कर्णालीको तेस्रो जित

सुर्खेत: प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले तेस्रो जित हात पारेको छ । बिहीवारै भएको खेलमा कर्णालीले लुम्बिनी प्रदेशमाथि पाँच रनको रोमाञ्चक जित हात पारेको हो ।

पहिला ब्याटिङ गरेको कर्णालीले ४८.५ ओभरमा सबै विकेट गुमाउँदा दुई सय पाँच रन बनाएको थियो । जवाफमा लुम्बिनी ४९.४ ओभरमा दुई सय रन बनाउँदा अलआउट भयो ।

दीपेन्द्र राउतले ६६ तथा अर्जुन घर्तीले ५६ रन बनाएपछि कर्णालीले मध्यम स्कोर बनाएको थियो । लुम्बिनीका लागि रमेश कुर्मीले तीन विकेट लिएका थिए भने निर्मल गुरुङ, अजय चौहान र विप्रसन केसीले दुई÷दुई विकेट लिएका थिए ।
सामान्य लक्ष्य पछ्याए पनि जित हात पार्न नसकेको लुम्बिनीका लागि प्रज्वल थापाले ८४ र कप्तान देव खनालले ४० रन बनाए । कर्णालीका दीपेन्द्र रावत र दीनेश अधिकारीले सर्वाधिक तीन÷तीन विकेट लिए । प्रकाश जैशीले दुई विकेट लिँदा दिवश पुन र सुनील धमलाको नाममा समान एक÷एक विकेट रह्यो ।

जितपछि कर्णालीले फाइनल पुग्ने सम्भावना कायमै राखेको छ । यो नतिजासँगै कर्णालीले ६ खेलबाट ६ अंक पु¥याएको छ । हारपछि लुम्बिनीले अंकतालिकामा आर्मीसँग बराबरी गर्ने अवसर गुमाएको छ ।

प्रतियोगिता अब केही खेलहरू मात्र बाँकी रहँदा सात खेलमा सबै जितका साथ १४ अंक रहेको पुलिस शीर्ष स्थानामा छ भने ६ मध्ये पाँच खेलमा जित हात पारेको आर्मी १० अंकका साथ दोस्रो स्थानमा छ । यस्तै सातमध्ये चार खेल जितेको लुम्बिनी तेस्रो, पाँचमध्ये तीन खेल जितेको एपीएफसी चौथो, ६ मध्ये तीन खेल जितेको कर्णाली पाँचौ, पाँचमध्ये दुई खेल जितेको मधेश छैटौँ स्थानमा रहँदा त्यसपछि सुदूरपश्चिम, बागमती, कोशी र गण्डकी प्रदेश रहेका छन् । हरेक टिमले नौ÷नौ खेल खेल्नेछन् । शीर्ष दुई टिमबीच फाइनल हुनेछ ।

प्रकाशित मितिः   ८ चैत्र २०८१, शुक्रबार ०६:०२