४ गते नै यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सतलजले पूर्वी नेपालमा अरुण तेस्रो जलविद्युत आयोजना निर्माण गरिरहेको छ । सतलजले अरुण पाउँदा नै जीएमआरले माथिल्लो कर्णालीको अनुमति पाएको थियो । तर, जीएमआरले वित्तीय व्यवस्थापन नगरी यो आयोजना ओगटेर मात्र बस्दा पनि सरकारले पटकपटक म्याद थप गर्दै आएको थियो । यस आयोजनामा नेपाल विद्युत प्राधिकरणको २७ प्रतिशत स्वामित्व हुनेछ । यो आयोजना बनाउन एक खर्ब ६२ अर्ब लागत पने अनुमान गरिएको छ ।

प्रकाशित मितिः   २८ चैत्र २०८१, बिहीबार १०:३९