प्रदेश सुरक्षा योजना: भौतिक पूर्वाधारको सुदृढीकरण

सुर्खेत: पछिल्लो समय वीरेन्द्रनगरमा सुरक्षा चुनौती बढ्दो क्रममा छ । चोरी तथा सवारी दुर्घटनाको जोखिम उच्च हुँदै गएको छ । संघीयता कार्यान्वयनसँगै प्रदेश राजधानी वीरेन्द्रनगरको जनघनत्व बढ्दो अवस्थामा छ । सोही अनुपातमा सवारी साधनको चाप पनि बढ्दै गएको छ । बढ्दो सवारी चाप र सहरीकरणका कारण दुर्घटना, चोरी, लुटपाट र विभिन्न अपराधका घटनाको चुनौती बढेको प्रहरीको तथ्यांक छ ।

सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै अनुसन्धानमा सहयोगी मानिएको सीसी क्यामेरा न्यून रहँदा समस्या भएको छ । घटनाको छानबिन तथा अनुसन्धानमा सार्वजनिक ठाउँमा राखिएका सीसी क्यामेरा निकै प्रभावकारी हुने प्रहरीको भनाइ छ । तर, वीरेन्द्रनगरमा पर्याप्त मात्रामा सीसी क्यामेरा नहुँदा शान्ति सुरक्षामा चुनौती बढिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । वीरेन्द्रनगरको मुख्य सडक, चोक र राजमार्गहरूमा पर्याप्त सीसी क्यामेरा नहुँदा र भएका सीसी क्यामेरा पनि बिग्रिएका कारण शान्ति सुरक्षामा चुनौती हुने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एवम् प्रहरी उपरीक्षक रूपेश खड्काले बताए । खड्काका अनुसार वीरेन्द्रनगरमा ९२ वटा सीसी क्यामेरा छन् । तर तीमध्ये अधिकांश बन्द अवस्थामा छन् ।

वीरेन्द्रनगर बजारका मुख्य स्थानमा जडान गरिएका ९२ मध्ये ५७ वटा सिसी क्यामेरा प्रयोगविहीन बनेका छन् । ३५ वटा मात्र सञ्चालनमा छन् । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी सहर भएकाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै ९२ वटा स्थानमा सिसी क्यामेरा राखिएका थिए । विभिन्न चरणमा गरी मुख्यचोक र बजार क्षेत्रमा जडान गरिएका अधिकांश क्यामेरा भने लामो समयदेखि बिग्रिएका छन् ।

 

प्रदेश सुरक्षा योजना

बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गरेर कर्णाली प्रदेश सरकारले सुरक्षा योजना निर्माण गरेको छ । संघीय सरकारसँगको सहकार्यमा प्रदेशभित्रका सुरक्षा निकायको भौतिक पूर्वाधारको सुदृढीकरण गर्न लागेको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर सुरक्षा रणनीति योजना निर्माण गरिएको प्रदेश सरकारले जनाएको छ । मुख्य सीमा नाकामा अपराध नियमन्त्रण गर्न डिजिटल गेट र प्रदेश राजधानी वीरेन्द्रनगरलगायत संवेदनशील स्थानमा सिसी क्यामेरा जडान गर्न लागिएको छ ।

प्रदेश सुरक्षा योजनाअन्तर्गत कर्णाली प्रदेश प्रवेशको प्रमुख नाका बबईमा अत्याधुनिक स्वचालित सिसी क्यामेरा जडान गरिएको छ । प्रदेश भित्रने र बाहिरिने सवारी साधनहरूको डिजिटल प्रविधि स्वचालित नम्बर प्लेट पहिचान गर्ने सिसी क्यामरा जोडिएको हो । क्यामेरा जोडिएसँगै प्रहरीहरू सडकमा आउनुपर्ने र सवारी साधनहरू रोकेर नम्बर दर्ता गर्नुपर्ने झन्झट हटेको छ । अत्याधुनिक सिसी क्यामराले गाडीको नम्बरसहितको आवश्यक विवरणहरू कम्प्यूटरमा लिपिबद्ध हुनेछ । जसले गर्दा अब बबई नाकामा गाडीहरू नरोकिएरै जाने–आउने गर्दछन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशले भवन र स्वचालित नम्बर प्लेट पहिचान गर्ने सिसी क्यामरासहितको सामाग्री जोडेको हो । अन्य स्थानमा समेत अत्याधुनिक स्वचालित सिसी क्यामेरा जडानका लागि माग गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । अन्य एक÷दुई स्थानमा स्वचालित सिसी क्यामेराको माग गरिएको प्रहरी उपरीक्षक रूपेश खड्काले बताए । उनका अनुसार मागसहितको फाइल आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पेस गरिएको छ । सिसी क्यामरा जडानभएसँगै प्रहरी जनशक्तिसमेत कम परिचालन हुनेछन् ।

प्रदेश सरकारले सुरक्षा योजना निर्माण गरेर काम गरिरहेको छ । तर यतिले मात्र पर्याप्त छैन । दुर्घटनाको जोखिम बढ्दो छ । जीर्ण सडक, चालकको लापरबाही र यात्रुले सावधानी नअपनाउनु दुर्घटनाको प्रमुख कारक भएको खड्काको भनाइ छ । अनुमति नदिइएका सडकमा सवारी चलाउनु, मर्मतमा सम्बन्धित निकायले चासो नदिनु तथा ट्राफिक नियमको पालना नगर्दा दुर्घटनाको जोखिम कम हुन नसकेको हो । सडकमा पैदल यात्रु र सडक यात्रुलाई छुट्टाछुट्टै सडक छैनन् । बढ्दो सडक अतिक्रमणजस्ता कारणले पनि दुर्घटना बढिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   २६ चैत्र २०८१, मंगलवार ०६:०६