न्याय माग्दै आत्मदाह प्रयास

 

सुर्खेत: न्याय नपाएको भन्दै दुई जना महिलाले आत्मदाहको प्रयास गरेका छन् । जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मइपकी निर्मला शाही र सर्मीला शाहीले बुधवार उच्च अदालत सुर्खेतको अगाडि आत्मदाह प्रयास गरेका हुन् ।

आत्मदाह गर्ने प्रयास गर्ने शाहीद्धयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रीमान् रामबहादुर शाहीको हत्यामा संलग्नलाई जिल्ला अदालतले धरौटीमा छोडेको भन्दै उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्नुपर्ने माग राखेर उनकी श्रीमती निर्मलाले उच्च अदालतमा पुनरावेदन गरेकी थिइन् । पुनरावेदनसँगै उनी बुधवारदेखि उच्च अदालतको गेटमा धर्नामा बसेकी थिइन् । बिहीवार दिउँसो निर्मलासँगै धर्नामा बसेकी सर्मीलाले पेट्रोल ल्याएर शरीरमा खन्याई आगो लगाउने प्रयास गरेपछि तत्कालै प्रहरीले दुवैलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्रवीर विश्वकर्माले आत्मदाहको प्रयास गरेपछि दुबैलाई नियन्त्रणमा लिइएको बताए । ‘उहाँ (निर्मला) बुधवारदेखि शान्तिपूर्ण धर्नामा हुनुहुन्थ्यो,’ डिएसपी विश्वकर्माले भने, ‘बिहीवार सर्मिलासहित धर्नामा बसिराखेको बेला पेट्रोल छर्केर आत्मदाहको प्रयास भएपछि नियन्त्रणमा लिएका हौँ ।’ आत्मदाह गर्न उक्साउने सर्मिलालाई मात्रै नियन्त्रणमा लिइएको भएपनि निर्मलाले पनि सँगै जाने भनेपछि दुवैलाई नियन्त्रणमा राखिएको उनको भनाइ छ ।

 

शाहीको शंकास्पद मृत्यु

गत माघ १८ मा जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं. ६ मइपका रामबहादुर शाहीको शंकास्पद मृत्यु भएको थियो । अघिल्लो दिन वडा नं. ५ स्थित शिवपुरी माध्यमिक विद्यालयमा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हेर्न गएका शाहीको सोही ठाउँको काहाँरे खोलानजिक उनको शव फेला परेको थियो ।

शाहीको शव शंकास्पद अवस्थामा फेला परेपछि इलाका प्रहरी कार्यालय गर्खाकोटबाट प्रहरी नायब निरीक्षक पूर्णबहादुर रानाको टोली अनुसन्धानमा खटियो । घटना थप शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक दिनेश तिमिल्सिनाको कमान्डमा थप प्रहरीको अनुसन्धान टोली घटनास्थलमा खटिएर अनुसन्धान थाल्यो । प्रारम्भिक अनुसन्धानबाट घटनास्थलमा रगतजस्तो देखिने रातो पदार्थ र उनको टाउको तथा कानमा चोट लागेको खुलेपछि रामबहादुरको हत्या भएको हुन सक्ने निश्कर्षमा प्रहरी पुग्यो ।

अनुसन्धानका क्रममा रामबहादुरको हत्यामा संलग्न भएको आरोपमा जाजरकोट प्रहरीले नौ जनालाई पक्राउ गरेर कानुनी प्रक्रिया थाल्यो । प्रहरीले रामबहादुरको हत्यामा संलग्न भएको आरोपमा सोही ठाउँका तुलाकुमारी शाही, बीरवहादुर शाही, जयबहादुर शाही, प्रेमवहादुर शाही, रत्नवहादुर शाही, मैसरा शाही, रेशमवहादुर शाही, रामवहादुर शाही र एक नाबालकलाई पक्राउ गरी अनुसन्धान अघि बढायो । जाजरकोट प्रहरीले उनीहरू विरुद्ध ११ फागुनमा जिल्ला अदालत जाजरकोटमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरायो । अदालतले १३ फागुनमा थुनछेक बहसपछि पाँच जनालाई धरौटी र चार जनालाई कारागार चलान गर्‍यो ।

अदालतले दुई लाख ५० हजारमा रत्नबहादुर शाही र एक लाख धरौटीमा मैसरा शाहीलाई छोड्न आदेश दिएको थियो । जिल्ला अदालत जाजरकोटका सूचना अधिकारी रामसिंह ठकुरीका अनुसार रेशमबहादुर शाही, रामबहादुर शाही र नाबालकलाई अदालतले साधारण धरौटीमा छाडिएको थियो । तर, अदालतले श्रीमान्को हत्यामा संलग्न व्यक्तिलाई छाडिएको भन्दै न्याय माग्न निर्मला उच्च अदालत सुर्खेतमा आइपुगेकी हुन् ।

प्रकाशित मितिः   २२ चैत्र २०८१, शुक्रबार १०:४९