स्याटलाइट अस्पतालको कार्ययोजना स्वीकृत
सुर्खेत: राकम कर्णालीमा ५० शैय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दैलेखको आठबिस नगरपालिका ४ राकममा स्याटलाइनट अस्पताल सञ्चालन गर्न लागेको हो । प्रतिष्ठान सभाको ११औँ बैठकले त्यसका लागि कार्ययोजना स्वीकृत गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार भएको बैठकले १५ शैय्याको आधारभूत अस्पताललाई स्तरोन्नति गर्ने कार्ययोजना स्वीकृत गरेको हो । गत माघ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले राकमको आधारभूत अस्पताललाई ५० शैय्यामा स्तरवृद्धि गरी प्रतिष्ठानले सञ्चालन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सोही निर्णय कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन प्रतिष्ठानले कार्ययोजना अनुमोदन गरेको छ ।
कार्ययोजना स्वीकृत भएसँगै अब अस्पताल स्तरोन्नतिको काम अघि बढ्ने छ । संघीय सरकारले अस्पतालको सम्पूर्ण व्यवस्थापन र सञ्चालनको जिम्मेवारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिएको छ । अस्पतालको पूर्वाधार, जनशक्ति र स्रोत सुनिश्चितताका लागि प्रतिष्ठानले नेपाल सरकार र अन्य पक्षसँग पनि समन्व्य र प्रस्ताव गर्ने जनाइएको छ । बैठकमा प्रधानमन्त्री एवम् प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले कार्ययोजनाबारे सम्बन्धित स्थानीय तहसँग आवश्यक परामर्श र सहकार्य गरेर तीव्र रूपमा काम अघि बढाउन निर्देशन दिएका थिए । उनले प्रतिष्ठान आरम्भदेखि नै नेपाल सरकारले पूर्ण लगानी गरेकाले अस्पतालको स्तरोन्नति भएपछि त्यहाँका जनताको सहज स्वास्थ्य सेवाका लागि सरकारले सक्दो सहयोग गर्ने विश्वास दिलाए ।
प्रतिष्ठानले तत्कालका १५ शैय्याको अस्पतालकै सेवालाई सुधार गर्नेगरी काम सुरु गरिसकिेको छ । शैय्या थपका लागि अन्य संरचना निर्माण नहुँदासम्म १५ शैय्याबाट सेवा सुरु गर्नेगरी प्रक्रिया अघि बढाइएको प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले बताए । उनका अनुसार प्रतिष्ठानबाट जनशक्ति परिचालन गरेर सेवा दिन लागिएको छ ।
अहिले अस्पताल सञ्चालनका लागि काम भइरहेको उनको भनाइ छ । जनशक्ति व्यवस्थापन लगाएका काम भइरहेको जानकारी दिए । ‘प्रतिष्ठानले सेवा सुरु गरेको छ, केही व्यवस्थापनका काम भइरहेका छन्, अबको केही समयमा व्यवस्थित सेवा सुरु गर्छाैं’ उनले भने । प्रतिष्ठानको विकास र विस्तारसँगै कर्णालीका नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउने रावलको भनाइ छ ।
प्रतिष्ठानले सेवा सुरुसँगै शिक्षण अस्पताल निर्माणको प्रक्रियासमेत अघि बढाएको छ । ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माण गर्न लागिएको हो । पाँच वर्षअघि आठबिस नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको सम्झौताअनुसार एक सय शैय्याको ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढाइएको थियो । तर निर्माणको काम भने अघि बढ्न सकेको थिएन । सरकारले आवश्यक बजेट विनियोजन नगर्दा अस्पताल निर्माणको काम अघि नबढेको हो । अहिले बजेटको व्यवस्थापन गरेर अस्पताल निर्माणको काम सुरु गर्न लागिएको छ ।
चालु आर्थिक वर्ष २०८१/०८२ मा संघीय सरकारले अस्पताल निर्माणका लागि बजेट विनियोजन गरेसँगै अस्पताल निर्माणको काम अघि बढाउन लागिएको हो । सरकारले चालु आर्थिक वर्षमा अस्पताल निर्माणका लागि दुई करोड बजेट विनियोजन गरेको छ । यो वर्षदेखि अस्पताल निर्माणको काम सुरु गरिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । सरकारसँग थप बजेट माग गरेर अस्पताल निर्माणको काम सुरु गर्न लागिएको प्रतिष्ठानका उपकुलपति डा. रावलले बताए । उनका अनुसार केही महिना अघि मात्र नयाँ डिपीआर निर्माण गरिएको छ । डिपीआर अनुसार एक अर्ब ७२ करोड लागत अनुमान रहेको छ ।
संघीय सरकारको नीति तथा कार्यक्रममा समेटिएको अस्पताल निर्माणको योजना यो वर्षदेखि कार्यान्वयनमा जान लागेको हो । डिपीआर संशोधन गरेर तयार पारिएकाले लागत अनुमान पनि बढेको छ । यसअघि बनेको डिपीआर अस्पतालको भवन निर्माणका लागि मात्र तयार पारिएको थियो । उक्त डिपीआरमा भवन निर्माणका लागि ९० करोडको लागत अनुमान छ । नयाँ निर्माण गरिएको डिपीआरमा अस्पतालका लागि निर्माण गरिने सम्पूर्ण संरचनाको लागत अनुमान तयार पारिएको छ । अस्पताल निर्माणका लागि गतवर्ष सरकारले बजेट नै विनियोजन गरेको थिएन । जसले गर्दा निर्माणको काम सुरु हुन सकेको थिएन । यो वर्ष सरकारले बजेट विनियोजन गरेसँगै निर्माणको काम थालिने भएको छ ।
यसैबीच प्रतिष्ठान सभाको बैठकमा प्रतिष्ठानको चालु आर्थिक वर्षको बाँकी अवधिको बजेट पारित हुनुका साथै गत आर्थिक वर्षको आन्तरिक लेखा परीक्षकको प्रतिवेदन जानकारी गराइएको छ । यसैगरी बैठकबाट आगामी आर्थिक वर्षको प्रस्तावित वार्षिक कार्यक्रमसहितको बजेट पारित गरिएको छ भने प्रतिष्ठानको रिक्त सभा सदस्यहरूको मनोनयन गरिएको छ । बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा, प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावललगायत सहभागी थिए ।
प्रकाशित मितिः १८ चैत्र २०८१, सोमबार १०:३९
साझा बिसौनी ।