गणतन्त्रको धरातल

 

 

श्रीमान गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति…।

पोखरामा स्वर्गीय राजा वीरेन्द्र शाहको पूर्णकदको शालिक अनावरण गर्दा गद्दीच्यूत राजा ज्ञानेन्द्र शाहको उपस्थिति र हजारौंको जनभेलामा पुरानो राष्ट्रिय गान गाइयो । खुलमखुला रूपमा गाइएको राष्ट्रगान सरकारले रोक्न सकेन । ल मानिदिउँ सरकारले तत्काल चाल पाएन रे । मिडियाले व्यापक रूपमा नै सार्वजनिक गरेपछि पनि के कारणले त्यसरी पुरानो राष्ट्रगान गाएको हो भनी आयोजकलाई स्पष्टीकरण सोध्नेसम्मको हिम्मत गर्नै सकेन सरकारले ।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्या अर्थात् फागुन ६ गते आफ्नो शुभकामना सन्देशमा पूर्वराजाले देश बचाउन र राष्ट्रिय एकता जोगाइ राख्नका लागि अब समय आएको र देशको समुन्नतिका लागि आफुलाई साथ दिन भनी सबैलाई आह्वान गरेको अभिव्यक्ति आयो । उनको विगतका सन्देशहरू भन्दा पछिल्लो यो सन्देश निकै गरुङ्गो सुनिएको थियो । ‘पूर्वराजाले अरु चुरिफुरी गरेमा हामी निर्मल निवासबाट पनि खेद्छौँ, दरबार हत्याकाण्डको फाइल खोलेर कारबाही गर्छौं’ भन्ने ढंगले विगत वर्षहरूमा आगो ओगल्ने कम्युनिष्टका महाराजहरू यो पटक विरोधको औपचारिकतामा मात्रै सीमित रहे । बोल्नैपर्ने भएर कोही बोले, ‘कुन्नि कोले कहाँबाट उधिनेर ल्याएर कुर्सीमा राख्छन् अरे, कुर्सीमा बस्दैमा कोही राजा हुँदैन ।’ मुख खोल्नै पर्ने भएर कोहीले खोले, ‘राजाले पहिला पनि धेरै ठूला–ठूला गल्ती गरिसकेका छन्, अब त्यो मुर्खता नगरुन । जनता मान्नेवाला छैन ।’

जनता भनेको को हो, गणतन्त्रले नेपाली जनतालाई कति चिनेको होला ! कि जनता भनेका कुनै पार्टी प्रमुखका आफ्ना छोरी, बुहारी, ज्वाईं, सम्धी, भाइ, भतिजा नातागोता मात्रै हुन् जो राजनीतिका प्रतापले राजकीय पदमा आसिन भए बापत राज्यकोषबाट तलब खान्छन् र विलासिताको जीवन बिताउँछन् । हो, यो सुविधा सम्पन्न जनताले पूर्वराजाको शुभकामना सन्देश नमान्दिन सक्छ ।

घरीघरी मन मात्र होइन प्रवृति पनि फेर्ने र पद प्राप्तिका लागि जे गर्न पनि पछि नपर्ने स्वभावका कारणले अस्थिर भनिएको होला । अस्थिर शब्द नपचाएर आफुले आफैलाई चलायमान उपमा दिएका छन् एउटा कम्युनिस्ट नेताले । ठूला पार्टी काँग्रेस र कम्युनिष्टको सरकार अवैधानिक हो, आज ढल्छ भरे ढल्छ भोलि ढल्छ पर्सि अनिवार्य ढल्छ भन्दाभन्दै सरकार ढल्ने कुनै छाँटकांंट नदेखिएपछि सकसमा थिए । मेरो पकडमा ८० जना सांसद छन्, मैले भनेको मान्दछन् भन्दै काँग्रेसको आँगन टेक्न जाँदा निष्ठुरी काँग्रेसले पनि आग्लो लगाइदियो । कतैबाट पनि सत्तामा टेक्ने अखेटो नपाएपछि चलायमान चले तराईतिर जनतासँग जोडिन मेची महाकाली अभियानमा । पात, पात र टपरीमा भात खादै बहुरूपी भेष धारण गरि खुसी भए झैं नाच्दै गाउँदै रमाउदै जोडिए जनतासँग ।

पछिल्लो समय जहाँ गए पनि विरोधमा नाराजुलुस मात्रै लागेर हत्तु हैरान परेपछि काबिल सल्लाहकारको सल्लाह बमोजिम बरु संसदको बैठक छलेरै भए पनि टिकटकर, ¥यापर खेडेर सर्वहाराका सर्वमान्य नेताले आफ्नो महिमागान गाउन लगाए । आफ्नै नामको खेल आयोजना गरेर हुन्छ कि, या किताब विमोचन गरेर हुन्छ जसरी पनि चर्चा कमाएर अरुलाई उछिन्ने ध्याउन्नमा लागे । राप्रपाले फागुन २१ गते सरकारका विरुद्धमा मोटरसाइकल ¥याली गर्ने घोषणा गरेको थियो । त्यस्ता विरोध र दबाब सत्ताले धेरै देखेको थियो । मीटरब्याज पीडित आए माइतीघर मण्डलामा धर्ना बसे रोए गए । मर्कामा परेका उखु किसान आए त्यतै बसे बिलौना पोखे । सरकारले आश्वासन दियो त्यही बोके गए । उखु किसान र मीटरव्याजका पीडित भन्दा माथिल्लो हैसियतमा पञ्चायत कालिन पार्टीलाई राखेन सरकारले । रोम जलिरहेछ नीरोले बाँसुरी बजाइरहेछ भने झैं कुर्सीमा बसेर एकजना ¥यापर सिंगरले मुखैले बाजा बजाउँदै गाइरहेका थिए गीत । धरहरा कोले बनायो बाले । बाटोघाटो बनाउने को हो बा हुन । जाति बा असल बा । हाम्रा बा राम्रा बा । अर्को कुर्सीमा बसेर पुलकित हुँदै सुनिरहेका थिए दत्तचित्तले महिमागान ।

२१ गतेका दिन राप्रपाको आह्वानमा पूरा बाटो ढाकेर आयो मोटरसाइकल ¥याली । वास्तवमा त्यो ¥याली राप्रपाको मात्रै थिएन सत्ताको पक्षपाती नीति, मनपरि र कुशासनबाट ठूलो संख्यामा आजित जनताको पनि थियो । नपत्याउने फाँडोले मुख पोल्छ भने झैं एकोहोरो मुर्दावाद की मुर्दावादको नारा लगाउँदै ¥याली नारायणहिटी दरबारतिर सोझिएपछि सत्ता हायलकायल भयो । मेची महाकालीको चलायमान अभियान महोत्तरीमा भोज खाइरहँदा एउटा कार्यक्रमको बहाना झिकेर महिमागान पनि महोत्तरी नै पुगेको देखियो । सत्ताको भाग बिलोमा आँखो नमिले पनि आपत र बिपत्तिले घेर्दा मनपेट नमिलाई पनि हुदैन किनकि सत्ता भोगका लागि नर्ग गए पनि स्वर्ग गए पनि सँगसँगै जाने बाचा यिनैले नै गरेका र यिनैले तोडेका थिए । एउटा उखान छ सर्पको खुट्टा सर्पले नै देख्छ । दुबैजनाको स्यालभाका मिलेपछि राजाको सन्देश विरुद्ध बल्ल यिनीहरूको टिप्पणी आएको थियो । काँग्रेस पार्टीमा वयोवृद्ध व्यक्ति पार्टी प्रमुख छन सित्ती नबोल्ने नबोलेरै जित्ने । बोल्न नजानेर बोल्दैनन् कि कुरा भत्किन्छ भनेर बोल्दैनन् उनै जानून् तर ती नबोल्ने प्रमुख पनि महोत्तरी गएर मुख खोले, हामीले राजालाई हटाएको होइन आफ्नै कारणले हटेका हुन । यति कुरा भन्न पनि उनलाई किन महोत्तरीनै जानू परेको होला ! ठूला पार्टीका प्रमुख सबैले राजधानी छोडेर महोत्तरी मुकाम बनाउनुपर्ने कारण बारे जनतालाई आ आफ्नै ढंगले शंका गर्ने सुविधा हुन्छ नै हुन्छ ।

पूर्वराजा २५ गते पोखराबाट काठमाण्डौं आउने खबरले सत्ताको मात्र होइन प्रतिपक्षको पनि सातोपुग्लो उड्यो । अभियानलाई भर्सेलामा हालेर टपरीको भात टपरीमै छोडेर चलायमानहरू हस्याङफस्याङ गर्दै राजधानीतिर यसरी फर्किए कि मानौं छिमेकीको घरमा आगो लागिरहेको छ र अब आफ्नो घरमा लप्काले छुँदैछ । जो जति आत्तिए पनि पूर्वराजालाई पोखरामै छेकिराख्न कसैको पनि तागत थिएन निर्धारित समयमा उनी काठमाडौंमा आए । स्वागतार्थ एअरपोर्ट वरिपरि र सडकभरी जनसागर उर्लिएको थियो । कसैले २/४ हजार भने पनि र कसैले डेढ लाख भने पनि सरकारी आँकडाले २५ हजार जनताको उपस्थित देखाएको छ । फूलमाला खादा चढाउँदै एअरपोर्टबाट निर्मल निवाससम्म पुर्‍याएको विशाल जनसागरले क–कसलाई गाली ग¥यो सबैलाई थाहा छ । गाली खानेहरू भाउन्न भैरहेका छन् । कोही कामको बहाना झिकेर राजधानी बाहिर दौडेका छन् भने कोहि विदेश उडेका छन् ।

भूराजनीति र अर्थराजनीति सम्बन्धि संवाद चलाउने अब्जर्भर रिसर्च फाउन्डेसन संस्थाले चैत ४ देखि ६ गतेसम्म भारत नयाँ दिल्लीमा रायसिना संवाद कार्यक्रम तर्जुमा गरेको छ । संस्थाको वेबसाइटमा नेपाललाई वक्ता र अतिथि कतै पनि राखेको देखिदैन र अघिल्ला वर्षहरूमा पनि नेपालले त्यहाँ सहभागिता जनाइरहेको अवस्था थिएन । यही कार्यक्रममा सहभागी हुन मन्त्रालयबाट प्रबन्ध मिलाइ परराष्ट्रमन्त्री फागुन २६ मा भारत उडिसकेको खबर छ । संसदमा मन्त्रीहरू उपस्थित नभएको कारण देखाइ सभामुखले बैठक स्थगित गर्नु परेको स्थिति छ । पूर्वराजाले छिम्दा खोक्दा पनि मन्त्रीहरू भागाभाग हुनुपर्ने कति कमजोर धरातलमा उभिएको रहेछ गणतन्त्र ! जेलमा हुनुपर्ने नक्कली भुटानी शरणार्थी काण्डका कसुरदारहरू सत्तासीन भएर शासन चलाउँदा जनतामा आक्रोशित चुलिनु र राजसंस्थाका पक्षधर हुनु पूर्णरूपले अस्वभाविक भन्न मिल्दैन ।

गणतन्त्रलाई सत्ता उन्माद कति चढेको थियोे भने कसैको धक–संकोच मान्नु त के जनतालाई चरा–मुसा झैं ठानिरहेका थिए । क्रान्तिमा लागेका कारणले होइन, युद्धमा होमिएका कारणले पनि होइन र कुनै कोणबाट पार्टीलाई योगदान दिएका कारणले पनि हुँदै होइन । बस् छोरी बिहे गरेका कारणले मात्र ज्वाईंलाई मन्त्री बनाइएको छ । भ्रष्टाचारले सइनको घाउ पल्टेका ठूला ठूला काण्डलाई भ्रस्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने भाष्यले छेक्ने प्रयत्न गरिएको छ, जबकि यो झुट जनताले पत्याइदिन्नन् भन्ने कुरा पनि गणतन्त्रलाई थाहै छ । अख्तियार, अदालत र राज्यका संवैधानिक अंगहरू गणतन्त्रले खल्तीमा हालिरहेको छ । बेपत्ता छानबिन तथा सत्यनिरूपण आयोग जनताको बलबाट यदि कार्यान्वयनमा आयो भने गणतन्त्रले लामो सास फेर्न पाउने सहज अवस्था छैन । किनकि शान्ति सम्झौता टुँगोमा नपुग्दासम्म गणतन्त्र संस्थागत हुने देखिदैन । भ्रष्टाचारले मात्र होइन, सत्यनिरूपणको त्रासले पनि सातोपुत्लो उडिरहेको छ गणतन्त्रको । पटकपटक सत्ताको नेतृत्व गरिसकेका व्यक्तिले कसुरदार भए कारबाही गर्नुको सट्टा करिब १६ वर्षपछि मुर्ति चोर, सुन चोर र भाइमारा भनी आरोपित गर्नु त्रासदीकै कारण देखिन आउँछ ।

पूर्वराजाको स्वागत जुलुसमा सर्वसाधारण मात्रै थिएनन् पार्टीका महाराजहरूको अन्याय अत्याचारबाट आजित नेता कार्यकर्ता पनि स्वतस्फूर्त रूपमा जोडिन पुगेका थिए । कसैलाई खुलेर बोल्न नदिने नेतृत्वको एकाधिकारवाद सोचले पार्टीलाई ध्वस्त बनाइरहेको को छ र कार्यकर्तामा समेत वितृष्णा भरिएको छ ।

नेतृत्वका कुकर्मले संस्था बदनाम भए पनि राजनीतिक पार्टी भनेको शासन प्रणालीका अंग हुन् । जनतामा विश्वास राख्न कर्मशील, निष्ठावान, सक्षम र योग्य व्यक्तिले पार्टीको नेतृत्व लिनुपर्छ । आत्माआलोचना र समीक्षाबाट नेतृत्व सुध्रिनु पर्छ भन्ने काइते कुरामा भुल्नु हुँदैन । निष्पक्ष छानबिन हुनुपर्छ र कसुर प्रमाणित भएमा अनिवार्य दण्डित गरिनुपर्छ ताकी अर्को पिढिले कतै कहिल्यै बदमासी गर्ने हिम्मत नगरोस् । पूर्वराजाको शुभकामना सन्देशबाट गणतन्त्रको धरातलमा कम्पन आएको छ । सामान्य ढंगले टालेर लिपेर तदर्थमा सत्ता चलिरहन अब मुश्किलै छ ।

-उमालाल आचार्य

प्रकाशित मितिः   ३ चैत्र २०८१, आईतवार ०९:२६