सांसदको हाँसोले हङ्गामा
सुर्खेत: यतिबेला कर्णालीमा सांसदको हासोले हङ्गामा मच्चिएको छ । कर्णाली प्रदेशसभाको पाँचौ अधिवेशनको २५औँ बैठकको ‘शून्य समय’ मा बोल्दै प्रदेशसभा सदस्य कलबहादुर हमाल खित्का छोडेर हाँसेका थिए । सभामा उनी मात्र हासेका थिएनन्, सभामुखदेखि मुख्यमन्त्रीसम्म सबैको हाँसो रोकिएन । जसको सामाजिक सञ्जालमा चर्चा मात्र भइरहेको छैन, हमालको चर्को आलोचना पनि भइरहेको छ ।
सभामूख नन्दा गुरुङले उनलाई शून्य समयमा आफ्नो भनाइ राख्न समय दिइन् । हमालले माइक समात्ने बित्तिकै ‘शून्य समय सदुपयोग गरिहालौँ’ भन्दै खित्का छाडेर हाँसेका थिए । उनले सुरुमा हासेको भएपनि शून्य समयको भने सदुपयोग नै गरे । हुम्ला जिल्लाको सडकको अवस्थाबारे सरकारलाई ध्यानाकर्षण गराए । जिल्लाका धेरै ग्रामीण सडक अधुरा रहेको र आउँदो वर्षको बजेटमा समेटेर सडक निर्माण कार्य अघि बढाउनुपर्ने जनाए । काम नगर्ने ठेकेदारको कामको विवरणका आधारमा मूल्याङ्कन गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए ।
त्यसैगरी सुर्खेत केन्द्रित हुने संघ संस्थालाई विकट क्षेत्रमा कार्यक्रम कार्यान्वयन गर्न सुझाव दिए । तर अहिले यो विषयले सामाजिक सञ्जालमा ठाउँ पाएको छैन, सुरुवाती दश सेकेण्डमा सांसद हमालले ‘शून्य समयको सदुपयोग गरिहालौँ’ भन्दै हाँसेको भिडियोबारे चर्चा र आलोचना भइरहेको छ ।
यही विषयमा प्रदेशसभा सदस्य हमालले नियतबस आफू संसद्मा खित्का छोडेर नहासेको प्रतिक्रिया दिएका छन् । ‘मैले शून्य समयमा बोल्दै गर्दा सबै सांसद मतर्फ फर्केर हास्नुभयो, म पनि हाँसे, तर पछि आफ्नो जिल्लाको विषयवस्तु राखेको छु ।’ साथै उनले आगामी दिनमा यस्तो नगर्ने समेत जनाएका छन् ।
त्यसो त संसद्मा सांसदहरूका अभिव्यक्ति बेलाबखत चर्चा र आलोचनामा परिरहन्छन् । गत माघ १० गतेको प्रदेशसभाको पाँचौं अधिवेशनको तेस्रो बैठकको विशेष समयमा पूर्व जलस्रोत तथा ऊर्जा विकास मन्त्रीसमेत रहेकी प्रदेशसभा सदस्य उर्मिला विश्कर्माले बोलेको कुरालाई लिएर पनि चर्को आलोचना भएको थियो । त्यतिबेला विश्वकर्माले पनि गलत तथ्य बोकेकी थिइन् ।
संसद्मा बोल्दै उनले भारतमा रेल दुर्घटनामा ६० जना नेपालीको मृत्यु भएको बताएकी थिइन् । उक्त तथ्य गलत थियो । रेल दुर्घटनामा परेको सही थियो तर मृतकको संख्या भने उनले बढाएर प्रस्तुत गरेकी थिइन् । भारतमा भएको दुर्घटनामा सात जना नेपालीको मृत्यु भएको थियो । फेसबुकबाट साभार गरिएकाले संख्यामा त्रृटि भएको विश्वकर्माले बताइन् । हतारमा विषयवस्तु उठान गर्दा त्रृटि भएको उनको भनाइ छ । ‘कालीकोटको एक जनाले फेसबुकमा रेल दुर्घटनाको विषय राख्नुभएको थियो, निकै महŒवपूर्ण ठानेर संसद्मा बोलेँ तर यर्थात फरक हुँदा आफैलाई खल्लो लागेको छ, आगामी दिनमा अध्ययन गरेर मात्र बोल्नेछु’ उनी भन्छिन् ।
संसद्को नसुनिने शून्य समय
सांसदहरूलाई जनसरोकारका विषय उठानका लागि संसद्मा शून्य समय तोकिएको हुन्छ । तर संसद्मा उठेका विषयप्रति सरकार गम्भीर नभएको गुनासो स्वयम् सांसदहरू नै गरिरहेका हुन्छन् । अझ शून्य समयमा उठाइएका विषय कसैले नसुन्ने भयो भनेर प्रत्येकजसो बैठकमा सरकारको ध्यानाकर्षण गराउने गरिएको छ ।
एउटै विषय पटक–पटक उठाउँदा समेत सम्बोधन नभएपछि सांसदहरू शून्य समयको अभ्यास र औचित्यमाथि नै प्रश्नमिश्रित व्यंग्य गर्न थालेका छन् । यो समयमा उठान भएका विषयमा सरकारले खाँसै चासो नदिने गरेको प्रदेशसभा सदस्य कल्याणी खड्का बताउँछिन् । उनले भनिन्, ‘सरकारले हामीले बोलेको केही पनि नसुनेको भएर मैले यो शून्य समयलाई नसुनिने शून्य समय नाम राखेको छु ।’ संसद्मा शून्य समयमा उठेका विषयलाई सरकारले नसुनेको गुनासो नयाँ होइन । बरु सरकारले सांसदले जति बोल्दा पनि उपेक्षा गर्दै आएको धेरै उदाहरण छन् ।
शून्य र विशेष समयमा उठाएका विषयलाई सरकारले बेवास्ता गर्ने गरेको प्रदेशसभा सदस्यहरू बताउँछन् । यसरी सांसदले उठाएका सवालबारे पाँच दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था छ । शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले पाँच दिनभित्र सभामुखमार्फत सदनलाई उपलब्ध गराउनुपर्ने हुन्छ । कर्णाली प्रदेशसभामा त्यसको कमै मात्र अभ्यास भएको पाइन्छ । मन्त्रीहरूले समयमा जवाफ दिने जमर्को गर्दैनन् । बरु पन्छिन खोज्छन् । सरकारले जवाफ नदिएको भन्दै पछिल्लो पटक सांसद मंगलबहादुर शाहीले संसद् बैठकमा एक्लै उभिएर विरोधसमेत जनाएका थिए ।
प्रकाशित मितिः १५ चैत्र २०८१, शुक्रबार १०:५६
साझा बिसौनी ।