एमयूमा स्ववियु निर्वाचनको रौनक: के छन् विद्यार्थी संगठनका एजेण्डा ?

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालय (एमयू) मा अहिले चुनावी रौनक छाएको छ । ६ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनले विश्वविद्यालयको माहोल तातेको छ ।

यही चैत १८ गते एमयू केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । विश्वविद्यालयमा क्रियाशील विभिन्न विद्यार्थी संगठनदेखि स्वतन्त्र उम्मेदवारहरूसम्म आफ्नो पक्षमा माहोल बनाउन जुटिसकेका छन् । नौ वटा विद्यार्थी संघ÷संगठन दर्ता भएकोमा सात वटाले मात्रै अध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यसैगरी एक जना स्वतन्त्र उम्मेदवार पनि छन् ।

एमयूमा पनि मुख्यगरी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ), नेकपा (एमाले) निकट अनेरास्ववियु र नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु क्रान्तिकारीबीच प्रतिस्पर्धा हुने अनुमान छ । यसअघि एमयूमा नेविसंघले जित हात पारेको थियो । २०७३ साल भदौमा नेविसंघका झक्कबहादुर शाही स्ववियु सभापति निर्वाचित भएका थिए ।

कर्णाली प्रदेशमै केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयमा हुन लागेको स्ववियु निर्वाचन विद्यार्थी संगठनहरूका लागि मात्रै नभएर प्रमुख राजनीतिक दलहरूका लागि पनि प्रतिष्ठाको विषय बन्ने गरेको छ । त्यसैले विद्यार्थी सँगसँगै दल र नेताहरूसमेत स्ववियु निर्वाचनका लागि दौडधूपमा छन् ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार केन्द्रीय क्याम्पसमा चार हजार तीन सय ८३ जना मतदाता रहेका छन् । जसले १७ सदस्यीय कार्यसमिति चयन गर्नेछन् । स्ववियु निर्वाचन कार्यविधि अनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष गरी तीन पदाधिकारी र सात जना सदस्य मतदाताबाट प्रत्यक्ष निर्वाचित हुन्छन् भने सात जना सदस्य समानुपातिक पद्धतिबाट निर्वाचित हुने प्रावधान छ । दुवै प्रणालीबाट निर्वाचित १४ जना सदस्यमध्येबाट कार्यसमितिले एक उपाध्यक्ष र एक सहसचिव चयन गर्ने व्यवस्था छ । त्यसपछि कार्य समितिमा पाँच पदाधिकारी र १२ जना सदस्य रहन्छन् ।

एमयूको स्ववियु निर्वाचन पटक–पटक विवादित हुँदै र सर्दै आएको छ । अघिल्लो कार्यसमितिलाई तत्कालीन उपकुलपति उपेन्द्र कोइरालाले कार्यकाल पूरा नहुँदै विघटन गरिदिएका थिए । कोइरालाको पदावधि सकिएपछि २०७६ मा नन्दबहादुर सिंह उपकुलपति भएर आए । उनले स्ववियु निर्वाचन गराउनेतर्फ ध्यान दिएनन् । विद्यार्थी संगठनहरूको दबाबमा तीन वर्षपछि अर्थात् २०७९ चैत ३ गते स्ववियु निर्वाचन हुने मिति तय भयो तर मतदानको पाँच दिनअघि उच्च अदालत, सुर्खेतमा रिट परेपछि निर्वाचन स्थगित भयो ।

रिटमा उच्च अदालतले सुनुवाइ गर्दै निर्वाचन स्थगित गर्न अन्तरिम आदेश जारी गरेको थियो । त्यो बेला व्यवस्थापन संकायका विद्यार्थीहरूले आफूहरू पनि निर्वाचनमा सहभागी हुन पाउनुपर्ने मागसहित रिट दायर गरेका थिए । विश्वविद्यालयका आङ्गिक क्याम्पसमा चुनाव भइसक्दा केन्द्रीय क्याम्पसमा भने मुद्दा÷मामिलाका कारण रोकिएको थियो । त्यसपछि गत भदौमा चुनाव गर्ने भनेर विद्यार्थी संगठनहरू दर्ता भइसकेका थिए । तर अन्तिम अवस्थामा आएर चुनाव स्थगित भयो । विज्ञान तथा प्रविधि संकायका विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले निर्वाचन स्थगित गर्न आदेश ग¥यो । त्यसपछि अदालतले नै चैत २० गतेभित्र चुनाव गरिसक्न भनेपछि अहिले विश्वविद्यालयमा चुनावको चहलपहल बढेको छ ।

 

के कस्ता छन् एजेण्डा ?

विभिन्न संघ संगठनहरूले विभिन्न एजेण्डामार्फत मतदातालाई आकर्षित गरिरहेका छन् । एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियु) बाट जगतजंग शाही अध्यक्षका उम्मेदवार छन् । उनी उक्त संगठनका प्रदेश कमिटी कोषाध्यक्षसमेत हुन् । शैक्षिक गुणस्तर सुधार गर्नु आफ्नो मुख्य एजेण्डा भएको उनको भनाई छ ।

त्यसैगरी जेहेन्दार र विपन्न विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापना गर्ने, स्वास्थ्य परामर्श केन्द्र सञ्चालन गर्ने, छात्राबासको व्यवस्थापन, अन्तर्राष्ट्रिय शैक्षिक भ्रमणको आयोजना, प्राविधिक धारको शिक्षालाई ध्यान दिने, एआई कक्षा सञ्चालन गर्ने लगायतका एजेण्डा शाहीका छन् । उनको टिमबाट सचिवमा भूपेन्द्र भण्डारी, कोषाध्यक्षमा विक्रम सिं मन्दिर मगर, सदस्यमा हिमाल उपाध्यक्ष, सुन्दर शाही, ढाकाराम लामिछाने, पंकज रेग्मी, रमेश खत्री, हस्त रोकाया र श्रवण खत्री उम्मेदवार छन् ।

यस्तै माओवादी निकट अखिल (क्रान्तिकारी)बाट अध्यक्ष पदका उम्मेदवार छन्, २४ वर्षीय प्रकाश विक । १८ वटा चुनावी प्रतिबद्धतासहित उनको संगठन चुनावी मैदानमा छ । शिक्षामा सिपमुखी, प्रयोगात्मक, अनुसन्धानमुखी तथा व्यावहारिक हुने नवीनतम् पाठ्यक्रम संशोधन र विकासमा पहल गर्ने, विश्वविद्यालयको व्यवस्थित शैक्षिक क्यालेण्डर, नतिजा प्रकाशन भएको एक हप्ताभित्र विद्यार्थीले जुनसुकै कागजात मागेको २४ घण्टाभित्र उपलब्ध गराउने व्यवस्था, गरिब, विपन्न विद्यार्थीलाई छात्रवृत्ति सुनिश्चित गर्ने, प्रत्येक संकायमा सुविधा सम्पन्न हेल्थ सेन्टर स्थापना गर्ने, वर्षमा दुई पटक हरेक विद्यार्थीको निःशुल्क स्वास्थ्य चेकजाँच लगायतका एजेण्डा अखिल (क्रान्तिकारी)का छन् ।

विकको टिमबाट सचिवमा मोहन चौलागाइँ, कोषाध्यक्षमा दीपबहादुर सुनार, सदस्यमा रेखा बोहरा, रमेश शाही, संस्कृति विष्ट, गगनबहादुर थापा, रोशन रोकाया, जनक बुढा र निश्चल बस्नेत उम्मेदवार छन् ।

यसैगरी कांग्रेस निकट नेविसंघबाट विवेक खड्का अध्यक्ष पदको उम्मेदवार छन् । यस्तै सचिवमा भूपेन्द्र आचार्य, कोषाध्यक्षमा लोकप्रसाद रिजाल तथा सदस्यहरूमा विकास कुमार थापा, निशान्त शाही, शिव ढकाल, गणेश थापा, प्रतिक्षा थापा, विष्णुराज सिंह, प्रकाश सिंह छन् ।

नेविसंघले ११ वटा बुँदामा ५० बढी एजेण्डा सार्वजनिक गरेको छ । सबै विद्यार्थीको अनिवार्य निःशुल्क स्वास्थ्य बीमा, चमेनागृहको निर्माण तथा सञ्चालन, हरेक क्याम्पसमा आवश्यक उपकरण र स्वास्थ्यकर्मी सहितको हेल्थ सेन्टरलगायतका एजेण्डा नेविसंघका छन् ।

अध्यक्षका उम्मेदवारहरू सबैले चुनाव जित्ने दाबी गर्दै आएका छन् । नेविसंघलाई आफ्नो पुरानो साख बचाउनुपर्ने चुनौती छ । अखिल (क्रान्तिकारी) बाट अध्यक्ष उम्मेदवार रहेका विकले आफू नियमित विद्यार्थी भएको र सबै विद्यार्थीले आशा गरेका कारण चुनाव जित्ने बताउँछन् । यस्तै नेविसंघबाट अध्यक्षका उम्मेदवार विवेक खड्का पनि नेविसंघ नै विद्यार्थीको रोजाइको संगठन भएकाले चुनाव जित्ने बताउँछन् । अनेरास्ववियुका उम्मेदवार शाही पनि जित्ने भनेरै मैदानमा होमिएको बताउँछन् । अन्य संगठनहरूले पनि आ–आफ्नो प्रचारलाई तीव्र पारेका छन् ।

प्रकाशित मितिः   १६ चैत्र २०८१, शनिबार ०६:०६