राकममा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल
सुर्खेत: राकम आधारभूत अस्पताल अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गर्ने भएको छ । सरकारले दैलेखको राकम कर्णालीमा निर्माणको अन्तिम चरणमा पुगेको आधारभूत अस्पताललाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत सञ्चालन गर्ने निर्णय गरेको छ । सोही निर्णय अनुरूप प्रतिष्ठानले आफ्नो सेवा सुचारु गर्न लागेको हो ।
गत माघ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले राकमको आधारभूत अस्पताललाई ५० शैय्यामा स्तरवृद्धि गरी प्रतिष्ठानले सञ्चालन गर्ने निर्णय गरेको थियो । प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले मन्त्रिपरिषद् बैठकले दैलेख जिल्लाको आठबिस नगरपालिका वडा नं. ४ राकमस्थित आधारभूत अस्पतालको सम्पूर्ण व्यवस्थापन र सञ्चालनको जिम्मेवारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिएको बताए । उनले यो निर्णयसँगै त्यहाँबाट स्वास्थ्य सेवा सञ्चालन गर्ने काम प्रतिष्ठानले अगाडि बढाएको जानकारी दिए । ‘करिब नौ लाख जनसंख्या ओगट्ने कर्णालीको केन्द्रबिन्दु दैलेखको राकममा बनेको आधारभूत अस्पतालको स्तरवृद्धि गरी ५० शैय्यामा सञ्चालन गर्ने योजना प्रतिष्ठानको रहेको छ,’ उपकुलपति डा. रावलले भने, ‘सरकारको निर्णयले प्रतिष्ठानको विकास र विस्तारसँगै कर्णालीका नागरिकले सहज रूपमा सेवा पाउने छन् ।’
अहिले अस्पताल सञ्चालनका लागि काम भइरहेको उनको भनाइ छ । जनशक्ति व्यवस्थापन लगाएका काम भइरहेको उनले जानकारी दिए । ‘प्रतिष्ठानले सेवा सुरु गरेको छ, केही व्यवस्थापनका काम भइरहेका छन्, अबको केही समयमा व्यवस्थित सेवा सुरु गर्छाैं ।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र आठबिस नगरपालिकाले नागरिकलाई स्तरीय सेवा प्रदान गर्नका लागि १५ शैय्याबाट शिक्षण अस्पतालको सेवा सुरु गर्न लागेका हुन् । एक सय शैय्याका अन्य संरचना निर्माण नहुँदासम्म १५ शैय्याबाट सेवा सुरु गर्नेगरी प्रक्रिया अघि बढाइएको प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले बताए । उनका अनुसार प्रतिष्ठानबाट जनशक्ति परिचालन गरेर सेवा दिन लागिएको छ ।
शिक्षण अस्पताल निर्माण प्रक्रिया सँगसँगै
प्रतिष्ठानले सेवा सुरुसँगै शिक्षण अस्पताल निर्माणको प्रक्रियासमेत अघि बढाएको छ । दैलेखको आठबिस नगरपालिकाको केन्द्र राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माण गर्न लागिएको हो । पाँच वर्षअघि आठबिस नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको सम्झौताअनुसार एक सय शैय्याको ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढाइएको थियो । तर निर्माणको काम भने अघि बढ्न सकेको थिएन । सरकारले आवश्यक बजेट विनियोजन नगर्दा अस्पताल निर्माणको काम अघि नबढेको हो । अहिले बजेटको व्यवस्थापन गरेर अस्पताल निर्माणको काम सुरु गर्न लागिएको छ ।
चालु आर्थिक वर्ष २०८१÷०८२ मा संघीय सरकारले अस्पताल निर्माणका लागि बजेट विनियोजन गरेसँगै अस्पताल निर्माणको काम अघि बढाउन लागिएको हो । सरकारले चालु आर्थिक वर्षमा अस्पताल निर्माणका लागि दुई करोड बजेट विनियोजन गरेको छ । यो वर्षदेखि अस्पताल निर्माणको काम सुरु गरिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
सरकारसँग थप बजेट माग गरेर अस्पताल निर्माणको काम सुरु गर्न लागिएको प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले बताए । उनका अनुसार केही महिना अघि मात्र नयाँ डिपीआर निर्माण गरिएको छ । डिपीआर अनुसार एक अर्ब ७२ करोड लागत अनुमान रहेको छ । संघीय सरकारको नीति तथा कार्यक्रममा समेटिएको अस्पताल निर्माणको योजना यो वर्षदेखि कार्यान्वयनमा जान लागेको हो । डिपीआर संशोधन गरेर तयार पारिएकाले लागत अनुमान पनि बढेको छ । यसअघि बनेको डिपीआर अस्पतालको भवन निर्माणका लागि मात्र तयार पारिएको थियो । उक्त डिपीआरमा भवन निर्माणका लागि ९० करोडको लागत अनुमान छ । नयाँ निर्माण गरिएको डिपीआरमा अस्पतालका लागि निर्माण गरिने सम्पूर्ण संरचनाको लागत अनुमान तयार पारिएको छ ।
अस्पताल निर्माणका लागि गतवर्ष सरकारले बजेट नै विनियोजन गरेको थिएन । जसले गर्दा निर्माणको काम सुरु हुन सकेको थिएन । यो वर्ष सरकारले बजेट विनियोजन गरेसँगै निर्माणको काम थालिने भएको छ । अस्पताल निर्माणका लागि सरकारले न्यून मात्र बजेट विनियोजन गरेकाले थप बजेट माग गरिएको प्रतिष्ठानका उपकुलपति डा. रावलले जानकारी दिए । उनले भने, ‘डिपीआरअनुसार एक अर्ब ७२ करोडको लागत अनुमान छ, सरकारले चालु आर्थिक वर्षमा दुई करोड मात्र बजेट विनियोजन गरेको छ, आवश्यक पर्ने थप बजेट माग गरेका र्छाैं ।’
प्रकाशित मितिः ७ चैत्र २०८१, बिहीबार ०६:००
साझा बिसौनी ।