बालमैत्री धारा बनेपछि विद्यार्थी नियमित

सुर्खेत: भेरीगंगा नगरपालिका वडा नंं. २ मोहटीस्थित सामुदायिक माध्यमिक विद्यालयमा धारा नहुँदा खानेपानीको निकै समस्या थियो । विद्यार्थीहरूले कि घरबाटै पानी बोकेर ल्याउनुपथ्र्यो, नत्र तिर्खा लाग्दा गाउँमै फर्किनुपथ्र्यो । तर अहिले उक्त समस्या समाधान भएको छ ।

भेरीगंगा नगरपालिकाको समन्वयमा केएनएफआईडी नेपालले बालमैत्री धारा निर्माण गरिदिएपछि वर्षौंदेखि खानेपानीको समस्या बेहोर्दै आएका विद्यार्थीहरूलाई सहज भएको हो । अहिले कक्षा छोडेर पानी पीउनका लागि घर फर्किनु पर्दैन । ‘पहिले खानेपानीको समस्याकै कारण विद्यालय आउन मन लाग्दैन थियो’ कक्षा ९ मा अध्ययनरत बिनिता शाही भन्छिन्, ‘कहिलेकाँही त पानी खान जाँदा आधा पढाइ नै छुट्यो । तर अहिले विद्यालयमा बालमैत्री धारा बनेको छ ।’

कक्षा ९ मै अध्ययनरत नविन मिजारले पनि धारा बनेपछि विगतको समस्या समाधान भएको बताए । ‘हाम्रो गाउँमा भन्दा विद्यालयमा राम्रो पानीको व्यवस्था छ । महिला–पुरुष शौचालयको पनि उस्तै राम्रो व्यवस्था छ । त्यसैले अहिले खुसीले विद्यालय आउन मन लाग्ने भएको छ ।’

बिनिता र नविनजस्तै आजभोली मोहटीको विद्यालयमा पढ्ने सबै विद्यार्थीहरू खुसीका साथ विद्यालय आउन थालेका छन् । विद्यालयमा व्यवस्था गरिएको बालमैत्री स्वच्छ खानेपानी धारा र छात्र–छात्रा शौचालयले यहाँका विद्यार्थीको मुहारमा खुसी ल्याएको छ । कक्षा ६ मा अध्ययनरत उमेश विकले भने, ‘स्कुलमा बालमैत्री धारा छ । जहाँ नियमित पानी आउछ । ट्याइलेट पनि सफा र सुरक्षित छ । त्यसैले आजकल त स्कुल जान झ्याउ लाग्दैन ।’

धारासँगै बालमैत्री शौचालय पनि बनेपछि विद्यार्थीहरूलाई सहज त भएको छ नै, विद्यार्थीहरू पनि नियमित विद्यालय आउन थालेका छन् । दुई महिना पहिले र अहिले नियमित विद्यालय आउनेको संख्यामा परिवर्तन आएको प्रधानाध्यापक भीमबहादुर रावतले बताए । ‘विद्यालयमा खानेपानी र शौचालयको समस्याले विद्यार्थी नियमित हुँदैन थिए, निकै समस्या भोगिरहेका थियौँ । तर अहिले भेरीगंगा नगरपालिकाको समन्वयमा केएनएफआईडी नेपालले बालमैत्री धारा र बालमैत्री शौचालय निर्माण गरिदिँदा विद्यार्र्थीको नियमितता ह्वात्तै बढेको छ’ उनले भने ।

केएनएफआईडी ७५ मिटर गहिरो डिपबोरिङमार्फत् पानी निकालेर धारा जडान गरिदिएको छ । ल्याव टेष्टसहित १३ लाख लागतमा पर्याप्त मात्रामा शुद्ध पानीको व्यवस्था भएको छ । यस्तै नौ लाखको लागतमा बालमैत्री शौचालय पनि बनाइदिएपछि विद्यालय अहिले त्यस क्षेत्रकै सुविधायुक्त कहलिएको छ ।

मोहटीमा मात्रै होइन भेरीगंगाकै वडा नं. ४ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा पनि २२ लाखको लागतमा बालमैत्री धारा र बालमैत्री शौचालय निर्माण गरिएको छ । जसको सोमवार भेरीगंगा नगरपालिका प्रमूख यज्ञप्रसाद ढकालले उद्घाटनसमेत गरेका छन् । केएनएफआईडीका निर्देशक नारायण गिरीले कर्णालीका विभिन्न जिल्लामा बालमैत्री धारा, शौचालय निर्माणका साथै अन्य सरसफाइका कामहरू भइरहेको जानकारी दिए ।

प्रकाशित मितिः   २७ फाल्गुन २०८१, मंगलवार ११:३९