प्रश्नपत्र बाँडिसकेपछि परीक्षा स्थगित

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयले परीक्षा स्थगन गरेको छ । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू) निर्वाचनलाई कारण देखाएर आइतवार बिहान सुरु भइसकेको ग्राजुएट स्कूल अफ ह्युमानिटीज एण्ड सोसल साइन्सअन्तर्गत स्नातक तहको पहिलो र सातौँ सेमेष्टरको परीक्षा स्थगित गरिएको हो ।

विश्वविद्यालयले परीक्षा स्थगित गरेपछि विद्यार्थीहरूले लेख्दा लेख्दैको उत्तरपुस्तिका छाडेर हिँड्नुपरेको थियो । शनिवार रातारात केन्द्रीय विभागीय प्रमुखहरूको बैठक बसेर आइतवारदेखि हुने भनिएको परीक्षा स्थगित गर्ने निर्णय भएको जनाइएको छ । चैत ३ गते बिहान ७ बजेदेखि परीक्षा सञ्चालन गर्ने सूचना फागुन २५ गते नै प्रकाशित भएको र त्यहीअनुसार परीक्षा सञ्चालन गरिएको थियो ।

आइतवार बिहान सवा ६ बजे निर्वाचन समितिका संयोजक दिपेन्द्र थापाले परीक्षा स्थगित भएको चिठी थमाएको जनाएको छ । त्यतिबेलासम्म परीक्षार्थीले उत्तरपुस्तिका लेख्न थालिसकेका थिए । विश्वविद्यालयले चरम लापरबाही गरेको भन्दै विद्यार्थीहरू असन्तुष्ट बनेका छन् ।

विश्वविद्यालयले चैत १८ गते स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । विश्वविद्यालयले जारी गरेको सूचनामा चैत्र ३ गते बसेको संयुक्त विभागीय बैठकको निर्णय नं. १ अनुसार स्नातक तह प्रथम र सातौँ सेमेष्टरको परीक्षा अर्को सूचना नआएसम्म स्थगित गरिएको उल्लेख गरिएको छ । यद्यपि, कारण भने खुलाइएको छैन ।

विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. शोभाखर कँडेलले स्ववियु चुनावकै कारण स्थगित भएको जवाफ दिए । उनले भने, ‘स्ववियु चुनावको कार्यतालिका सार्वजनिक भइसक्यो, निर्वाचन समिति र परीक्षा व्यवस्थापन समितिको तालमेल नमिल्दा यस्तो भएको होला ।’ यद्यपि, विद्यार्थीलाई भने पूर्वजानकारी नगराएको बताएका छन् ।

प्रकाशित मितिः   ४ चैत्र २०८१, सोमबार ०६:०१