राजसंस्था अपरिहार्यः लिङ्देन

सुर्खेत: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश दुर्घटनामा जान थालेको भन्दै जोगाउनका लागि राजसंस्था आवश्यक भएको बताएका छन् । मंगलवार वीरेन्द्रनगरमा आयोजित खबरदारी सभामा बोल्दै उनले देशका लागि राजसंस्था अपरिहार्य रहेको दाबी गरेका हुन् ।

अध्यक्ष लिङ्देनल केपी शर्मा ओली, शेरबहादुर देउवाहरूकै कारण देश बर्बाद बनेको जिकिरसमेत गरे । ‘अहिले जुन अवस्थाबाट हामी गुज्रेका छौँ, यसबाट देश बन्ने कुनै कल्पना गर्न सकिन्न । त्यसैले अब सोच्ने बेला आयो’ उनले राजासंस्थाको अपरिहार्यता दर्शाउन खोजे ।

कर तिर्न पनि घुस खुवाउनुपर्ने अवस्था आएकाले यी दलहरूकै कारण संसारकै भ्रष्ट मुलुक बनेको आरोप उनले लगाए । ३५ वर्षसम्म नबनेको देश केपी, देउवालाई अब बाँचुञ्जेल जिम्मा दिए पनि बन्न नसक्ने लिङ्देनले बताए । ‘यिनीहरूले देशमा गणतन्त्रको नाममा लुटतन्त्र मच्चाइरहेका छन्,’ उनले भने, ‘अब अभिभावकका रूपमा राजसंस्था आवश्यक बन्यो ।’

यस्तै राप्रपा नेतृ कुन्ती शाहीले दलहरूलाई नारायणहिटी खाली गर्न चेतावनी दिइन् । ‘गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतावादीलाई भन्न चाहन्छु, तिम्रो यो तन्त्रमा जनता खुसी हुन सकेनन्, देश बन्न सकेन,’ उनले भनिन्, ‘जनताको मनोभावना अनुसार तपाईंहरू सच्चिनुस्, देश लुट्न जनताले छुट दिने हैन ।’

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अहिलेको राष्ट्रपति कांग्रेसको मात्र भएकोले देशको अभिभावकका रूपमा राजा आवश्यक रहेको बताए । सभाअघि वीरेन्द्रनगरमा मोटरसाइकल ¥याली गरिएको थियो ।

प्रकाशित मितिः   २८ फाल्गुन २०८१, बुधबार ०६:०१