एमयूमा स्ववियु निर्वाचन

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन भएको छ । सोमवार भएको मतदानमा दुई हजार आठ सय ६४ विद्यार्थीले मतदान गरेका छन् ।
निर्वाचन अधिकृत खगेन्द्रप्रसाद अधिकारीका अनुसार समानुपातिकतर्फ दुई हजार आठ सय ६२ मत खसेको छ । चार हजार तीन सय ८३ मतदाता रहेको विश्वविद्यालयमा एक हजार पाँच सय १९ विद्यार्थी मतदानमा सहभागी भएनन् ।

मतदानबाट तीन पदाधिकारी सहित १७ सदस्यीय कार्यसमिति चयन हुनेछ । स्ववियु निर्वाचन कार्यविधिअनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष गरी तीन पदाधिकारी र सात जना सदस्य मतदाताबाट प्रत्यक्ष निर्वाचित हुन्छन् भने सात जना सदस्य समानुपातिक पद्धतिबाट निर्वाचित हुने प्रावधान छ । दुवै प्रणालीबाट निर्वाचित १४ जना सदस्यमध्येबाट कार्यसमितिले एक उपाध्यक्ष र एक सहसचिव चयन गर्ने व्यवस्था छ । त्यसपछि कार्यसमितिमा पाँच पदाधिकारी र १२ जना सदस्य रहन्छन् ।

स्ववियु नेतृत्वविहीन भएको ६ वर्षपछि विश्वविद्यालयमा निर्वाचन भएको हो । यसअघि २०७३ मा भएको पहिलो स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारीको अवधि २०७६ मा सकिएपछि एमयूको स्ववियु नेतृत्वविहीन छ ।

प्रकाशित मितिः   १९ चैत्र २०८१, मंगलवार ०९:५३