लगाममा महिलाको हत्या
सुर्खेत, ११ माघ । (साबिस)
सुर्खेतमा एक महिलाको हत्या भएको छ । जिल्लाको पश्चिममा पर्ने लगाममा आफ्नै आमाजुको आक्रमणबाट पुष्पा पुनको ज्यान गएको प्रहरीले जनाएको छ ।
लगाम गाविसको वडा नं. ४ घर भएकी पुष्पालाई उनकै आमाजुले सोमवार आक्रमण गरेकी थिइन् । कैलालीको सुँगरखाल घर भएकी जमुना चर्तीले माइतीमा आएको बेलामा आफ्नै बुहारीलाई आक्रमण गरेको बताइएको छ । आँगनमा भाँडा माझ्दै गरेकी पुष्पालाई जमुनाले घाँस काट्ने आँसीले आक्रमण गरेको स्थानीयले बताएका छन् ।
जमुनाको आक्रमणबाट गम्भीर घाइते भएकी पुष्पाको उपचारका लागि सदरमुकाम वीरेन्द्रनगरतर्फ ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुर्खेतका प्रहरी प्रमुख एसपी वीरेन्द्र श्रेष्ठले जमुनाको मानसिक सन्तुलन ठीक नभएको जानकारी दिए । आँगनमा भाँडा माझ्दै गरेकी पुष्पालाई जमुनाले आँसी र ढुङ्गाले टाउकोमा एकाएक आक्रमण गरेको स्थानीयले बताएका छन् । एसपी श्रेष्ठले हत्यापछि फरार रहेकी जमुनालाई पक्राउ गरिसकिएको बताए । यसैबीच सोमवार नै रुखले च्यापेर सुर्खेतमा एक जनाको ज्यान गएको छ । जंगलमा रुख काट्न गएका गढी वडा नं. ३ का २९ वर्षीय हिमाल सारुको ज्यान गएको हो । प्रहरीका अनुसार वीरेन्द्रनगरमा रहेको जनजागृति सामुदायिक वनमा रुख काट्दै गरेका सारुको उक्त रुखले च्याप्दा ज्यान गएको हो ।
साझा बिसौनी संवाददाता ।