जुम्लाको स्याउः बजार प्रर्णालीमा रहेका चुनौती र आवश्यक पहल
पृष्ठभुमी
नेपालका उच्च पहाडी क्षेत्रमा विभिन्न किसिमका अन्न तथा फलफूल उत्पादन हुने गरेको छ । कर्णालीको जुम्ला तथा अन्य केही जिल्लाहरूमा स्थानीय किसानहरूको जीविकोपार्जनको मुख्य आयस्रोतको रूपमा स्याउ खेती रहेको छ । देशभरको कुल स्याउ उत्पादनको ४१.२ प्रतिशत स्याउ उत्पादन कर्णाली प्रदेशमा हुने गरेको तथ्यांकले देखाँउछ । कर्णाली प्रदेशका जुम्ला, मुगु, कालीकोट, हुम्ला र डोल्पालगायत जिल्लामा स्याउ उत्पादन हुनेगर्छ । यसमा पनि जुम्ला जिल्लामा धेरै किसानहरू स्याउ खेतीमा संलग्न रहेका छन् ।
वि.सं. २०२४ सालमा जुम्लामा वागवानी फारमको स्थापना भयपश्चात सो फारमद्वारा भारतको काश्मीरबाट स्याउको बेर्ना ल्याएर जुम्लामा स्याउ खेतीको सुरुवात गरियो । स्थानीय किसानहरू स्याउको बगैँचा स्थापनामा लागे । विस्तारै जुम्लामा स्याउको उत्पादन पनि बढ्यो । तथापि, बजार पहुँचको अभावका कारण आयस्रोतको दायरा भने सीमित रहेको थियो । वि.सं. २०६४/०६५ सालमा कर्णाली राजमार्गको निर्माण भएसँगै जुम्ला जिल्ला सुर्खेत, नेपालगञ्जलगायत विभिन्न बजारसँग जोडियो र यो सँगै स्याउको बजारिकरणमा पनि सुधार हुँदै गयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७२/०७३ सालमा जुम्ला जिल्लालाई ‘स्याउ सुपर जोन’ को रूपमा अगाडि बढाइयो ।
पछिल्लो दशकमा, राष्ट्रियस्तरमा जुम्लाको स्याउको फरक पहिचान र बजार मूल्य बढ्नका साथै स्याउ खेतीतर्फ किसानको आकर्षण पनि बढ्दै गएको छ । आर्थिक वर्ष २०७८÷०७९ देखि २०८०/०८१ को बिचमा मात्रै जुम्लामा स्याउ किसानको संख्या १४,५०० बाट २६.३१ प्रतिशत वृद्धि भएर १८,३१५ पुगेको छ । यो सँगै जुम्लामा स्याउको उत्पादन पनि बढिरहेको छ । वि.सं. २०८१ सालमा जुम्लामा ४२५० हेक्टर जमिनमा २०५११ मे.ट. स्याउको उत्पादन भएको थियो । पछिल्ला केही वर्षहरूमा जुम्लामा किसानले फुजी, गाला स्याउ जस्ता उच्च घनत्वका, सुधारिएका प्रजातिका स्याउ खेती गर्न सुरु गरेका छन् । आर्थिक वर्ष २०८०÷०८१ मै, सिजनमा जुम्लाबाट कुल ६१ करोड ४० लाख बराबरको स्याउ निर्यात भएको थियो ।
बढ्दैछ उत्पादन र बिक्री
जुम्लाको स्याउ सुर्खेतबाट काठमाडौं, पोखरा, बुटवल, चितवन, धरान, महेन्द्रनगर, धनगढीका बजारमा निर्यात हुने गर्छ । आर्थिक वर्ष २०७८/०७९ मा जुम्लामा स्याउ बिक्री १२,००० मे.ट. भएको थियो र आर्थिक वर्ष २०८०÷०८१ मा २०,५११.४३ मे.ट. स्याउको बिक्री भयो, तथ्यांक केलाउँदा जुम्लाको स्याउको वार्षिक औसत बिक्री ९,७९१.६७ मेट्रिक टन रहेको छ । आ.व. २०७८/०७९ देखि आ.व. २०८०÷०८१को बिचमा जुम्लाको स्याउको बिक्री मात्रा १२,००० मे.ट.बाट बढेर २०५११.४३ मे.ट. हुनुका साथै बिक्री नभएको स्याउको मात्रा पनि ४,००० मे.ट.बाट बढेर ९१३६ मे.ट. पुगेको छ ।
उत्पादनसँगै ढुवानीसम्म नोक्सानीको डर
साधारणतया, १ मे.ट. स्याउको कटनि, प्याकेजिङ्ग र गाडीमा लोड गर्न १.५ दिन लाग्नेगर्छ र कटनि गरेको सात दिनभित्रमा स्थानीय व्यापारिले स्याउ खरिद गरी नजिकको बजारमा पु¥याउने गर्छन् । जुम्लाबाट सुर्खेत वा नेपालगञ्ज जस्ता नजिकका बजारमा स्याउ पु¥याउन लगभग ३६ घण्टा लाग्छ । यसरी जुम्लाको स्याउ कटनि गरिसकेपछि बजार पुग्दा सम्म ८–१० दिन लाग्ने हुदाँ स्याउको गुणस्तर र तौल घट्ने कारणले नोक्सान धेरै हुने सम्भावना हुन्छ । परिणामस्वरूप, ढुवानीको समयमा प्रति क्विन्टल स्याउमा औसत १० केजीको नोक्सान हुन्छ, जुन मध्यस्थकर्ताले बेहोर्नुपर्ने हुन्छ । यसरी हुने क्षतिको कारणले पनि स्याउको मुल्य बढ्न जान्छ । स्याउको मूल्य श्रृंखलामा हुने नोक्सानलाई घटाउन र बिक्री नहुने स्याउको मात्रामा कमी ल्याउन अत्यावश्यक छ । गुणस्तर नियन्त्रणमा कमजोरी भएका कारण जुम्लाको स्याउलाई उपभोक्ताले मूल्य प्रतिस्पर्धात्मक विकल्पको रूपमा हेर्ने गर्छन् । यस कारण पनि ठूलो बजारमा जुम्लाको स्याउको प्रतिस्पर्धा कठिन रहेको छ । यस्ता चुनौतीहरूलाई पार गर्नका लागि जुम्ला स्याउको मूल्य श्रृंखलामा प्रणालीगत समस्याहरूलाई समाधान गर्नु आवश्यक छ ।
मूल्य श्रृंखलामा प्रणालीगत समस्याहरू
१. ग्रेडिङ/वर्गीकरणको न्यून अभ्यास
बगैँचामै स्याउको मापदण्ड अनुसारको ग्रेडिङ र वर्गीकरण गर्दा किसानहरूले स्याउको मूल्य फरक गरी उच्च गुणस्तरका स्याउहरूलाई उच्च मूल्यमा बेच्न सक्षम हुन्छन् । निम्न गुणस्तरका वा रोग लागेको स्याउहरू छुट्याउँदा रोगको फैलावट न्यून हुन्छ, जसले स्याउको क्षति कम गरी तिनको ‘सेल्फ लाइफ’ उल्लेखनीय रूपमा बढाउँछ । जुम्लाको हकमा भने अझै पनि स्याउको ग्रेडिङ र वर्गीकरण गर्ने अभ्यास सुरु भएको छैन । केही क्षेत्रमा कामदारद्वारा ग्रेडिङ गरिन्छ तर त्यसरी गरिएको ग्रेडिङ प्रभावकारि हुदैन किनभने कामदारबाट छुटेको एउटा मात्र खराब स्याउले सम्पूर्ण स्याउलाई बिगार्ने सम्भावना हुन्छ । त्यसैले प्रारम्भिक चरणमा जुम्लाका स्याउहरूको मापदण्ड र स्थिर गुणस्तर नियन्त्रण सुनिश्चित गर्न साना, म्यानुअल रूपमा चलाइने ग्रेडिङ मेसिनहरूको आवश्यकता रहेको छ । जुम्लामा स्थानीय किसानहरूनै आफ्नो स्याउको ग्रेडिङ गर्न प्रोत्साहित छैनन् । विशेषगरि जब अपेक्षाअनुसारको उत्पादन हुँदैन, ग्रेडिङ गरी उच्च गुणस्तरका स्याउहरूलाई उच्च मूल्यमा बेच्नु भन्दा ठूलो चिन्ता उनिहरूलाई ग्रेडिङ गरेर छुट्टीएका निम्न गुणस्तरका नबिक्नुको हुन्छ । यसरि किसानले निम्न गुणस्तरका स्याउको बिक्रीका लागि बजार नपाउएका कारण, ग्रेडिङ र वर्गीकरणको अभ्यासलाई अपनाउन सकेका छैनन् । त्यसैले यी र यस्ता समस्याको अन्त्यका लागि निम्न गुणस्तरका स्याउको बिक्रीका लागि भरपर्दो बजार निकै आवश्यक छ । स्याउका सहउत्पादनहरूको लागि स्थानीय प्रशोधन उद्योग स्थापना भएमा निम्न गुणस्तरका स्याउहरूलाई मूल्य प्रदान गर्ने प्रभावकारी पहल हुनसक्छ र यसले स्याउको बजारलाई पनि विविधीकरण गर्नेछ ।
२. परम्परागत प्याकेजिङ एवम् व्यवस्थापन अभ्यास
ढुवानीको समयमा खराब सडक अवस्थाका कारण स्याउको बजारीकरण व्यवस्थापनमा चुनौती उत्पन्न भइरहेको छ, जसले गर्दा स्याउ बिग्रने र क्षति हुने जोखिम बढाउँछ । स्याउ बजारमा पुग्नुअघि नै ढुवानिकै क्रममा चोट लाग्ने र कुहिने सम्भावना हुन्छ । त्यसैले स्याउको क्षति कम गर्न स्याउलाई बजारसम्म पु¥याउँदै गर्दा सुधारिएको प्याकेजिङ र ढुवानी विधिमा लगानी गर्न आवश्यक छ । पुस्तौंदेखिनै स्याउ खेतीमा संलग्न भएता पनि जुम्लाका स्थानीय किसान र व्यापारीहरूमा आजसम्म पनि मापदण्ड अनुसारको प्याकेजिङ र व्यवस्थापनको प्राविधिक ज्ञानको कमी छ । स्याउ प्रक्रियागत रूपमा टिप्नुभन्दा रुख हल्लाएर स्याउ जमिनमा खसालि संकलन गरिन्छ, जसले गर्दा स्याउमा कटानिको समयमा नै चोट वा दाग लागिसकेको हुन्छ । स्याउ किसानहरूलाई यस बारेमा जानकारी भए पनि स्याउ टिप्ने विधि अपनाउन आवश्यक आर्थिक र जनशक्तिको कमी छ । हाल स्याउको प्याकेजिङका लागि ढुवानीकर्ताहरू वा संकलकहरूले पहिले प्रयोग भइसकेका कार्टुनहरूको प्रयोग गर्ने गर्छन् । यी कार्टुनहरू, जुन चीनबाट आयात गरिएको स्याउहरूको प्याकेजिङमा प्रयोग गरिन्छ, बुटवल, नेपालगञ्ज, दाङका स्याउ व्यापारिले संकलन गरि प्रति कार्टुन ३२ देखि ३५ रूपैयाँमा बेच्ने गर्छन् । ती कार्टुनहरू बगैँचामा पुग्दा प्रति कार्टुन २१ देखि २५ रूपैयाँको ढुवानी खर्च थपिन्छ, जसले यो प्रक्रियालाई महँगो बनाउँछ । साथै, एकपटक प्रयोग भइसकेका प्याकेजिङका सामग्रीहरू प्रयोग गर्दा जोखिम उत्पन्न हुन्छ, किनभने पहिल्यै प्रयोग गरिएका कार्टुनमा रहेका रोगका अवशेष वा किटाणुले ढुवानीको क्रममा नयाँ समूहलाई बिगार्ने डर हुन्छ । स्याउको प्याकेजिङ सामग्रीको गुणस्तरसम्बन्धी मापदण्ड बनाए पनि सरकारले उक्त मापदण्ड पूरा गर्नेमा भने पर्याप्त सहयोग प्रदान गर्न असफल भएको छ ।
३. आधुनिक कृषि अभ्यासहरूको अंगीकरण नहुनु
आधुनिक कृषि अभ्यासहरू अपनाउन वा उत्पादन विस्तार सेवामा लगानि गर्नमा किसानहरूको अनिच्छा जुम्लाको उन्नत स्याउ खेतीका लागि प्रमुख बाधा बनेको छ । किसानहरूले सुधारिएको कृषि अभ्यासद्वारा उच्च गुणस्तरको स्याउको उत्पादन उल्लेखनीय रूपमा बढाउन सक्ने र यसले निरन्तर उच्च गुणस्तरको बाली दिन सक्ने कुरा बुझ्नु अत्यावश्यक छ । स्थानीय किसानहरूले प्रायः सरकारद्वारा सम्पूर्ण आवश्यक सुविधाहरू उपलब्ध गराइने आशा राख्ने, तर तिनै सेवाका लागि आफूले लगानि गर्न तयार नभएको अवस्था छ । अनुदानमुखी कृषी प्रणालीलाई राज्यले प्राथमिकता दिँदा त्यसको दिगोपनमा भने प्रश्न आउन सक्छ ।
४. फसलपछिको व्यवस्थापनमा कमजोरी
जुम्लाको स्याउ टाढाका बजारमा पुग्दासम्म गुणस्तर र स्वादमा प्रायः प्रतिस्पर्धात्मक रहँदैन, जसको मुख्य कारण फसल–पछिको व्यवस्थापनमा कमि–कमजोरि र अपर्याप्त भण्डारण सुविधा हो । यी सीमितताहरूका कारण स्याउको कटनीपछि एक महिनाभन्दा बढी ताजा राख्न चुनौतीपूर्ण रहेको छ । फलस्वरूप, किसानहरू आफ्नो स्याउ सस्तो मूल्यमा बेच्न बाध्य छन्, बिक्री नभएको स्याउ गाईवस्तुलाई खुवाउनु पर्ने अवस्था छ । अत्यधिक आपूर्तिका बाबजुत जुम्लाको स्याउ बजारमा एक सिजनमा अधिकतम तीन महिनासम्म मात्र बिक्री हुन्छ । त्यसपछि बचेको स्याउ ठूलो मात्रामा गुणस्तर खस्किने वा कुहिनेका कारण खेर जान्छ भने बाँकी नौ महिना बजारमा चीनबाट आयात गरिएका स्याउहरू बिक्री हुन्छन् । यस अवस्थाले जुम्लाको स्याउको मौसमी चुनौती सामना गर्न र शेल्फ लाइफ बढाउन असमर्थतालाई स्पष्ट पार्छ ।
आवश्यक रणनीतिक सुधारहरू
१. स्याउको सेल्फ लाइफ बढाउन र क्षति कम गर्न उत्तम अभ्यासहरूको प्रयोग
दुवानिको समयमा हुने स्याउको क्षतिको मात्रालाई ध्यानमा राख्दै स्याउ किसान र ढुवानीकर्ताहरूले न्यूनतम् हानिको सुनिश्चितताका लागि सुधारिएको फसल–पछिको व्यवस्थापन र भण्डारण सुविधाहरू अपनाउनु पर्छ । तथापि, स्याउको राम्रो व्यवस्थापन र शेल्फ लाइफ विस्तार गर्न सुधारिएको प्याकेजिङ, यातायात विधि र भण्डारण सुविधामा लगानी गर्न उत्तिकै आवश्यक छ । हाल, विक्रेताहरूलाई जुम्लाको स्याउको फसल पछिको व्यवस्थापनमा लगानीका लागि प्रोत्साहन गरिएको छैन । त्यसैले, बिक्रेतालाई आवश्यक लगानी गर्न प्रोत्साहित गरी उनीहरूलाई लगानीको प्रतिफलको सुनिश्चित हुने वातावरण बनाउन आवश्यक छ । यसबाट जुम्लाको स्याउको बजार माग बढाउन सकिन्छ र बजार वृद्धि हासिल गर्न सकिन्छ ।
२. कम गुणस्तरका स्याउको बजारीकरणका लागि प्रशोधन उद्योग
सरकार र निजि क्षेत्रको साझेदारिमा स्थानीय स्तरमा सा–साना प्रशोधन केन्द्रको प्रवद्र्धन गर्न आवश्यक देखिन्छ । यसमा पनि यस्ता उद्योग लामो समय टिक्न र नाफा कमाउनका लागि गुणस्तरीय उत्पादनको सुनिश्चितता आवश्यक छ । प्रशोधन उद्योग स्थापनाले निम्न गुणस्तरका स्याउहरूको माग सिर्जना गर्नेछ, जसले स्याउ खेर जाने मात्रा कम हुन जानेछ । साथै, जुम्लाको स्याउको बजारलाई विविधीकरण गर्नका लागि पनि स्याउको जुस, साइडर, जाम वा वाइनजस्ता उत्पादनहरू आवश्यक छ । किसानहरूलाई ‘ए–ग्रेड’ स्याउको लागि उच्च मूल्य पनि प्राप्त हुने र निम्न गुणस्तरका स्याउको पनि बजार हुने हुँदा किसानलाई ग्रेडिङ गर्न प्रोत्साहन मिल्छ । यसका कारण बजारमा उच्च गुणस्तरका स्याउहरू राम्रो बिक्री हुन्छ र यातायातको क्रममा हुने स्याउको क्षति न्यूनतम् हुनजान्छ ।
३. नीजी क्षेत्रको नेतृत्वमा फसलपछिको विस्तारित सेवा
जुम्लामा सुधारिएको कृषि अभ्यासका सेवाहरू प्रदान गर्ने कम्पनीहरूलाई कुनै किसिमको प्रोत्साहन नभएका कारण ती कम्पनीहरू सीमित छन् । स्थानीय किसानहरू यस्ता कम्पनीहरूबाट विस्तारित सेवाहरूको लागि पैसा तिर्न तयार नभएकाले निजी क्षेत्रका लागि जुम्लामा सेवा प्रदान गर्नु फाइदाजनक हुँदैन । सरकारी तथा गैर सरकारी संस्थाहरू र निजी क्षेत्रले स्थानीय किसानहरूलाई आधुनिक खेती प्रविधि, व्यवस्थापन र औजार तथा उपकरणहरूको सही प्रयोगसम्बन्धी जानकारी दिन आवश्यक छ । किसानहरूले ती सेवाहरूको लागि तिरिने शुल्कलाई खर्च नभइ लगानी हो भन्ने कुरा बुझाउन आवश्यक छ । यस्तो भएमा निजी क्षेत्र प्राविधिक सहयोगमा भएका खाडलहरू पूर्ति गर्न प्रोत्साहित हुन्छन् ।
४. राम्रो गुणस्तरको स्याउको लागि प्रतिस्पर्धी मुल्यसहितको बजार
स्याउको मौसममा जुम्लाको स्याउको प्रतिस्पर्धी मूल्यका कारण जुम्लाको स्याउमा उपभोक्ताको रुचि बढेको छ । यसैले जुम्लाको स्याउको वर्तमान बजार ‘मूल्य–संवेदनशील उपभोक्ताहरू’का कारण चलेको पनि मानिन्छ । तर, बेमौसमको समयमा पनि सोहि ग्राहकहरू चिनियाँ स्याउ उच्च मूल्यमा खरिद गर्छन् । यसले उपभोक्ताहरूले गुणस्तरीय उत्पादन प्राप्त गरेमा उच्च मूल्य तिर्ने क्षमता राख्छन् भन्ने देखाउँछ । किसान र व्यापारीहरूले जुम्लाको स्याउको गुणस्तरको सुधारमा ध्यान दिनपर्ने देखिन्छ, यसले उपभोक्ताहरूलाई उच्च मूल्य तिर्न उत्प्रेरित गर्छ । सुधारिएको फसल–पछिको व्यवस्थापन बाहेक, जुम्लाको स्याउको उचित बजारिकरण पनि उत्पादनमा थप मूल्य प्रदान गर्न उत्तिकै महŒवपूर्ण छ । साथै, गुणस्तरमा सुधारसँगै प्रभावकारी बजार व्यवस्थापनले उपभोक्तालाइ बाहिरबाट आयात गरिएको स्याउभन्दा जुम्लाको स्याउतर्फ मोड्न महŒवपूर्ण भूमिका खेल्न सक्छ ।
निष्कर्ष
सरकारी र निजी क्षेत्रका यस्ता रणनीतिक हस्तक्षेपहरूमार्फत जुम्लाको स्याउको क्षेत्र राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा उच्च मूल्यको उत्पादनका रूपमा स्थापित गर्न सकिन्छ । यस्तो गरिँदा स्थानीय किसानहरूको जीविकोपार्जनमा सुधार ल्याउन र कर्णाली प्रदेशको आर्थिक वृद्धिमा ठूलो योगदान पु¥याउने सम्भावना रहन्छ । त्यसैले, जुम्लाको स्याउको गुणस्तर वढाउन र यसको शेल्फ लाइफ विस्तार गर्नको लागि उचित प्याकेजिङ, सुधारिएको ढुवानी विधि र राम्रो व्यवस्थापन प्रक्रियाहरू आवश्यक छ । कर्णाली प्रदेश सरकार, स्थानीय सरकारहरू एवम् संघीय सरकारका विभिन्न निकायहरूले जुम्लाको स्याउनको बजारिकरण प्रर्वद्धन गर्दा माथि उल्लेखित विषयहरूमा ध्यान पुर्याइ नीति तथा कार्यक्रम र बजेट बनाउन आवश्यक छ । बजेट विनियोजनलाई अध्ययनमा आधारित गर्ने र कुनै एक कार्यक्रमभन्दा पनि सम्पूर्ण बजारप्रणालीलाई प्रोत्साहित हुने गरी नीतिहरू बनाउन आवश्यक देखिन्छ । स्याउको बजार श्रृखंलामा रहेका हरेक पात्रलाई प्रोत्साहित गर्न सकेमा जुम्लाको स्याउको बजारीकरणले उपयुक्त दिशा पाउन सक्दछ ।
(सुस्मी सापकोटाः लेखक ऋति फाउन्डेसनमा अनुसन्धान अधिकृतको रूपमा कार्यरत रहेकी छन् । ऋति फाउन्डेसनले जुम्लामा स्याउको बजार प्रणाली विकासको सम्बन्धमा विभिन्न अध्ययन, अनुसन्धान एवम् पैरवीको काम गरिरहेको छ ।)
प्रकाशित मितिः ५ चैत्र २०८१, मंगलवार ०९:४८
सुस्मी सापकोटा ।